‘व्यावसायिक समृद्धिका लागि गठबन्धन’
गोरक्ष समाचारदाता
दाङ, २० कार्तिक । व्यावसायिक क्षेत्रमा देखिएको समस्या समाधानसँगै देशको आर्थिक समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न उम्मेदवार तथा नेताहरूले उद्योग तथा व्यवसायीहरूलाई आग्रह गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध उद्योग÷व्यवसायीहरूको शनिवार घोराहीमा भएको भेलालाई सम्बोधन गर्ने वक्ताहरूले उद्योग तथा व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधानका लागि स्थायी सरकार आवश्यक रहेको भन्दै त्यसका लागि मंसिर ४ को समय आएको बताएका थिए ।
२०७४ सालको निर्वाचनमा जनताले स्थायी सरकार सञ्चालनका लागि तत्कालीन नेकपालाई मत दिए पनि त्यसअनुसार पाँच वर्ष स्थायी सरकार सञ्चालन हुन नसक्दा व्यवसायीहरूसँगै मुलुक अहिले ठूलो आर्थिक संकटमा गुज्रिरहेको उनीहरूको भनाइ थियो । ५÷६ प्रतिशतमा पाइने ऋण डबलले वृद्धि भएर १८ प्रतिशत बढी पुगेकाले यसरी साना तथा मझौला व्यवसायीहरू सञ्चालनमा समस्या परेको बताएका थिए । साना तथा मझौला व्यवसायीसँगै समग्र निजी क्षेत्रमा देखिएको आर्थिक संकट समाधानका लागि देशमा स्थायी सरकार आवश्यक रहेको भन्दै सहभागीहरूले गठबन्धनका पक्षमा मतदान गर्न उद्योग व्यवसायीसँगै सर्वसाधारणलाई आग्रह गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने व्यवसायीहरूले दाङको विकासका लागि उद्योग, व्यवसायसँगै सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन क्षेत्रको विकास हुन आवश्यक रहेको बताएका थिए । घोराहीमा आयोजना गरिएको व्यवसायीको वृहत भेलालाई सम्बोधन गर्दै दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार रेखा शर्माले देशको बिग्रिएको आर्थिक अवस्थालाई सुधार गर्दै समृद्धिका लागि स्थिर सरकार आवश्यक रहेको बताइन् । स्थिर सरकारले देशको विकाससँगै आवश्यक पर्ने नीति नियम बनाएर व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधान गर्ने भन्दै त्यसका लागि पाँचदलीय गठबन्धन सक्षम रहेको बताइन् । उनले दाङको दीर्घकालीन विकासका लागि नीति क्षेत्रको विकास हुन आवश्यक रहेको भन्दै त्यसका लागि प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो ।
‘दाङको दिगो विकासका लागि निजी क्षेत्रको विकास हुन आवश्यक छ । त्यसका लागि निजी क्षेत्रलाई राज्यको सहयोग चाहिन्छ’, उम्मेदवार शर्माले भनिन्, ‘व्यावसायिक हकहितका लागि अहिले गठबन्धनलाई व्यवसायीको साथ आवश्यक रहेको छ । त्यसका लागि आउने मंसिर ४ गते गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराउनहोस ।’ उनले उद्योग र पर्यटन क्षेत्रको विकासका माध्यमबाट जिल्लाको विकाससँगै व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र २(१) का उम्मेदवार राजु खनालले व्यवसायीहरूको समस्या समाधानका लागि गठबन्धनका उम्मेदवारहरूलाई आउने निर्वाचनमा विजयी बनाउने गरी लाग्न सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरेका छन् । देशमा स्थायी सरकार नहुँदा व्यावसायिक क्षेत्र अहिले कठिन मोडमा भएको भन्दै प्रदेशसभा उम्मेदवार खनालले स्थायी सरकारका लागि गठबन्धन निर्माण भएको बताए । ‘२०७४ सालमा जनताले स्थायी सरकार निर्माणका लागि नेकपालाई बहुमत दिएका थिए । तर बहुमतको सरकार चलाउन नसक्दा केपी वलीले आफ्नो पार्टीसँगै देशको आर्थिक अवस्था बिगार्दा अहिले व्यावसायिक क्षेत्रमा समस्या देखिएको छ’, उम्मेदवार खनालले भने, ‘आर्थिक क्षेत्रमा देखिएको अहिलेको समस्या समाधानका लागि बलियो सरकार आवश्यक रहेको छ ।
यसकै लागि अहिले गठबन्धन निर्माण भएको छ ।’ उनले मतदातालाई आफ्नो मतको सदुपयोग गर्न समेत आग्रह गर्दै बैंकको व्याज दिन प्रतिदिन वृद्धि भइरहेको चर्को व्याज घटाउनका लागि गठबन्धनले पहल गर्ने बताए । ‘व्यावसायिक समस्या समाधानका लागि गठबन्धन गम्भीर छ । त्यसका लागि व्यवसायीहरूले ध्यान दिनुहोस’, उनले भने, ‘निर्वाचनपछि व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधान गर्न गठबन्धन लाग्नेछ ।’ उनले कोरोना संकटपछि समस्यामा परेका व्यवसायीलाई बंैकले व्याज वृद्धि गरेर समस्यामा पार्ने काम गरेको भन्दै व्यावसायिक समस्याप्रति राज्य गम्भीर बन्न आवश्यक भएको बताए ।
‘अहिले हामी व्यवसायीहरू विभिन्न खालका समस्याहरू छौँ, कोरोना महामारीपछि व्यवसाय क्षेत्र फस्टाउनसकेको छैन’, उम्मेदवार खनालले भने, ‘यस्तो अवस्थामा व्यवसायीलाई राज्यको सहयोग आवश्यक छ ।’ खनालले दाङको विकासका लागि जिल्लालाई शिक्षा र स्वास्थ्य हबका रूपमा विकास गर्नुपर्ने भन्दै त्यसका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवालाई विस्तार गर्दै एमबिबिएस, नर्सिङ पढाइ सुरु गर्न आवश्यक रहेको बताएका थिए । यसैगरी उनले दाङको तुलसीपुरमा रहेको विमानस्थलको स्तरवृद्धि गर्न एवम् आवश्यकताअनुसार वैकल्पिक विमानस्थलको खोजी गर्नुपर्ने भनाइ थियो ।
कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र २ (२) का उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले व्यावसायिक क्षेत्रको हकहित र विकासका लागि राज्यले निजी क्षेत्रलाई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । सरकार र निजी क्षेत्रकाबीचमा बाबुछोराको सम्बन्ध हुनुपर्ने भए पनि त्यसअनुसारको सम्बन्ध बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेको बताए । ‘आर्थिक समृद्धिका लागि निजी क्षेत्रको ठूलो भूमिका रहने गर्छ । त्यसका लागि निजी क्षेत्रलाई सरकारको सहयोग आवश्यक छ’, उम्मेदवार न्यौपानेले भने, ‘राज्यलाई कर तिर्ने व्यवसायीलाई राज्यले सहयोग गर्ने बातावरण नहुँदा व्यावसायिक क्षेत्रमा समस्याहरू देखिएका छन् ।’
उनले जिल्लाको आर्थिक विकासका लागि निजी क्षेत्रलाई आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारीका अवसरहरू सिर्जना गर्ने गरी आपूmले काम गर्ने भन्दै त्यसका लागि आउने निर्वाचनमा विजयी गराउनका लागि लाग्न उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरेका थिए । उनले सबै सम्भावना भएको दाङलाई गुरुयोजना बनाएर सडक, पर्यटन, शिक्षालगायतको विकासका लागि गुरुयोजना बनाएर विकास गर्न लाग्ने बताएका छन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले तत्कालीन केपी शर्मा ओली नेतृत्वका सरकारले देशको ढुकूटी सक्दा अहिले आर्थिक संकट देखिएको आरोप लगाएका थिए । २०७४ सालको निर्वाचनमा जनताले स्थायी सरकारको मत दिँदा पनि केपी ओलीले पार्टीको संकट समाधान गर्न नसक्दा देशले चाहेको विकास हुन नसकेको बताएका थिए । जनताको अभिमत पाउँदा पनि त्यसको सदुपयोग गर्न नसक्नेलाई यस पटकको निर्वाचनमा जनताले मत नदिएर दण्डित गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा माओवादी केन्द्रका समानुपातिक सांसद नारायणी शर्मा, सुशीला चौधरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका समानुपातिक उम्मेदवार पुष्पा श्रेष्ठ, लीला नेपालीलगायतले उम्मेदवारलाई जितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । व्यवसायी खड्ग बुढाथोकीको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण महेन्द्र बुढाथोकीले गरेका थिए ।
समाज रूपान्तरणमा साहित्यकारको भूमिका महत्वपूर्ण
समाज रूपान्तरणका लागि साहित्यकारहरूको भूमिका महत्वपूर्ण हुने पूर्वमन्त्री एवम् प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले बताएकी छिन् । साहित्यकार तथा लेखकहरूसँगको भेटघाटका क्रममा उम्मेदवार शर्माले हरेक राजनीतिक आन्दोलनमा साहित्यकारहरूले विशिष्ट योगदान पु¥याएको बताइन् ।
‘समाज रूपान्तरणका लागि हामी राजनीतिक दलहरू र साहित्यकार तथा लेखकहरू साथसाथै छौँ’, उनले भनिन्, ‘साहित्य समाजको प्रतिबिम्ब हो, साहित्यकार तथा लेखकहरूले सधैँ समाजमा अग्रगमनको पक्षपोषण गरिरहनुभएको छ ।’ लामो संघर्षपश्चात् प्राप्त उपलब्धि गुम्ने खतरा बढेकाले फेरि एकपटक साहित्यकार पहलकदमी ल्याएर प्रतिगमनलाई परास्त गर्न लागिगर्नु पर्ने आवश्यक रहेको बताइन् ।
अहिलेको गठबन्धन कुनै सत्ता प्राप्तिका लागि नभएर संविधान र लोकतन्त्रको रक्षाका लागि भएको धारणा व्यक्त गरेकी थिइन् । ‘यो गठबन्धनले स्थायित्व र समृद्धि ल्याउन जोड दिनेछ’, शर्माले भनिन्, ‘यो सामान्य निर्वाचन मात्र नभएर संविधान बचाउने मिशन भएकाले यसमा सबैले साथ दिनुपर्छ ।’
प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले यसपटक युवा उम्मेदवारलाई मतदाताको साथ रहने बताएका थिए । आफूले केही गर्छु भन्ने भावनाले उम्मेदवार भएको उल्लेख गर्दै न्यौपानेले जनताको विश्वासलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य ‘बिमल’ ले अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमनका बीचको लडाइँ भएकाले गठबन्धका पक्षमा लाग्न आग्रह गरेका थिए । कार्यक्रममा साहित्यकारहरूले विभिन्न सल्लाह, सुझाव दिएका थिए ।
