आम निर्वाचन–२०७९,घरदैलोमा उम्मेदवार
दाङ, १८ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलसँगका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । चुनावी प्रचार–प्रसारमा हिँडेका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना कुराहरु मतदातालाई सुनाउने मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई मतदानका लागि अपिल गर्ने गरेका छन् ।
३ वटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा पुग्ने आफ्ना पक्षमा मतदान गर्नका लागि आग्रह गर्ने गरेका छन् ।
निर्वाचन प्रचार–प्रसारका क्रममा मतदातालाई रिझाउनका लागि कतिपय उम्मेदवारहरुले भने मतदातालाई काममा सहयोग गरेको अभिनय गर्नका लागि धान काट्ने, खेत जोत्नेदेखि खन्ने काम समेत गरिररहेका छन् । चुनावी प्रचार–प्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिन्हको विषयमा मतदाताहरुलाई जानकारी गराउने समेत गरेका छन् । मतदाता भेटघाटका क्रममा उम्मेदवारहरुले जनताका समस्या समाधान गर्ने गरी आफ्ना कुरा राख्नेदेखि पाँच बर्षको अवधिमा आफू र आफ्नो पार्टीले खेलेको भूमिका समेत मतदाता माझ राख्ने गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहेका एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरी, एमालेकी उम्मेदवार शान्ता चौधरी, पूर्व सांसद गंगा चौधरी, रुक्मिनी चौधरी, सुरेन्द्र चौधरीलगायतका उम्मेदवारहरु रहेका छन् । गंगा हाम्रो नेपाली पार्टी र रुक्मिनी संघीय लोकतान्त्रिक थरुहट पार्टीबाट उम्मेदवार बनेकी छिन् भने सुरेन्द्र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार हुन् ।

दाङ क्षेत्र नं. २ मा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि चुनावी प्रचार–प्रसारका क्रममा व्यस्त छन् । पहिलो चरणको भेटघाटपछि चुनावी घोषणा–पत्रको लागि काठमाडौँ गएको महासचिव पोख्रेल बुधवार राति दाङ फर्केका थिए । विहीवारदेखि मतदाता भेटघाट थालेका पोख्रेलले शुक्रवारदेखि वडास्तरका चुनावी सभामा सहभागी भएका छन् । शुक्रवार घोराही उपमहानगरपालिका वडा नं. ६ र ७ ले गरेका चुनावी सभालाई सम्बोधन गरेका छन् ।
मतदाता भेटघाटका लागि उम्मेदवारहरु घर–घर पुग्ने र नमस्कार गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् । त्यसैगरी क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र नेकपा एमालेबाट उम्मेदवार बनेकी कोमल वली चुनाव प्रचार–प्रसारका क्रममा दिनहुँ मतदातालाई भेटेर आफ्ना कुराहरु राख्दै आएका छन् ।
६ प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारले मतदातालाई भेट्दै मतदाताको कुरा सुनेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा गठबन्धनबाट माओवादी केन्द्रका नेता समेत रहेका लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत चौधरी प्रचार–प्रसारका क्रममा व्यस्त छन् । उनीसँग क्षेत्र नं. १ (१) मा प्रतिष्पर्धामा उत्रिएका नेकपा एमालेका नेता गंगाराम भट्टराईले पनि चुनावी प्रचार–प्रसारसँगै घरदैलो र भेटघाटका कार्यक्रमलाई अघि बढाइरहेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (२) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काका छोरा अनुराग खड्का यति बेला चुनावी प्रचार–प्रसारदेखि मतदाता भेटघाटमा बस्त छन् ।
उम्मेदवार खड्काले दाङको विकासका लागि आफूले विगतमा बुबाले गरेको विकासका आधारमा पहल गर्ने भन्दै जनताका माझमा पुग्ने गरिरहेका छन् । उनीसँग नेकपा एमालेका नेता एवं लमही नगरपालिका निवर्तमान नगर प्रमुख कुलबहादुर केसीले प्रतिष्पर्धा गर्दै छन् । त्यसैगरेर उनीहरुसँग अन्य साना पार्टीका उम्मेदवारहरुले प्रतिष्पर्धा गर्दैछन् । उनीहरु पनि मतदाता भेटघाटका कार्यक्रममा व्यस्त छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (१) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा पूर्व सांसद राजु खनाल पनि चुनावी प्रचार–प्रसारका लागि जनताको घरदैलोमा पुग्ने र मतदाता भेटघाटलगायतका कार्यक्रमलाई तीव्र बनाएका छन् । विगतमा पनि सांसद बन्दा दाङको विकास लागि महत्वपूर्ण काम गरेको भन्दै खनालले मतदाताको घर–घरमा पुगेर संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धनमा आवद्ध दलले खोलेको भूमिका बारेमा जनतालाई जानकारी दिँदै निर्वाचनका लागि भोट माग्ने काम गरिरहेका छन् ।
क्षेत्र नं. २ (१) मा एमालेबाट उम्मेदवार बनेका बलिभद्र रानाले पनि चुनावी कार्यक्रमहरु गर्दै आएका छन् । रानाले राजधानी कार्यान्वयन र विकासको मुद्दा लगेर मतदाताको बीचमा गएका छन् । विगत नेकपा एमालेको सरकारले लुम्बिनी प्रदेशको राजधानी दाङ ल्याएको थियो । तर एमाले सरकार विस्थापित भएसँगै निर्माण भएको गठबन्धन सरकारले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (२) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ र नेकपा एमालेका गिरिराज केसीलगायतका साना दलका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनका साझा उम्मेदवार न्यौपानेसँगै केसीले मतदाता भेटघाट कार्यक्रमलाई व्यापक बनाउँदै लगेका छन् । पछिल्लो समय आम मतदाताको रोजाइँ युवा र केही गर्न सक्ने उम्मेदवारप्रति रहेकाले निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि न्यौपानले तुलसीपुर र घोराही उपमहानगरपालिकाअन्तर्गत रहेको आफ्नो क्षेत्रमा व्यस्त छन् । यो क्षेत्रमा घोराही र तुलसीपुर उपमहानगरपालिकाका १२ वडाहरु पर्छन् । स्थानीय निर्वाचनको मतपरिणाम अनुसार ८ वडामा एमालेले जितेको छ भने गठबन्धनले ४ वडा जितेको छ । केसी एमालेका पुराना र संगठन निर्माणका अगुवा समेत हुन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ (१) मा गठबन्धन दलको साझा उम्मेदवार नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटन विकास मन्त्री डिल्ली चौधरी र नेकपा एमालेका पूर्व तुलसीपुर नगर प्रमुख घनश्याम पाण्डे प्रतिस्पर्धामा छन् । उनीहरु दुवै जना पाँच बर्ष जनप्रतिनिधि भैसकेका उम्मेदवार भएकाले आफूले गरेको विकास निर्माणका योजनाहरुसहित आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । त्यसैगरी देशसभा निर्वाचन क्षेत्र नं. ३ (२) मा गठबन्धन दलको साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य धनबहादुर मास्के र एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत प्रतिस्पर्धामा छन् । मास्के र बस्नेत पहिलो पटक संसदीय प्रतिष्पर्धामा छन् । बस्नेत निडर र पारदर्शी नेताका रुपमा छन् । जिल्लामा ४ लाख बढी मतदाता छन् ।
