व्याजको विरोधमा व्यवसायीद्वारा प्रदर्शन
गोरक्ष समाचारदाता
दाङ, २२ कार्तिक । राष्ट्र बैंकले वृद्धि गरेको व्याजको विरोधमा जिल्लाका उद्योगी व्यवसायीहरुले जिल्लाका ११ वटा शहरी क्षेत्रमा एकै पटक विरोध ¥याली तथा कोणसभा गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लामा सुरु भएको आन्दोलनस्वरुप सोमवार जिल्लाका ११ वटा शहरी क्षेत्रमा विरोध ¥याली र कोणसभा भएको हो ।
दाङको घोराही, तुलसीपुर, लमही, भालुवाङ, सिसहनियाँ, बंगलाचुली, गढवा, नारायणपुर, बिजौरी, हापुरे र शान्तिनगरमा एकैपटक विरोध ¥याली तथा कोणसभा भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । घोराहीमा दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको विरोध ¥याली, बालमन्दिर चोक, दामोदर चोक, तुलसीपुर चोक, मेन रोड, ट्राफिक चोक, निमाहल रोड, गणेशमन्दिर टोल, नेपाल टेलिकम, लखन थापा पार्क, हुँदै संघको कार्यालयमा पुगेर कोणसभामा सम्पन्न भएको थियो ।
निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंक तथा वित्तीय संस्थाहरुले महिनैपिच्छे बढाइरहेको कर्जा व्याजदरको विषयलाई लिएर निजी क्षेत्र आन्दोलित बनेका हुन् । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गनिर्देशन २०७५ र त्यही मार्ग निर्देशनका आडमा आर्थिक मन्दीको अवसर छोपेर नेपालको निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंकहरुले गरेको व्याजदर वृद्धिप्रति विरोध जनाउँदै आन्दोलन सुरु गरेका हुन् ।
चर्को व्याज दरको विषयमा प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका सरोकारवाला पक्षहरुलाई ज्ञापन–पत्रमार्फत बढाएको व्याजदर फिर्ता र बढाउँदै गरेको व्याजदर तत्काल रोक्न अनुरोध गर्दै आए पनि संघको अनुरोधलाई बेवास्ता गर्दै बैंकहरुबाट निरन्तर महिनैपिच्छे मनपरी ढंगले व्याज बढाउने, सेवा शुल्कको नाममा अनेकौ शुल्क लिई थप आर्थिक भार थप्ने, ब्याज किस्ताको लागि तारन्तार मानसिक दबाव दिनेलगायत कार्यहरु बैंकिङ क्षेत्रबाट लगातार भइरहेकोले यस प्रकारको गलत कदमविरुद्ध आन्दोलन गर्दै आएका छन् ।
संघले एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्कलगायतका कुनै पनि शुल्क लिन नपाउने माग राखिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । पुरानो चालु पूँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिकरुपले लागू पर्ने, कर्जाको व्याजदर पुनः संरचना गर्न दिनुपर्ने, बैंकहरुले अगाडि बढाएका लिलामी प्रक्रियाहरु तत्काल स्थगित गर्नुपर्नेलगायत माग रहेको अध्यक्ष बुढाथोकीले बताए ।
आगामी कार्तिक २३ गतेसम्म गरिएको चरणबद्ध आन्दोलनलाई बेवास्ता गरी मागहरु सम्बोधन नभएमा बैठक बसी २४ गतेबाट आन्दोलनका थप कार्यक्रम निर्धारण गर्ने समेत उनले बताए । ‘पहिलो चरणको आन्दोलनबाट माग पूरा नभए थप कडा आन्दोलन गरिने छ’, उनले भने । सुरु भएको आन्दोलन नरोकिने समेत उनले बताए । ‘निर्वाचनको समयमा आन्दोलन गर्नु हाम्रो रहर होइन बाध्यता हो’, उनले भने । बैंकको व्याजविरुद्धको आन्दोलन जिल्लामा मात्र नभई देशभर सञ्चालन भएको उनको भनाइ रहेको छ । आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने उनी बताउँछन् ।
गएको असोज ९ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा तुलसीपुर उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, गढवा उद्योग वाणिज्य संघ, नारायणपुर उद्योग वाणिज्य संघ हापुरे उद्योग वाणिज्य संघ, शान्तिनगर उद्योग वाणिज्य संघ, बिजौरी उद्योग वाणिज्य संघ, बंगलाचुली उद्योग वाणिज्य संघको सहभागितामा घोराहीमा ¥यालीसहित जिल्ला प्रशासन कार्यालय दाङमार्फत राष्ट्र बैक तथा अर्थ मन्त्रालयमा ज्ञापन–पत्र बुझाएका थिए । ज्ञापन–पत्र बुझाउँदा पनि आफूहरुको माग सुनुवाई नभएपछि उद्योगी तथा व्यवसायीहरु बाध्य भएर आन्दोलनमा जानुपरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले बताए ।
संघले कार्तिक १६ गते पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनको कार्यक्रम अनुसार घोराही क्षेत्रमा रहेका बैंकका शाखा प्रमुखहरुसँग छलफल, वस्तुगत समितिहरुसँग छलफल, जिल्लामा रहेका उद्योग बाणिज्य संघका पदाधिकारीहरु तथा व्यावसायिक संघसंस्थाहरुसँग छलफल गरिसकेको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । कार्तिक २३ गते सरकारी बैंकहरुमा प्लेकार्डसहित धर्ना दिइने भएको छ । बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना दिइने उनले बताए । कोणसभाको सहजीकरण संघका महेन्द्र बुढाथोकीले गरेका थिए ।
