तुलसीपुर उद्योग वाणिज्य संघको आकस्मिक बैठक
गोरक्ष समाचारदाता
तुलसीपुर, २२ कार्तिक । यस क्षेत्रका आम ब्यबसायीहरुको छाता संगठन तुलसीपुर उद्योग वाणिज्य संघको समन्वय र सहकार्यबिना व्याबसायिक मेला महोत्सवको कल्पनासमेत गर्न नसकिने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । मेलासँग प्रत्यक्ष सरोकार राख्ने सम्बन्धित व्यवसायीहरुको सहमतिबिना यस क्षेत्रमा कुनै पनि मेला महोत्सवहरुको कल्पना पनि गर्न नसकिने पनि प्रष्ट पारिएको छ ।
त्यसमा पनि उद्देश्यविहीन र अपारदर्शी तरिकाले आयोजना गर्ने मेला महोत्सव सञ्चालनमा रोक लगाउनसमेत गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासनहरुलाई परिपत्र गरिसकेको सन्दर्भमा कुनै पनि क्लबको नाममा आयोजना हुने व्यावसायिक मेला महोत्सवप्रति आफ्नो विमति रहेको तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
‘सम्बन्धित स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयमार्फत उद्देश्यविहीन तरिकाले ब्यक्तिगत मुनाफा आर्जन गर्नका लागि आयोजना हुने मेला महोत्सव रोक्नसमेत आम व्यवसायीको तर्फबाट सादर अनुरोध गर्दछौँ, सामाजिक उद्देश्यसहितको व्यावसायिक महोत्सव, कृषि प्रदर्शनी र स्थानीय उत्पादनलाई बजारीकरण गर्न व्यावसायिक महोत्सव सम्बन्धित व्यावसायिक संघसंस्थाहरुले आयोजना गर्नेछन्’, तुलसीपुर उद्योग वाणिज्य संघले भनेको छ ।
त्यसबाहेक उद्देश्यसहितका सांस्कृतिक कार्यक्रमहरु, बिषयगत जुत्तामेला, अटोमोबाईल, आईटी प्रदर्शनी, धार्मिक महोत्सव र कला सस्कृतिको जगेर्ना गर्ने गतिविधिहरुसहितका कार्यक्रमहरु बढीमा तीन अथवा पाँच दिनसम्मका प्रदर्शनीहरु अन्य संस्थाहरुले बिधानमा उल्लेख भएको खण्डमा स्थानीय सरकारको अनुमतिमा मात्रै सञ्चालन गर्न पाउने गृहमन्त्रालयद्वारा जारी निर्देशनमा उल्लेख गरिएको छ ।
यता तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे र महासचिब बिनिल केसीले व्यवसायीहरुसँगको संयुक्त बैठकपछि बिज्ञप्ति जारी गरी हचुवाको भरमा स्थानीय निकाय र जिल्ला प्रशासनले उद्देश्यविहीनका क्लबहरुलाई मेला सञ्चालनको अनुमति दिँदा व्यवसायीले हैरानी ब्यहोर्नुपरेको उल्लेख गरिएको छ । तुलसीपुरको बसपार्कमा पन्ध्र दिनदेखि जारी मेला सञ्चालनका सन्दर्भमा स्थानीय सरकारको रुपमा रहेको तुलसीपुर उपमहानगरपालिका र स्थानीय प्रशासन मूकदर्शक बनेको भन्दै आपत्ति प्रकट गरिएको छ ।
‘हामीले सुन्दैछौ बेमौसममा फेरि अर्को मेला लगाउने तयारी एउटा क्लबले गरिरहेको छ, ब्यबसायीहरुको मर्कालाई अटेरी गरी एकलौटी हिसाबले मेला सञ्चालन गर्न हामी कुनै पनि हालतमा दिने छैनौँ’, बिज्ञप्तिमा भनिएको छ । व्यावसायिक महोत्सव गैरव्यावसायिक संस्था वा क्लबले लगाउन छुट नभएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
