बजार अनगुमन : आगोमा जलेन जफत गरिएको घ्यू

खेमराज रिजाल
बिजौरी, ३१ असोज । यसपटक जफत गरिएका दैनिक खाद्य सामग्री जलाउन निकै सहज हुनेछ भन्ने धेरै अनुगमनकर्ताको विश्वास थियो । बिजौरी बजारका विभिन्न खाद्य पसल तथा डेरीबाट जफत गरिएका म्याद नाघेका, सडेगलेका, र लेबलिङ नगरिएका उपभोग्य सामग्रीहरु जफत गरिए । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता शाखाको संयोजनमा खाद्य गुणस्तर डिभिजन कार्यालयय तुलसीपुर, इलाका प्रहरी चौकी हेमन्तपुर मातहतको बिजौरी प्रहरी पोष्टका सुरक्षाकर्मी, बिजौरी उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा सञ्चारकर्मीहरुसमेतको सहभागितामा बिजौरी बजारका विभिन्न पसलहरुमा आइतवार विहानैदेखि अनुगमन सुरु भएको थियो ।

बिहानैदेखि सुरु भएको अनगुमनका क्रममा मानपुर रोड क्षेत्रका कम्तीमा एक दर्जन बढी पसलहरुमा अनुगमन गरियो । अनुगमनका क्रममा मदिरा पसलदेखि डेरी उद्योग तथा चिया–नास्ता पसलहरु र खाद्य पसलहरुमा चेकजाँच गर्दा बजारको अवस्था उस्तै । व्यापार व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रियामा त्रुटिदेखि म्याद नाघेका र उपभोग गर्नै लायक नभएका दैनिक उपभोग्य सामग्रीहरु पनि बजारभरी भेटिए । दालमा चिलेसा, चामलमा घुन त सामान्य देखिन्थे । उपभोग मूल्य नबुझिने उपभोग्य सामग्रीहरुको पनि बजारमा प्रशस्त छन् । राप्ती भुजा र सल्यानी भुजामा पनि समस्या देखिएको छ । ‘सय ग्राम तौल उल्लेखित भुजाको प्याकेट तौलदा १७ ग्राम कम पाइएको छ भने हामी उपभोक्ताहरु कसरी दैनिक रुपमा ठगिइरहेका छौं’, बिजौरीका एक उपभोक्ताको गुनासो थियो ।

उपमहानगरपालिकाका उपभोक्ता शाखा प्रमुख रेखा शर्माको नेतृत्वमा खाद्य गुणस्तर डिभिजन कार्यालय तुलसीपुरका रिजन कार्की, तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वली, बिजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतम, अधिकारकर्मी केशवकुमार शर्मा, इलाका प्रहरी कार्यालय हेमन्तपुर मातहतका सुरक्षाकर्मी तथा सञ्चारकर्मीसमेतको रोहवरमा बजार अनुगमन गरियो । अनुगमनका क्रममा डेरीमा राखिएको घ्यू देख्दै कालो फोहर जमेको, लेबलिङ नभएको पाइएको थियो । उक्त डेरीबाट टोलीले कम्तीमा ६ लिटर घ्यू जफत ग¥यो । प्रतिलिटर तेह्र सय मूल्य पर्ने घ्यू थियो, त्यो ।

अर्को एउटा ठूलो खाद्य तथा किराना पसलमा केही उपभोग मिति सकिएका अचारका बट्टाहरु, अर्को पसलमा म्याद गुज्रेका बेसनका पोका, अर्को पसलमा मुङको सडेको दल तथा किरा लागेको सेतो तील र केही पसलमा डेट स्पायर गहुँको आटासमेत भेटिए । ती सामग्रीहरुलाई उपभोक्ता हकहित संरक्षण ऐनअन्तर्गत मुचुल्का उठाइयो । त्यसपछि अनुगमन टोलीले उद्योग वाणिज्य संघ र स्थानीय सुरक्षाकर्मीको रोहबरमा मानपुर रोडकै किनारामा जलाएको थियो । जब गत्ता जलाएर घ्यू पोखियो, आगो पटक–पटक निभेको थियो । ‘आगोमा पनि नजल्ने कस्तो घ्यू रहेछ, यसको गुणस्तरीयतामा कसरी विश्वास गर्ने ?’ अनुगमनमै सहभागी एकजना प्रतिनिधिले घ्यूको गुणस्तरबारे आश्चर्य प्रकट गरेका थिए । चार किलो घ्यूले अन्य सामान नष्ट गर्न करीब आधा घण्टा लागेको थियो ।

जफत गरिएको घ्यूको मूल्य १३ सय रुपैयाँ प्रतिकिलोमा बेच्ने गरिएको थियो । त्यसो त बिजौरीकै अर्को खाद्य पसलमा वीरगञ्जमा उत्पादन भएको लेवल टाँगिएको आधा किलो घ्यूको मूल्य भने जम्मा ३ सय ५० रुपैयाँ थियो । त्यो घ्यूको विषयमा अनुगमन र निरीक्षण परीक्षण गर्ने कि नगर्ने ? पत्रकारहरुले यही प्रश्न सोधेका थिए । प्रश्नको उत्तरमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता शाखा प्रमुख रेखा शर्माले तुलसीपुर बजारमा पनि यस्ता घ्यू भेटिएकाले गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाएको बताइन् ।

तिहार नजिकिँदै गर्दा बारा र वीरगन्जबाट बर्षेनी यस्तै गुणस्तरहीन घ्यू दाङका बजारमा व्यापारीहरुले भित्र्याउने गरेका छन् । यस्ता घ्यूका विषयमा स्थानीय प्रशासन, स्थानीय सरकार र उपभोक्ता हकहित संरक्षण मञ्चलगायतले संयुक्त अनुगमन गरी कानुनी कारबाही समेत गर्नुपर्ने अधिकारकर्मी केशवकुमार शर्माले बताएका छन् । अनुगमनलाई स्थानीयबासीहरुले पटके भनेका छन् । स्थानीय उपभोक्ताहरुले यस्ता अनुगमनलाई नियमित बनाई अखाद्य सामग्रीहरु बेच्नेलाई कडा कानुनी कारबाही गर्न पनि सुझाव दिएका थिए । अनुगमन निरन्तर भइरहँदा पनि बजार पूर्णरुपमा सुध्रन सकेको छैन ।

व्यवसाय स्थानीय पालिकामा दर्ता भएर सञ्चालनमा ल्याउनुपर्ने स्थानीय सरकारले कानुनी व्यवस्था गरे पनि अधिकांश प्रतिष्ठानहरु उपमहानगरपालिकामा दर्ता नभएको पाइएको छ । विशेष गरी मदिरा व्यवसायीहरु स्थानीय पालिकामा दर्ता हुन चाहिरहेका छैनन् । उनीहरुले घरेलु, प्यान र भ्याटमा दर्ता भैसकेको भन्दै दोहोरो कर बुझाउँदा आफूहरुलाई थप आर्थिक भार परिरहेको पनि अनुगमन टोलीलाई बताएका थिए । अन्य व्यापार व्यवसायभन्दा मदिरा व्यवसायलाई उपमहानगरपालिकामा दर्ता गर्दा शुल्क महंगो भएकाले पनि उनीहरु स्थानीय सरकारमा दर्ता हुन नचाहेको बताएका छन् ।

धेरै क्षेत्रबाट अनुगमन भइरहे पनि दैनिक उपभोक्ताको बजारमा सुधार आउन सकेको छैन । होटलहरुमा खाद्य स्वच्छताको अवस्था दयनीय भएको उपभोक्ताहरुको गुनासो छ । माछा व्यापार धुलाम्मे सडकमा भइरहेको छ । तुलसीपुरमा मासुमण्डी पनि बर्षौदेखि उस्तै छ । काटिएको मासु खुल्लारुपमा फलामे हुकमा झुण्ड्याउने गरिएको पाइन्छ । बधशाला भुस्याहा कुकुरले चाटिरहेको देखिन्छ । फलफूल व्यवसाय पनि खुल्ला सडकमै भइरहेको छ । फलफूल पनि सडेगलेका पाइन्छन् । जति सड्दै जान्छ, त्यसरी नै भाउ घटाएर व्यवसायीहरुले बेचबिखन गर्दै आएका छन् । उपभोक्ताहरुले यसमा पनि निगरानी राख्न स्थानीय सरकारलाई आग्रह गरिरहेका छन् ।