Goraksha

National Daily

दुईवर्षमा भूमि समस्या समाधान गर्छौं : महासचिव पोख्रेल

दाङ, २२ कार्तिक । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले आगामी दुई वर्षभित्रै भूमिसम्वन्धी सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

घोराही उपमहानगरपालिका–१४ का विभिन्न दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीसँगको चुनावी भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले मंसिर ४ पछि एमाले सरकार बन्ने र त्यसले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासी तथा गुठीसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । भूमि समस्याका नाममा कतिपय दलहरुलाई सधै राजनीति गर्ने अवस्थाको अन्त्य गरिदिने समेत बताए ।

‘एमाले सरकार हुँदा कानुन बनाएरै सुकुम्बासी समस्या समाधान आयोग गठन गरेर समस्या समाधान गर्न काम थालेका थियौं । कतिपय पालिकामा त जनतालाई पुर्जा दिने तयारी समेत गरेका थियौं’, महासचिव पोख्रेलले भने– ‘त्यसैबेला एमाले सरकार ढालेर भूमिहीन, सुकुम्वासीलाई जमिनको मालिक बनाउने काम हुन दिइएन । अब बन्ने एमाले सरकारले जनतालाई पुर्जा दिन्छ ।’

एमालेले भूमिहीन, सुकुम्बासीलाई पुर्जा दिए भूमिसम्बन्धी समस्या देखाएर भोट माग्ने र सधै राजनीति गर्ने उपाय सकिने डरले गठबन्धन सरकारले पुर्जा बाँड्ने समयकै बेला सुकुम्बासी समस्या समाधान आयोग नै विघटन गरिदिएको पोख्रेलको भनाइ थियो । ‘एमाले सरकारले देशभरका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई पुर्जा दिने तयारी गरिसकेका थियौं, तर परमादेशले सरकार ढालिदियो र गठबन्धन सरकार बनाइदियो’, पोख्रेलले भने– ‘गठबन्धन सरकारले सुकुम्वासी समस्या समाधान आयोग नै विघटन गरेर लाखौं भूमिहीन, सुकुम्वासीको सपनामा चोट पु¥यायो ।

सधै भूमि समस्याका नाममा राजनीति गर्ने गठबन्धनको खेतीको एमालेले अब सधैका लागि अन्त्य गर्नेछ ।’ नागरिकलाई आवासको अधिकार रहेको भन्दै पोख्रेलले दलित समुदायलाई जमिन दिने र गरिव, विपन्न, सीमान्तकृत समुदायलाई घर राज्यले नै दिनुपर्ने संवैधानिक व्यवस्था रहेको उनले बताए । प्रतिऐलानी भए उसैको नाममा दर्ता गरी पुर्जा दिने नत्र दलित समुदायलाई त किनेरै भए पनि राज्यले जमिन उपलव्ध गराउनुपर्ने संविधानमै व्यवस्था छ प्रतिनिधिसभा सदस्य उम्मेदवार पोख्रेलले भने– ‘मंसिर ४ पछि एमाले सरकारले नागरिकको घरवासको अधिकारको ग्यारेन्टी गर्छ ।

भूमि र आवासको अधिकारको प्रत्याभूति गराउछ ।’ गठबन्धन सरकारले बनेको आयोग विघटन गरेर फेरि अर्को आयोग बनाउने नाटक गरेर भूमिहीन सुकुम्वासीलाई अल्झाउने काम गरिरहेको भन्दै पोख्रेलले मंसिर ४ पछि एमाले नेतृत्वको सरकारकै पालामा आयोगले गरेको तयारीअनुसार नै छिटोभन्दा छिटो पुर्जा वितरण गर्ने बताए ।

महासचिव पोख्रेलले घोराही उपमनपा–१४ को पुलचोक खोलीगाउँ टोल, दुर्गाभवानी टोल र जनमैत्री टोलका दलित, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासका जनतासँग साक्षात्कार समेत गरेका थिए । स्थानीयहरुले खोला तटबन्ध, पुल निर्माण, सडक निर्माण तथा पठन–पाठनको व्यवस्थापनमा ध्यान दिन पोख्रेललाई सुझाव दिएका थिए । त्यस अवसरमा घोराही–१४ सेवारखोला नजिकै बसोबास गर्ने जनमैत्री टोलका ३४ जना व्यक्तिहरु एमालेमा प्रवेश गरेका थिए । रगंशालामा बजेट किन काटियो ? महासचिव पोख्रेलले फरक स्थानमा भएको कार्यक्रममा नेत्रलाल रंगशालाको बजेट गठबन्धन सरकारले कटौती गरेर रंगशालाको काम अलपत्र पार्ने काम गरेको बताएका छन् ।

घोराही उपमहानगरपालिका १६ को बाहुनडाँडामा सोमवार भएको चुनावी भेलालाई सम्बोधन गर्दै पोख्रेलले यस्तो बताएका हुन् । ‘प्रदेशकै नमुना र ठूलो रंगशाला बनाउने भनेर मैले मुख्यमन्त्री भएको बेला १५ करोड रुपैयाँ विनियोजन गरेको थिए । तर गठबन्धन सरकारले त्यो कटौती गरेर १० करोड रुपैयाँ रोल्पा लगेको छ’, उनले भने– ‘त्यसको जवाफ र हिसाव यहाँका मतदाताले यो चुनावमा खोज्नुपर्छ । यहाँका विकास निर्माणमा विनियोजन गरेको बजेट कटौती गर्ने गठबन्धनले यहाँका मतदातासँग मत माग्ने आधार छैन ।’ महासचिव पोख्रेलले गठबन्धन सरकारले नागरिकलाई सास्तीभन्दा अरु दिन नजानेको समेत बताए ।

‘तोरी र गहुँको सिजन चलेको छ । तर कृषकले मल पाउन सकेका छैनन् । मल कहाँ छ । त्यो पनि भन्न सक्दैन’, उनले भने– ‘कृषकको मागप्रति सरकार बेखबर छ । सरकारका नेतृत्वकर्ता घुमेर बसेका छन् ।’ चुनावी भेलामा दाङ क्षेत्र नं. २ (२) का उम्मेदवार गिरिराज केसी र एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य छविलाल वलीलगायतले सम्बोधन गरेका थिए । भेला नेकपा एमाले वडा कमिटी अध्यक्ष जगलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच महासचिव पोख्रेलले पूर्व प्रहरी संगठनसँग छलफल गरेका छन् ।