आचारसंहिता उल्लङ्घन भए कारबाही
गोरक्ष समाचारदाता
दाङ, २० कार्तिक । निर्वाचन निष्पक्ष, भयरहित रूपमा सफल बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको एक कार्यक्रमका वक्ताले बताएका छन् । मंसिर ४ गते हुन थालेको संघीय र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर प्रदेश निर्वाचन कार्यालय दाङले गरेको कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
सहभागीले सञ्चार माध्यमहरूले निर्वाचन आचारसंहिता पालना गरेर अगाडि बढ्नुपर्ने बताए । पत्रकारहरूले आप्mनो पेसाको मर्यादा भुल्न नहुने समेत बताएका थिए । उम्मेदवार, कार्यकर्ता तथा अन्य निकायबाट हुने आचारसंहिता उल्लङ्घनका विषयलाई सत्यतथ्य रूपमा बाहिर ल्याउनुपर्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कृपासुर कार्कीले आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही हुने बताए ।
‘कसैलाई पनि कानुनभन्दा बाहिर जाने अधिकार छैन, कानुनभन्दा बाहिर जानेलाई कारबाही हुन्छ’, उनले भने । जिल्लामा आचारसंहिता उल्लङ्घन भएका घटनाहरूलाई बाहिर ल्याएर सहयोग गर्न समेत उनले आग्रह गरे । ‘आचारसंहिता उल्लङ्घन भएको पाइएमा प्रमाणसहित बाहिर ल्याइदिनुस्’, उनले भने, ‘सबैले आ–आप्mनो जिम्मेवारी निर्वाह गरेर जानुको विकल्प छैन ।’ सबैको सहयोगले नै निर्वाचन सफल बनाउन सकिने उनले बताए । ‘सबैले जिमेवारीपूर्वक व्यवहार गर्न आवश्यक छ’, उनले भने ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गरिने बताए । ‘नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउनुहुनेछ’, प्रजिअ रेग्मीले भने । त्यसैअनुसनर सुरक्षा व्यवस्था मिलाइने उनले बताए । निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, म्यादी प्रहरी, सशत्र प्रहरी परिचालन गरिने उनले बताए ।
भौगोलिक अवस्था, राजनीतिक प्रभावअनुसार मतदान स्थलको संवेदनशीलताअनुसार सुरक्षा व्यवस्था गरिने उनको भनाइ रहेको छ । ‘सुरक्षाको हिसाबले कुनै कमी हुनेछैन’, उनले भने । जिल्लामा करिब ५ हजार सुरक्षाकर्मी परिचालन हुने उनले बताए । निर्वाचन सफल बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने भएकाले मिडियाको सहयोग रहेको समेत उनले बताए ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता, आचारसंहिता उल्लङ्घन गरे उम्मेदवार, कार्यकर्ता तथा अन्यलाई हुने कानुनी कारबाहीलगायतका विषयमा जानकारी दिएका थिए । उनकाअनुसार जिल्लामा १ सय ५३ मतदान स्थल र ४ सय ६५ मतदान केन्द्र छन् । २ वटा अस्थायी मतदान केन्द्र रहने भएका छन् ।
घोराही र तुलसीपुरमा अस्थायी मतदान केन्द्र रहने भएका छन् । जिल्लामा कार्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्याक्रम समेत सुरु भएको प्रमुख भण्डारीले बताए । मतदाता शिक्षा मंसिर १ गतेसम्म सञ्चालन हुनेछ । जिल्लाका १ सयवटा वडामा स्वास्थ्य स्वयम्सेविकामार्फत् मतदाता शिक्षा प्रदान गरिने उनले बताए ।
कार्यक्रमका नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले सञ्चार माध्यम र पत्रकारहरूले आफ्नो पेसागत मर्यादा कामय राखेर रिपोर्टिङ गर्नुपर्ने बताए । सञ्चार माध्यमहरू कुनै दलको एक पक्षीय नभइ सबैलाई स्थान दिनुपर्ने उनको भनाइ थियो । सञ्चार माध्यमहरू सबैका हुन् भन्ने वातावरण बनाउन सक्नुपर्ने उनले बताए ।
‘सञ्चार माध्यमहरूले सही सूचना र तथ्य सूचना दिनुपर्दछ’, उनले भने । दलहरूका कुरा मात्र नभइ नागरिकका कुरालाई पनि स्थान दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा पत्रकारहरूले आ–आप्mना जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण प्रदेश निर्वाचन कार्यालयका शाखा अधिकृत रेवतबहादुर बुढाथोकीले गरेका थिए ।
आचारसंहिता कार्यान्वयनमा जोड
निर्वाचन आचारसंहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने संवादमा सहभागीले बताएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ आचारसंहिता कार्यान्वयन विषयमा तुलसीपुरमा शनिवार आयोजना गरिएको संवादमा सहभागीले हाम्रो लागि हामीले बनाएको कानुन सबैले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छ्न ।
संवाद समूह सचिवालयका वरिष्ठ सहजकर्ता सुशील बस्नेतले संवाद समूहले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि कार्यक्रम गर्नुको औचित्य र निर्वाचन आचारसंहिता वाचन गरेका थिए । कार्यक्रममा सहभागी नागरिक समाज दाङका संयोजक केबी मसाल र सदस्य बसन्तराज भट्ट, शिक्षक महासंघका नवराज डाँगी, ज्येष्ठ नागरिकका संयोजक खुमानन्द अधिकारी, अपाङ्गता भएका व्यक्ति हुमाकान्त कँडेल र देवा डाँगीले सबैको सहज पहुँचमा मतदान केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
अधिकारकर्मी तुलसीराम सुनार, कोमल डिसी, महिला अधिकारकर्मी कल्पना चौधरी, सुशीला पौडेल, दलित अधिकारकर्मी छवि परियार, गैरसरकारी संस्थाका भागीराम चौधरी, कानुन व्यवसायी पुष्कर भण्डारी, व्यवसायी सन्दीपन रिजाल, ठाकुर रोका, त्रकार प्रेमबहादुर राम्जा र सरिता चौधरीले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सहजीकरण निर्मल नेपालीले गरेका थिए ।
