दाङ क्षेत्र नं. २ को साझा प्रतिवद्धता–पत्र, यस्ता छन एजेण्डाहरु
दाङ, १९ कार्तिक । दाङ क्षेत्र नं. २ का गठबन्धनका उम्मेदवारले साझा प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धता–पत्र सार्वजनिक गरिएको हो । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा, क्षेत्र नं २ प्रतिनिधि सभाका उम्मेदवार रेखा शर्मा, क्षेत्र नं २ (१) का उम्मेदवार राजु खनाल, क्षेत्र नं २ (२) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने र अन्य नेताहरुले सार्वजनिक गरेका हुन् ।
घोषणा–पत्रमा पूर्वाधार एम्वुलेन्सदेखि अहिलेको विमानस्थल विस्तारसँगै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहल गरिने उल्लेख गरिएको छ । सघन शहरी क्षेत्रभित्र बनेका सडक भत्कने हिलो र धुलोले बजार कुरुप बन्दै जाने, आवागमन प्रभावित हुने अवस्था बढ्दै गएकाले त्यस्ता स्थानमा अविलम्ब सुधारका लागि पूर्वाधार एम्वुलेन्स खडा गरी भत्केको खबर प्राप्त हुनेवित्तिकै मर्मत गर्ने गरी स्रोत साधन तथा जनशक्ति परिचालन गरिने उल्लेख छ ।
अहिलेको विमानस्थललाई ठूला जहाज बस्ने गरी स्तरोन्नति गरेर उडान नियमित गरिने, उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहल गरिने, गाउँनगर समेट्ने गरी निःशुल्करुपमा अपाङ्गमैत्री विद्युतीय नगरबस सेवा सञ्चालन गरिने, घोराहीसँग जोड्ने गरी स्मार्ट सडक निर्माण गरिने, लामो समयदेखि अलपत्र घोराही–तुलसीपुर चारलेन सडक विस्तार २ वर्षमा पूरा गरिने, सडक पुग्न नसकेका वडाहरुमा एक वर्षभित्र नै स्तरीय सडक निर्माण गरिने, मदन भण्डारी लोकमार्ग घोराही–मुर्कुटी– प्युठान खण्डलाई पुनः कालोपत्रे गरी राष्ट्रिय मार्गको रुपमा विकास गरिने, घोराही–लमही सडक विस्तार गर्नुको साथै चौपटा–मुसोट वैकल्पिक सडक निर्माणको पहल गरिने, घोराही–सैघा–मसिना हुँदै स्वर्गद्वारी जाने सडक स्तरोन्नति गरी कालोपत्रे गरिने प्रतिबद्धता–पत्रमा उल्लेख छ ।
कक्षा १२ सम्म निःशुल्क र प्राविधियुक्त गुणस्तरीय शिक्षा सुनिश्चित गरिने, सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा सुविधासम्पन्न बनाउँदै शैक्षिक गुणस्तर वृद्धि गरिने, सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रभावकारी बनाई दाङलाई शैक्षिक हव बनाइने, दाङमा महिला विश्वविद्यालय स्थापनाका लागि पहल गरिने, प्राविधिक शिक्षालयहरुमा सीप सिकाउने र उत्पादन बढाउने उद्देश्यले सिक्दै कमाउँदै कार्यक्रम लागू गरिने, बंगलाचुलीमा आंगिक क्याम्पस स्थापना गरिने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिला स्वास्थ्य कक्ष स्थापना गरिने, गभर्वती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने, अस्पताल विद्यालय र धार्मिक संस्था नजिक मदिरा बिक्री वितरणमा रोक लगाइने, घोराही–१८ नवलपुरमा गिरिजाप्रसाद कोइराला मुटु अस्पताल स्थापना गरिने, एम्बुलेन्स नभएका स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था गरिने, सर्रामा रहेको बाल अस्पताललाई सञ्चालनमा ल्याउने प्रतिवद्धता–पत्रमा राखिएको छ ।
कृषिको व्यवसायीकरण र आधुनिकरणका लागि पशु तथा बाली विज्ञसहितको हरेक वडामा कृषि प्राविधिकको व्यवस्था गरिने, किसान क्रेडिट कार्डको व्यवस्था गरिने, कृषकहरुलाई ५ वर्षका लागि व्याजमा अनुदानमा कृषि ऋणको व्यवस्था गरिने, एक वडा एक नमुना उत्पादन कार्यक्रम अगाडि बढाइने, प्रत्येक वडामा घुम्ती शीत भण्डारको व्यवस्था गरिने, कृषि उत्पादनको न्यनूतम समर्थन मूल्य तोकिने, हरेक वडामा कृषि बजारको व्यवस्था गरिने, बंगलाचुलीमा बाख्रा पकेट क्षेत्र स्थापनाका लागि अनुदानको व्यवस्था गरिने, बबई नदी, कटुवाखोला, सेवारखोला हापुरखोला, पत्रेखोला, सिस्नेखोलालगायतका विभिन्न खोला नदी तथा खोलाका कटान रोक्न तटबन्धको कामलाई प्राथमिकता दिएर अगाडि बढाइने भएको छ ।
औद्योगिक क्षेत्रको स्थापना गरी सञ्चालनमा ल्याइने, उद्योगहरुबाट सिर्जित वातावरणीय प्रदूषण व्यवस्थापन गर्न जोड दिइने, स्थानीय स्रोतमा आधारित घरेलु तथा साना उद्योगको स्थापना गरी उनीहरुले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरणमा सहयोग पु¥याउन निजी क्षेत्र र सहकारीलाई प्रोत्साहन गरिने, स्थानीय कच्च पदार्थ, स्थानीय कला र सीप स्थानीय प्रविधि र जनशक्ति प्रयोग गर्न उद्योगहरुलाई सहुलीयत प्रदान गरिने, बैकल्पिक औद्योगिक सडक निर्माण र विस्तारका लागि तत्काल पहल गरिने, कोइलावास नाका प्रभावकारीरुपमा सञ्चालन गरी सहज आयात निर्यातको व्यवस्था गरिने, कर प्रणालीलाई सरलीकृत गर्न आवश्यक संरचनाको व्यवस्था गरिने, वन उपभोक्ता समूहहरुको अगुवाईमा वनजन्य उद्योगमार्फत आयआर्जन बृद्धि गरिने भएको छ ।
खानेपानीको स्रोत बृद्धि गरी शुद्धीकरण र आपूर्तिलाइ सहज बनाइने, पानीका स्रोतहरुको उचित संरक्षण गरिने, सम्भावित स्थानमा वर्षाको पानी संकलन कार्य अघि बढाइने, माडी ड्राइर्भसन आयोजना यथाशक्य सञ्चालनमा ल्याउन पहल गरिने, हरेक परिवारलाई उज्यालो कार्यक्रममार्फत जोडिने, विद्युतीकरण हुन नसकेको स्थानमा राष्ट्रिय विद्युती प्रशारणमार्फत जोडिने, भौगोलिक कठिनाई भएको बस्तीमा अनुदानमा सौर्य उर्जा उपलब्ध गराइने, अति विपन्न परिवारलाई २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराइने भएको छ ।
व्यवस्थित वस्ती सुरक्षित घर सुन्दर र सभ्य गाउँ शहर निर्माणका लागि विभिन्न कार्य अगाडि बढाइने छ । जनताको रहर पर्यटकीय गाउँ शहर, इतिहास कला संस्कृति, समाजमा भातृत्व युवाको नेतृत्व, गुणस्तरीय वस्तु सुलभ दर उपभोक्ताको हित राज्यको सरोकार, भ्रष्टाचाररहित पारदर्शी सोच सार्वजनिक सेवामा नागरिकको सहज पहुँच, आधुनिक जीवनको आधार सूचना र सञ्चारअन्र्तगत विभिन्न कार्य गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रम क्षेत्र नं. २ गठबन्धन दलको चुनाव प्रचार–प्रसार समिति संयोजक हेमराज शर्माको अध्यक्षता तथा पूर्व सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महराले दाङको विकास र समृद्धिको लागि आफू सधै प्रतिवद्ध रहेको बताएका थिए । प्रतिवद्धता–पत्रमा उल्लेख गरिएका प्रतिवद्धताहरु जनताका आधारभूत आवश्यकता भएको भन्दै उनले गठबन्धनले पूरा गर्ने बताए ।
कार्यक्रममा गठबन्धनका दलमा आबद्ध उम्मेदवारसहित दलका नेताहरुले बोलेका थिए । गठबन्धनका तर्फबाट प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रेखा शर्मा, २ (१) का प्रदेशसभा उम्मेदवार राजु खनाल र २ (२) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले आफूहरुको मुख्य एजेण्डा भनेको विकास र समृद्धि भएको भन्दै जनता माझ प्रस्तुत गरिएको विषयलाई पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण आर.के. शितलले गरेका थिए ।
