न उत्सव,न पर्व

के.पी सुवेदी

प्रतिनिधि सभाको निर्वाचन र प्रदेश सभाको निर्वाचनमा दलहरुको र स्वतन्त्र उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोगले दर्ता गरेर सदर तथा बदर ऐन नियमानुसार प्रक्रिया टुङ्ग्याइसकेको छ । अबका दिन करिब सवामहिनामा दुईवटा ठूला पर्वहरु आइरहेको बेला आम नेपाली नागरिकमा जुन उत्साह आउनुपर्ने थियो त्यो अलिकति कमी नै देखिन्छ । यसो हुनुमा विभिन्न कारणहरु जिम्मेवार छन् ।

पहिलो नजिकिएको महानपर्व तिहार, नेपाल संवत्, छठ गरी यी तीन पर्वहरु सांस्कृतिक हिन्दूहरुको लागि निकै महत्वपूर्ण पर्वहरु हुन् । दोस्रोमा मंसिर ४ गते हुन लागेको निर्वाचन पाँच वर्षमा एकपटक आउने हुँदा झनै महत्वपूर्ण पर्व मान्नुपर्छ । किनभने यो यस्तो दिन हो जुन दिनमा नेपालीको विगतका कमजोरी सच्याइ नयाँ कुराको थालनी गर्न योग्य एवम् देश र जनताप्रति उत्तरदायी प्रतिनिधि छानेर पठाउनुपर्ने हो ।

हाम्रो महान चाड दसैँ भर्खरै सकिएको छ, दसैँको २० दिनपछि तिहारको भाइटीका पर्छ । तिहार कागतिहारदेखि नै सुरु हुने भएर पाँच दिनसम्म धुमधामसँगै मनाउने गरिन्छ तर यसपटक सधैँजस्तो उत्साहपूर्ण आगमन तिहारको छैन । दसैँ विभिन्न अपसकुन र विपतको बीचबाट गुज्रेका कारण त्यसको पीडा सबैलाई दिइरहेको अवस्थामा लगत्तै आइरहेको तिहार रमाइलो हुन नसकिरहेको देखिन्छ । दसैँ गरिब तथा हुँदा खानेहरुको सधैँ दशा बनेर तेर्छिन्थ्यो । यो पालिको दसैँ तिनीहरुबाहेकका लागि पनि रमाउने दिन हुन सकेन ।

बेमौसमी अविरल वर्षाले । कतै बाढी पसेर पाकेको फसल सहितको खेतबारी बगाइदियो । कतै नदी तथा खहरेहरुले घरै बगाएर परिवारै उजाडिदियो । हाम्रो भौगोलिक बनावटले भिरालो जग्गामा घर, खेत, बारी छन् । यस्तै भिरालो जग्गा र त्यसमा बनेका घर–गोठ बगाउने नियमित आकस्मिकता हाम्रो बाध्यता बनिरहेको छ । ती उजाडिएका बस्तीहरुमा राहतको समुचित व्यवस्था हुन सकेको छैन । खुला आकाशमुनि भोकै छटपटिनेहरु पेटभरि खाना र रात्रीलाई छाना पर्खिरहेकाहरुलाई दीपावलिको के महत्व होस् ।

यसपटक समयमा वर्षात नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको छ । थोरै जमिनमा लगाएको खेती, बाढी र पहिरोले लगिदिएको छ । त्यसैले पर्वहरु र निर्वाचन उसै त समयमा मल बिउ किसानले पाएनन् । कृषिप्रधान देश भन्ने ८० प्रतिशत जनता कृषिमा निर्भर छन् भन्ने तर सत्तामा बस्नेले नीतिनियम बनाउँदा तिनीहरुको उपेक्षा गर्ने गरिरहेको सरकारको आर्थिक गतिविधिले देखाइरहेको छ । अहिले फेरि जनादेश लिने अवसर आएको छ र यसबेला घोषणापत्रका खोष्टाहरु पस्किने काममा तछाडमछाड मच्चिएको छ ।

पाँच वर्षअघि यस्तै लोभ्याउने लिखतहरु बोकेर मत माग्न जनता समक्ष पुगेकाहरुले मौका पाएको बेला के–के गरे ? त्यसको हिसाबकिताब गर्ने समय अहिले हो । निर्वाचन एउटा सुनौलो अवसर लिएर आउने महान चाड बन्ने वा कपटी र जालीहरुले जाल हान्ने भविष्यका सम्भावनामा त्यो पनि खन्याइदिने पश्चातापको पुनरावृत्ति हुने तिनै असफल पात्रहरुको हातमा छ ।

जनता एककिसिमको विवशतामा अलमलिइरहेको अवस्थामा छन् । किनभने लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । कुनै पनि बहानामा लोकतन्त्र खराब देखाएर व्यक्ति सर्वोच्च हुने प्रणाली सही हुन सक्तैन र लोकतन्त्र दलबिना बाँच्न सक्तैन । दलीय प्रतिष्पर्धाबाट लोकतन्त्रात्मक जीवन्तता उत्पन्न हुन्छ तर अहिलेका राजनीतिक दलको चालढालले लोकतन्त्र कमजोर गराउँदैछ ।

कृषिप्रधान देशका जनतालाई खेती गर्ने बेला रासायनिक मल छैन, विपदमा परेका बेला राहत छैन, महामारीले ग्रस्त भएको समयमा राम्रो अस्पताल र उपचारको व्यवस्था छैन अनि निर्वाचन आयो भने थोत्रा आश्वासनको पोको लिएर झुक्याउन पाइँदैन पहिलो कुरा दोस्रो कुरा लोकतान्त्रिक मूल्य मान्यता र आदर्श विपरीत अप्राकृतिक साँठगाँठ गरेर जनताले पाँच वर्षमा छान्न पाउने अधिकारबाट वञ्चित गर्ने अहिलेको चुनावी रत्यौली जनतालाई चाहिएको नभइ जबर्जस्ती लादिएको हो । र जनताले दलहरुको प्रतिबद्धता कसरी स्वीकार गर्ने ?

शुद्ध जनमत लिन डराइरहेका दलले कसको प्रतिबद्धता पालन गर्ने ? आफ्नो घोषणापत्रअनुसार कार्यक्रम बनाउन र लागू गर्न आफ्नो जनाधारको पहिचान कसरी हुन्छ ? यो विषयमा कुनै पनि राजनीतिक दल इमानदार देखिएनन् । जनताप्रतिको जवाफदेही कुनै पनि राजनीतिक दलमा नदेखिँदा निर्वाचन महाउत्सव बन्ने ऐतिहासिक अवसरमा परिणत हुन सकेन । जसरी प्राकृतिक र दैवी विपदले सांस्कृतिक पर्वहरु उत्साहजनक बनाउन सकिएन । त्यसैगरी राजनीतिलाई निष्ठा र सेवाको पर्याय बनाउनुपर्नेमा व्यक्तिगत लाभ लिन जथाभावि गर्न थालियो । त्यसले निर्वाचन कार्यक्रममा उत्साह जगाउन धौ धौ परेरेको हो ।