गोरक्ष समाचारदाता
तुलसीपुर, २६ कार्तिक । शुक्रवार बिहान दुधरासको चिया पसलमा अलि आकर्षक र अलि आक्राक चुनावी बहस चलिरहँदा निर्वाचन क्षेत्र नम्बर ३ का संघका उम्मेदवार दीपक गिरीका सन्दर्भमै धेरै चर्चापरिचर्चा भए । प्रतिस्पर्धी कोमल वलीलाई लोकगायनको कलाकारका रूपमा उनीहरूले टिप्पणी गरिरहेका थिए भने दीपकलाई विकासको कलाकारका रूपमा चित्रण गरिरहे ।
त्यहीबीचमा एकजना स्थानीयबासी डिल्ली डाँगीले दीपकलाई यसरी प्रष्ट्याए । अर्थात्, दीपक एउटा होनहार राजनीतिक योद्धासँगै राजनीतिलाई विकास र समृद्धिसँग जोड्ने एउटा अभियन्ता हो । डाँगीकै भनाइमा दीपकको बोडील्याङग्वेज होइन, अन्तरमनमा बझ्नु पर्दछ । चाहेको भए दीपक अमेरिकी मुलुकमा अध्ययन गर्न जान सक्थ्यो, उसँग सम्पर्क र सम्पत्ति पनि थियो तर उ राजनीतिको मियोमा सधैँ रहिरह्यो । अविरल राजनीतिक यात्राको यात्रु हो, दीपक । डाँगी बोलिरहेका थिए । अवसर दिए दीपकले पश्चिम दाङ मात्र होइन, सिङ्गै दाङको समृद्धिको भविष्य कोर्ने खाका छ, दीपकसँग ।
हो, निर्वाचन नजिकिँदै गर्दा दीपकका राजनीतिक योगदान र विकास निर्माणमा गरेको योगदानका विषयमा जिल्लाभर चर्चापरिचर्चा हुनथालेको छ । दूधरासमा होस् वा बिजौरीमा । हापुरेमा होस वा गोलटाकुरीमा दीपककै चर्चा हुन थालेको त्यहाँका मतदाताले बताएका छन् ।
दीपक गिरीको चर्चा हुनुको एउटै कारण उनले राजनीतिमा पनि आफ्ना पकड जमाएका छन्, समृद्धिमा पनि उनको अर्थपूर्ण भूमिका छ । विद्यार्थी उमेरमै राजनीतिमा प्रवेश गरेका गिरी जब कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा नेविसंघको राजनीतिमा थिए, त्यहीबेला त्रिविविका भिसीसँगको सम्बन्धका कारण उनले पश्चिम दाङको तुलसीपुरमा राप्ती बबई क्याम्पस खोल्न सफल भए । जुन क्याम्पसका कारण त्यो बेला धेरै छोरीबुहारीहरूले उच्च शिक्षा अध्ययनको अवसर पाएका थिए । निर्वाचनको संघारमा उनले राप्ती बबई क्याम्पसलाई मात्र नभएर आफ्नो निर्वाचन क्षेत्रमा विशिष्ट श्रेणीको प्राविधिक शिक्षालय खोल्ने समेत अठोट गरेका छन् ।
त्यसो त उनको अबको अभियान भनेको युवा रोजगारीमार्फत् समृद्धि हो । ‘राजनीति एउटा माध्यम हो, यसैमा टेकेर अब विकासको अभियानमा जोडिनु पर्दछ’, दीपक गिरीले चुनावी अभियानमा भन्ने गरेका छन् । जिल्लामा पनि नेपाली कांग्रेस पार्टीको राजनीतिलाई उनले करिब–करिब युवाहरूको जिम्मा लगाएका छन् । सम्भवतः उनी पछि पश्चिम दाङको राजनीतिक पकड पनि युवाहरूमै आउने छ । युवाहरू विदेशिएको देख्दा गिरीका मन खिन्न छ । भन्छन्, ‘उनीहरूलाई नेपाल फर्काएर खाडी मुलुककै सरहको पारिश्रमिक दिने व्यवस्थापन हामीले गर्न सक्नेछौँ, त्यसका लागि चुनाव जितेर संसदमा पुग्नुप¥यो ।
को हुन् दीपक गिरी ?
एउटा १३ वर्षीय ठिटो, तानाशाही, स्वइच्छाचारी, पारिवारिक शासनलाई उखेलेर फ्याक्ने दृढसंकल्प अनि शासन सत्ताको सम्पूर्ण बाग्डोर जनताका प्रतिनिधिहरूको हातमा रहनुपर्छ भन्ने उत्कट अभिलाषा । एउटा फुच्चे ठिटोका यस्तै–यस्तै ठूलो सोचले नै होला, कांग्रेस नेता दीपक गिरीलाई तत्कालीन प्रशासनले आँखी बनाइरह्यो । मुलुकमा प्रजातन्त्र प्राप्तिको अभियानमा लागेको आरोपमा उनी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र माविमा पढ्दापढ्दै गिरफ्तारीमा परे । तेह्र वर्षकै उमेरमा प्रशासनद्वारा गिरफ्तार भइ १३ दिनसम्म हिरासतमा बस्नु पक्कै पनि अहिलेको सन्दर्भमा स्मरणीय कुरा हो ।
२०३१ साल अर्थात् १४ वर्षकै उमेरमा अञ्चलाधीशको ठाडो आदेशमा २९ दिनसम्म हिरासतमा रहेका गिरी २०३७ सालमा ५७ दिनसम्म अञ्चलाधीशको ठाडो आदेशमा हिरासतमा रहे । विसं २०४६ सालपूर्व प्रशासनको मुख्य निशानामा रहँदै भूमिगत रूपमै पार्टीको काममा सक्रिय भूमिका निर्वाह गरेका गिरी विसं २०६२÷०६३ मा काठमाडौंको गंगवुमा लोकतन्त्र प्राप्तिको जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे । कांग्रेस नेता दीपक गिरीको जीवनका रोमाञ्चकारी र कहालिलाग्दा ऐतिहासिक पलहरू हुन् ।
वि.सं २०१८ साल चैत्र ३ गते बुबा लोकमणि गिरी र माता छायाँदेवी गिरीको कोखवाट दाङको सुकदेवामा जन्मिएका दीपक गिरी नेपाली राजनीतिको मियो हुन् । प्राथमिक तहको अध्ययन काठमाडौं स्थित सेन्टर जोसेफ स्कूलमा र मावि तहसम्मको अध्ययन तुलसीपुर स्थित महेन्द्र माविमा गरेका जुझारु नेता गिरी त्रिभुवन विश्वविद्यालयवाट इतिहासमा स्नातकोत्तर उत्तीर्ण गरे । जनतामाझ जुझारु र विकासप्रेमी नेताका रूपमा स्थापित गिरीको नेपाली कांग्रेस यात्रा २०३४ सालमा भारतको गोरखपुरमा सक्रिय सदस्यता लिएर भएको हो ।
‘जब म नेपालको परिकल्पना गर्छु, त्यसबेला तिनै गरिब नेपाली दाजुभाइहरूको तस्वीर मेरो आँखा अगाडि आउँछ, मैला लुगा लगाएको, खान नपाएको र रोगी अनुहारको तस्वीर अनि मलाई लाग्छ, ती रोगी, खान नपाएकाहरूको हो, हाम्रो देश । त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जाओस् । हाँस्न नपाएको ओठमा हाँसो आओस्, रोगीले औषधीमुलो पाओस् । केटाकेटीले पढ्न पाऊन् भनेर नै राजनीतिमा लोगेको हुँ’, दीपकको आवाज हो यो ।
वीपीको आदर्शका अनुयायी नेता दीपक गिरी, २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीतिलिई महामानव वीपी कोइराला काठमाडौंमा ओर्लँदा उनको स्वागतमा सक्रियतापूर्वक खटिनेमध्येका एक ह्न् । विसं २०३४ सालमा दाङ जिल्लाको क्षेत्रीय सभापति, २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०३९ सालमै नेविसंघको राष्ट्रिय अधिवेशनको तैयारी समितिको संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन समितिको सदस्य, २०४३ सालमा त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको महासचिव र २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर नेतृत्वदायी भूमिका निर्वाह गरेको ऐतिहासिक पृष्ठभूमि कांग्रेस नेता गिरीसित छ ।
नेता दीपक गिरीसित २०५१ सालमा तथा २०६४ साल चैत्र २८ गते सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा संविधान सभा सदस्यका लागि उम्मेदवार भएको तथा २०७० साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा दाङ जिल्ला क्षेत्र नम्बर ५ बाट संविधान सभा सदस्यमा निर्वाचित भएर २०७३ साल भदौ १० गते नेपाल सरकारको सिंचाइमन्त्रीका रूपमा जिम्मेवारी बहन गरेको अनुभव छ । त्यही छोटो समयमा पनि उनले निर्वाचनमा गरेको प्रतिबद्धता अनुरूप दाङमा बृहत दाङ सिंचाइ आयोजना सञ्चालनमा ल्याए । वार्षिक एक अर्बको बजेट पर्ने गरी कम्तिमा २० वर्षका लागि स्थापना गरिएको परियोजनाबाट कम्तिमा पनि ५३ हजार हेक्टर जमिन सिंचित हुनेछ ।
आफ्नो नौमहिने छोटो कार्यकालमा पनि सिंचाइ क्षेत्रका साथै यातायात, खानेपानी पुलपुलेसा तथा कृषि क्षेत्रको विकासका लागि विशेष काम गर्ने मन्त्रीका रूपमा स्थापित नेता गिरी देशव्यापी रूपमै विकासप्रेमी र जुझारु नेताका रूपमा परिचित छन् । रमणीय दाङ उपत्यकालाई प्रदेश नम्बर ५ को राजधानी बनाउन कम्मर कसेरै लागेका पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य गिरीकै अगुवाइमा तुलसीपुरमा उच्च अदालतको स्थापना तथा संघीय प्रहरी इकाई कार्यालयको स्थापना भएको स्मरणीय नै छ ।
उसो त फोहरा सिंचाइ तथा नयाँ योजनाहरू, बबई नदी र दाङका खोलाहरूलाई गुरुयोजनाअनुसार नै उपयोग गरेर कृषि पकेट जिल्लाका रूपमा विश्वसामू चिनाउने र दङाली कृषकको आय आर्जनमा वृद्धि गरी आम कृषकहरूका सपना साकार पार्ने योजनाहरू छन् । यसका लागि उनले आफ्नो कार्यकालको छोटो अवधिमै पनि धेरै कामको थालनी गरिसकका छन् । आफूले गरेका विकास र समृद्धिलाई नै आफ्नो विजयीको मुख्य आधार भन्छन्, गिरी । अबको दश दिनपछि हुने निर्वाचनले उनको अभिव्यक्तिलाई अनुमोदन गर्ने पनि मतदाताहरूको भनाइ थियो ।