भोट हालौँ रोजेर, सक्षम व्यक्ति खोजेर

नारायणप्रसाद श्रेष्ठ
नेपाल र नेपालीका अस्तित्व विश्वभूमण्डलमा सम्मानित भएर परिचित भएको छ । नेपालीको स्वाभिमान र धीरताले शृंगारिएको सुन्दर बगैँचा नेपाल हो । यहाँको विविध विशेषता, वर्ग, जात, धर्म र संस्कृतिको सुवासले मानव आत्मामा शान्तिको अनुभूति गराएको पाइन्छ । जातको भिन्नता, धर्मको भिन्नता भएर पनि मानव चिन्तन र सोचमा समभाव छ ।

एकले अर्कालाई हेर्ने दृष्टिकोणमा सकारात्मक सोच र चिन्तन छ । कोहीकसैप्रति कुनै किसिमको वैरभाव छैन । सबै आफूखुसी धर्म र संस्कृति मान्दै आएका छन् । चाहे हिन्दू, चाहे बौद्ध, चाहे मुसलमान सबैले सबैप्रति न्यानो सद्भाव दर्शाइरहेका छन् । धर्मप्रति सबैको समान धारणा छ । एकले अर्कालाई सम्मान गर्दै सार्वभौम स्वतन्त्रताको लागि सबैले हातेमालो गर्दै अघि बढेको परिस्थिति छ । शान्ति र स्वतन्त्रता हाम्रो जीवन पद्धतिभित्र कहिल्यै नओइलाउने बगैँचाको फूल भएर सबैको मनमस्तिष्कमा सजाइएको छ ।

अकबरी सुनलाई कसी लगाउन नपरेझैँ शान्ति र सद्भावले सजाइएको हाम्रो बगैँचाको सौन्दर्यलाई सबैले स्वीकारेको अवस्था छ । यहाँको प्राकृतिक सत्य र त्यस सत्यभित्र लुकेको आदर्श सबै सामू उज्यालो बिहानीझैँ प्रस्तुत भइरहेको छ । खोलानाला, पहाड, पर्वत र झरना, समथर भूमि, लहलह झुलेका शान्तिका बालाहरु यहाँको अकाट्य सुन्दरताभित्र प्रदर्शन भइरहने सत्य हुन् । हिमाल, पहाड, तराई कोही छैन पराई, यो आवाज प्रत्येक नेपालीजनको बोली, व्यवहार र संस्कृतिमा झल्किएको अवस्था छ । यसरी सजिएको नेपालको गौरवमय इतिहास आजपर्यन्त विश्वरंगमञ्चमा सुनौलो अक्षरले परिचित छ ।

नेपाली वीरताको गाथा सदियौँदेखि कोरिँदै आएको छ । नालापानीको युद्धमा नेपाली वीरता र साहसको मूल्यांकन गर्दै बेलायती यौद्धा कमाण्डर अंग्रेजले भनेका थिए, नेपाली वीरता र साहसदेखि म निकै प्रभावित भएँ । म उनीहरुको साहसको उच्च मूल्यांकन गर्छु । उनले अगाडि भनेका थिए, – मर्न डराउँदिन भनेर यदि कसैले भन्छ भने कि त त्यो झुठ बोलेको हुनुपर्छ कि त्यो वीर नेपाली हो । यसरी इतिहास कोरेको नेपालको गोरवमय ऐतिहासिक सत्य वर्तमानमा समेच जीवन्त रहेको छ । राजनीतिक असक्षमताले भलै त्यसबेला यसको केही भूभाग पराईको अधिनमा रहन पुगेको अवस्था रहे पनि वर्तमान अवस्थामा नेपालको अस्तित्व उच्च भएर रहेको छ ।

यसरी संरक्षित र सुरक्षित हुँदै आएको नेपालको यो सुन्दर बगैँचालाई वर्तमानको संघीय शासन प्रणालीले कसरी सुरक्षित र सुन्दर बनाउने हो ? यो प्रश्न निकै जेलिएर आएको छ । निकै रस्साकस्सीपछि नेपालले सार्वभौम स्वतन्त्रता सहितको संविधान पाएको थियो । संघीय कार्यान्वयन स्वरुप स्थानीयको पहिलो र दोस्रो निर्वाचन सम्पन्न भइसकेको पनि छ । संघ र प्रदेशको पहिलो निर्वाचनपछि अब दोस्रो निर्वाचन पनि हाम्रो घरसंघारभित्र प्रवेश गरिसकेको छ । यस अवस्थासम्म पनि जनताले गणतन्त्रको अनुभूति गर्न पाइरहेको अवस्था छैन । यदि यसरी नै राजनीतिक इमानदारी प्रष्टिँदै जाने हो भने राजनीतिज्ञ वर्गस्वार्थभित्र रुमलिँदै अगाडि बढ्ने हो भने हाम्रो अस्तित्व के होला ? अब सबैले सोच्नुपर्ने भएको छ ।

राजनीतिज्ञ नै देशको भविष्य निर्धारण गर्ने भएकोले यसलाई कसरी राष्ट्र र जनताको हितको लागि परिचालन गर्ने हो ? यसको जिम्मा अब प्रत्येक नेपाली नागरिकको हातमा आएको छ । किनकि राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी मान्यतामा राखी गरिने राजनीतिक चरित्रले नै राष्ट्र र राष्ट्रियताको संरक्षण सम्भव हुने कुरा यथार्थ सत्य हो । आफ्नो माटो र भूमि सुहाउँदै राजनीतिक चरित्रबाट नै परिवर्तन र राष्ट्र प्रतिष्ठा कायम रहेको हुन्छ ।

हिजो हिमाल, पहाड, तराईमा आफ्नै साहस र पौरखले सिर्जेको नेपालको अस्तित्व २१औँ शताब्दीमा आएर अझ बढी सशक्त भएर आउनुपर्ने अवस्था छ । बुद्धि, विवेक र असल आचरणको खाचो छ । राजनीतिमा योग्यता र नैतिकताको खाचो छ । हलो, कुटो र कोदालोको भरमा पहाडका गहरा–गहरा र भिरालो जमिनमा सुन फालाउने पसिनाले मात्र राष्ट्रको अस्तित्व संरक्षित नहुने, अबको परिस्थितिले देखाइरहेको अवस्थाले अब सबै गम्भीर बन्नुपर्ने देखिन्छ । सोझा र शान्तिको अग्रदूत नेपाली चरित्रले मात्र वर्तमानको भागदौडमा खासै उपलब्धि हुन नसकी कमजोर रहनुपर्ने अवस्था सिर्जना हुनसक्छ । त्यसको लागि विवेकशील र इच्छाशक्तिमा दृढ रहने सक्षम व्यक्तिको आवश्यक पर्छ ।

हामीले जे गरे पनि हुन्छ, म र मेरो पार्टी नै सबै हो भन्ने डम्भ राख्ने राजनीतिक मानसिकताले गरिने कर्म र चरित्रले कहिल्यै पनि राष्ट्र र राष्ट्रियताप्रति गम्भीर रुपले सोच्ने फुर्सद पाएको पाइँदैन । यसले उल्टै राष्ट्रियतामाथि खतरा मडारिन सक्छ । त्यसैले अब प्रत्येक राजनीतिक पार्टीले वा स्वतन्त्र व्यक्तिले राजनीति कसको लागि ? व्यक्ति, समुदाय, समाज, राष्ट्र वा स्वार्थका लागि यो कुराको गम्भीर भएर छिनोफानो गर्नुपर्ने भएको छ । शाब्दिक अर्थ खोज्ने हो भने राज्यको समग्र विकास संरक्षण र सम्बद्र्धनलाई मूर्त रुप दिने नीति र नियम नै राजनीति भनिएको पाइन्छ ।

तसर्थ, राज्यको प्रत्येक क्रियाकलापबाट नागरिकको स्वतन्त्रता एवम् हक, हितको संरक्षण गर्दै राष्ट्रिय फूलबारीलाई कसरी आदर्शतिर लैजान सकिन्छ ? समय र परिस्थितिअनुकूल वातावरण सिर्जना गरी कसरी सकारात्मक फड्को मार्न सकिन्छ ? त्यो सोच्ने र सोही अनुकूल आचरण गर्ने राजनीतिक सक्षम व्यक्ति वर्तमानले खोजेको अवस्था छ । संघीय राज्य प्रणालीलाई व्यवस्थित गर्न चुनिएका प्रतिनिधिले यसको संस्थागत विकासको लागि नीति र नैतिकता देखाए मात्र यो सम्भव हुने कुरा घामझैँ छर्लङ्ग छ । तसर्थ, अहिले सबै गम्भीर हुन जरुरी छ ।

हाल केही समय यता राजनीतिक ध्रुवीकरण जसरी बढिरहेको छ, यसको उद्देश् केवल सत्ता प्राप्ति मात्र हो वा अरु के हो ? यो कहाँ र कसरी परिचालित भएको छ ? कतै यसले ल्याउने परिणामले राष्ट्रियतामाथि दाग लाग्ने अवस्था त आउँदैन ? आपसी वैमनस्यता बढाइ राजनीतिमा जुन अविश्वासको वातावरण बन्दै गएको छ, यसले कस्तो परिणाम ल्याउने हो ? जनताको चाहना एकातिर, नेताको विचार अर्कोतर्फ हुने गरी छरपष्टिएको राजनीतिक चरित्रले कस्तो अवस्था सिर्जना गर्ने हो ? कतै हामी पतन हुनुपर्ने त होइन ? तसर्थ, यो ध्रुवीकरणले राजनीतिक तरलता जसरी देखापर्दै अगाडि बढेको छ, यसले सही दिशानिर्देश गरोस् हाम्रो शुभकामना ।

निर्वाचनको संघारमा आइसकेको यस अवस्थामा प्रत्येक नेपाली सचेत आत्माले नेपाली बगैँचा शृंगार्ने नेतृत्व चयन गर्नुपर्ने जरुरी छ । खोला, नाला, पहाड, पर्व र विचार बन्धक बनाउने नेता होइन, इमानदार र जनताका सच्चा सेवक, राष्ट्रभक्तिले ओतप्रोत व्यक्ति छान्नु र चुन्नु परेको छ । सदनमा पुगी नेताको चाकडी गर्ने र उनले जे भने त्यसैमा ल्याप्चे लगाउने र आफूलाई राजनीतिज्ञ भन्न पछि नपर्नेले राष्ट्र विकासका के योगदान दिनसक्छ ? यी त केवल नेताका गुलाम मात्र हुन् । स्वच्छ र सच्चा इमानदार नेताले उनीहरुको चम्चे कहिल्यै हुँदैनन् । आफू निर्णायक बनेर काम गर्न अगाडि बढ्नसक्छनन् ।

तसर्थ, विगतलाई हेरेर वर्तमानमा सोच्न जरी छ । यसको लागि हामी हिजो कति इमानदार बन्यौँ, जनताको सामू गरेका वाचा कति पुग्यो, जनहितका नयाँ विचार कति सार्थक भए वा भएनन् ? राष्ट्रिय राजनीतिक राष्ट्रिय सुन्दरतामा कति सुन्दरता थपियो ? यी सबै कुराको हेक्का राख्न जरुरी छ । राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रुपले देशले कस्तो काँचुली फेर्न सफल भयो ? यसको गम्भीर रुपले समीक्षा गर्नुपर्ने जरुरी छ । खान लाउनमा मात्रै जनताको पसिना खेर गयो वा नेतृत्वले कुनै नयाँ परिस्थिति सिर्जना ग¥यो ? अहिले टड्कारो रुपले प्रश्न उठिरहेको छ ।

राजनीतिमा प्रतिस्पर्धा हुनु कुनै नौलो कुरा होइन तर यसको उद्देश्य राष्ट्रिय चिन्तनभित्र बढ्नुपर्छ । फलानाले ग¥यो, अब मैले पनि गर्नुपर्छ भनेर मात्रै हुँदैन । समय र परिस्थितिअनुसार सक्षम र राष्ट्रवादी चरित्र खोजिएको छ । राष्ट्रलाई साच्चिकै सुन्दर बगैँचाको रुपमा विकास गर्न अहिले मानसिक रुपले बुद्धि र विवेकको प्रयोग गर्नुपर्ने अवस्था छ । नेपाल हाम्रो सुन्दर बगैँचा हो । यहाँको सुन्दरता र मोहकताले नै आकर्षित गर्दछ । सक्षम व्यक्तिको चयन गरी नेपाललाई साच्चिकै स्वर्ग बनाउनु छ ।