जंगलमा गाडेको अवस्थामा किशोरकिशोरीको शव

घोराही, ३० असोज । हराएको ३ दिनपछि जंगलमा गाडेको अवस्थामा किशोरकिशोरीको शव फेला परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाँउमा दुई किशोरकिशोरीको शव खाडल खनेर गाडेको अवस्थामा फेला परेको हो ।

तुलसीपुर उपमहानगरपालिका–१३ निवासी शरद आचार्य र रोशनी महताराको शव आइतवार दिउँसो दमारगाउँकै जनकल्याण सामुदायिक वनमा खाडल खनेर गाडेको अवस्थामा शव फेल परेको जिल्ला प्रहरी कार्यलय दाङका प्रवक्ता एवं डिएसपी राजन गौतमले जानकारी दिएका छन् । उनका अनुसार जंगलमा गएका स्थानीयले किशोरीको कपडा च्यातेर फालेको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमका अनुसार शरद र रोशनी असोज २७ गते राति आ–आफ्नै घरबाट हराएका थिए । उनीहरु हराएपछि खोजतलास गर्दापनि कतै नभेटिएपछि आफन्तले असोज २९ गते शनिवार मात्रै मात्रै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जानकारी गराइएका थिए । उनीहरूको हत्या पश्चात खाल्डो खनेर गाडेको हुन सक्ने प्रहरीले आसंका गरेको प्रवक्ता गौतमले बताए ।

‘दुवै जनाको खाडलमा गाडेको अवस्थामा शव फेला पर्नुले उनीहरुको कसैले थाहा नपाउन भनेर हत्यापछि गाडेको हुन सक्ने अनुमान छ’,प्रवक्ता गौतमले भने,‘त्यसैले सोही घट्नामा संलगन रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ ।’ प्रवक्ता गौतमले घटनाका बारेमा गम्भीर रुपमा अनुसन्धान थालिएको बताएका छन । मृतक शरद र रोशनी स्थानीय अम्बापुर माद्यामिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए । उनीहरू प्रेम सम्बन्धमा रहेकोले भागेको घरपरिवारको अनुमान थियो ।