विनोद पाख्रेल
२०७८ बैशाख ११ गते
आज समयमै सुरु गरेँ । आकासको एउटा भाग लालीमाले रँगिएको छ । सायद सूर्य आउने तयारी हो । आकाशमा बादल पनि धेरै ठाउँमा छ । बादल र सूर्यको द्वन्द्व छ जस्तो लाग्छ । सूर्य आफ्नो तागतिलो रुपमा देखिन आज अलि मुस्किल छ । यता केही दिनदेखि नदेखिएको त्यो एक्लो चरो तारमा एक्लै छ । मैले उसलाई देखेको पनि आधा घण्टाभन्दा बढी भयो । मानौ बिहानको ध्यानमा तल्लीन छ । उसलाई हावा, बादल, सूर्य केहीको वास्ता छैन जस्तो । उसको एक्लोपनले कहिलेकाहीँ सताउँछ ।
बितेका तीन÷चार दिन यतिबेला कता थियो होला ? बादलभन्दा सूर्य बलियो भएजस्तो छ । प्रकृतिको रुप नै फेरिएको जस्तो । पहाडबाट निस्कने भूबनोटमा सूर्यको गति सजिलरी अन्दाज गर्न सकिन्छ । यत्ति लेख्दालेख्दै लालिमाबाट पूर्ण सूर्य देखेको छु । पहाडको टाकुरामा त गति समेत देखेँ जस्तो लाग्छ । सूर्यले दौड नै लगाएको जस्तो । पहाडबाट छेकिन मन नभएर स्वतन्त्र खुला आकाशमा आराम गर्न हतारिएको जस्तो । जब आकाशमा आउँछ तब अति सुस्त गति भएजस्तो लाग्छ । साँझ–दिन सकिनसम्म पर्खँदा अत्यास समेत लाग्छ, कहिलेकाहीँ । रँग पनि बिहान अलि तेज जस्तो र साँझ थाकेको जस्तो देखिने हुन्छ । रुपमा स्थायी हो र गति पनि । तर मैले सूर्यको रुपमा समेत अझ भनौ गति समेत परिवर्तन भएको अनुभव गर्छु ।
अनुभूति पनि गजवकै कुरा हो । खुला झ्यालबाट निर्वाध रुपमा प्रकृतिको रुपलाई हेर्दा वा अनुभूति गर्दा आउने आनन्दमा पूर्णता हुन्छ जस्तो लाग्छ । अब त अभ्यस्त भइसकेँ यो अनुभूतिका लागि जस्तो लाग्छ । अहिले त्यो एक्लो चरो उड्यो । कता गयो थाहा छैन । उसको सम्झना उसलाई देखेपछि मात्रै हुने हो अथवा उसको बारेमा जति चर्चा गरे पनि मलाइृ उसँग मतलव छैन । हुन त उसलाई पनि मेरो कुनै मतलव छैन । उसले व्यवहारमा त्यही देखाउँछ तर म उमा नभएको हेर्छु । केही मिनेट वा सेकेण्ड भए पनि उसलाई सम्झन्छु ।
त्यति मात्रै हो । उसको लागि केही गर्न त सक्दैन वा लाग्देन । सायद यो मानवीय स्वार्थ हो । त्यो एक्लो चरो मेरो मनोरञ्जनको अथवा चिन्तनको विषय बनेको छ । मेरो स्वभावको आधारमाभन्दा म प्रकृतिप्रेमी हुँ भन्न सक्दैन तर पनि प्रकृतिमा यति धेरै क्षमता छ कि उसको कुनै न कुनै रुप वा गतिविधिले मजस्तालाई पनि आकर्षित गर्न सक्छ । कतिपल्ट त प्रभाव पार्न पनि सक्छ । पहाडको टाकुराबाट दगुर्दै निस्कने सूर्य देख्दा नहतारिए पनि हुन्थ्यो जस्तो लाग्छ ।
सायद भावनामा बगेको यही स्थिति हो । अलि धेरै बेर भयो सडक सुनसान छ । सामान्यतया आज शनिवारका दिन मन्दिरमा जाने आउनेहरुको गतिविधि अनि काँचा उमेरका केटाकेटीहरुको टिकटक बनाउने कामहरु झ्यालबाटै देखिन्थ्यो । त्यै पनि देखिएको छैन । लकडाउन भएजस्तै छ । घोषणा गरेको त मलाई थाहा छैन । सायद मानिस आफै डरायो अथवा जीवनप्रति अलि सचेत भयो । यसलाई पनि सकारात्मक रुपमा लिँदा राम्रो होला ।
२०७८ बैशाख १२ गते
आज एउटा विषय छ, मसँग । भन्न त मानिसले गरेको काम उसको परिचय हो भन्ने गरिन्छ । म पनि यस कुरासँग सहमत छु तर एउटा तीतोसत्य के पनि हो भने कसको गरेको कामको भरमा कति ठाउँमा अरुले चर्चा गरिदिनुपर्छ । तब मात्रै अरु समाजका सदस्यहरु पनि चाख राख्ने गर्दछन् । होइन भने आफ्नो समाजमा एउटा सीमित क्षेत्र वा पक्षमा गरेका साना ठूला योगदानहरु धेरैलाई थाहा नहुन पनि सक्छ । थाहा भएकाले समेत अरुको योगदानको अगाडि पहिले गरेकाको मूल्यांकन कम गर्न अथवा बिर्सन पनि सक्छन् ।
यो गल्ती स्वाभाविक हो । म पनि यस्तो कमजोरीबाट मुक्त छैन । तर कोहीले आफ्नो अतीतमा चाख राखेर केही कुरा उजागर गर्न खोज्यो भने यो काम दुःखद वा सुखद जे भए पनि स्मरण भने आनन्द दिने हुन्छन् । मेरो अन्दाजमा आज विपुलले मेरो परिचय रेडियो नेपालबाट गराउँदैछ । त्यो संस्थाका एकजना कार्यक्रम प्रस्तोता सञ्चारकर्मी मुकुन्द भण्डारीले मसँग हाम्रो सुरुको पत्रकारिताको अनुभवका बारे कुरा गर्ने भनेर समय मिलाएका छन् । उनलाई मैले चिन्दैन । मेरो योगदान वा व्यक्तित्वको भरमा मात्रै त उनले पनि मलई चिन्दैनन् । यो चिनाउने काम विपुलले गरेको हुनुपर्छ ।
भानुभक्तलाई समेत समाजमा चिनाउन र स्थापित गर्न मोतिराम भट्ट चाहिएको थियो । यो आस्था हो । सम्मान हो । म यो विषयमा पहिले बोले पनि रेडियो नेपालमा एक वा दुईपल्ट पहिले पनि बोलेको छु । फेरि अब युवा उत्साह वा रेडियोमा बोल्ने त्यस्तो रहर पनि छैन । तर विपुलकै लागि पनि बेल्न मन लाग्छ । उसले मलाई सोधेको भए मैले सिफारिस नगर्न पनि भन्थेँ होला । मलाई बोलाउने उसको पनि इच्छा हो भनेर मेले बुझेको छु । अहिले उ पत्रकार महासंघको राष्ट्रिय अध्यक्ष भएको छ । उसको यस क्षेत्रको यात्रामा मेरो प्रेरणा, प्रभाव, केही अनौपचारिक तालिम, निर्देशन सबै छ । आफूलाई बढी प्रभाव पारेकाको सम्मान गर्न सबैलाई मन हुन्छ । त्यसकारण उसले पनि उसको पक्षबाट ठिकै गरेको वा सोचेको हो ।
त्यसैले मेले यस्ता कुरा सहज रुपमा लिनुपर्छ र स्वीकार्नुपर्छ । आज त्यही गरेको छुँ । अझै केही समय बाँकी छ । त्यसमा मैले के–के भन्नेतर्फ सोचेको छैन । आफ्ना दैनिकीमै व्यस्त छुँ र समय पर्खिराखेको छु । समय पनि मैले भनेको जस्तो नै परेछ । मेरो सबै काम सकेर पूरा फुर्सदमा हुने समय हो । यो लेखपछि अझै केही काम बाँकी छन् । मैले यस्ता कार्यक्रममा के भन्ने भनेर योजना बनाउँदैन । त्यसैले विशेष महत्वपूर्ण कुरा केही हुँदैन तर आफ्ना अनुभवलाई इमानदारीसँग जस्ताको त्यस्तै भनिदिन्छु । जसले गर्दा धेरै कुराहरु अध्ययनका विषय पनि बन्नसक्छन् । साच्चै इमानदारी भन्ने कुरा आफैमा एउटा बलियो आधार पनि हो र आभुषण पनि हो । यसले सत्यलाई सुन्दर रुपमा प्रस्तुत गर्न सकिन्छ । छुट्टै शृंगार चाहिँदैन ।