प्रतिष्ठान डायरी
खेमराज रिजाल
दाङ,३० असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनैबेला वार्षिकोत्सव मनाउनका लागि प्रमुख अतिथि बहिस्कार गर्नेहरूकाबीच पाचौँ वार्षिकोत्सव उनीहरूकै समुपस्थितिमा स्वास्थ्य सचिवको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । पहिलेकै परम्पराअनुसार विविध खेलकुद र केही मनोरञ्जनात्मक कार्यक्रम सहित यो वर्षको थप आकर्षण रात्रिभोज पनि थियो ।
वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले दिएको तथ्याङ्कले अस्पतालको स्वास्थ्य सेवा निकै सुदृढीकरण भएको छ । तात्कालीन महेन्द्र अस्पताल र अहिलेको प्रतिष्ठानको स्वास्थ्य सेवालाई तुलना गर्न असम्भव छ । किनकि भिडियो एक्स–रे समेत सहज उपलब्ध नहुने अस्पतालमा अहिले विशेषज्ञ स्वास्थ्य सेवा, आधुनिक प्रयोगशाला, अत्याधुनिक उपकरण सहितका शल्यक्रिया कक्ष, आइसियु, एनआइसियु, पिआइसियु, जियोरेटिक वार्ड, हेमोडायलायसिस, पोषण पुनःस्थापन गृह, आमा सुरक्षा कार्यक्रम, सिटी–स्क्यानलगायतका सेवा सञ्चालनमा आइरहँदा तीन सय बेडको अस्पताल भरिभराउ छ । ओपिडी र आइपिडीको तथ्याङ्कले पनि अस्पताल भरिभराउ भएको देखाउँछ तर पाचौँ वर्ष पूरा गर्दा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मूर्त रूप लिनसकेको छैन । ताकि प्रतिष्ठानमा एउटा पनि शैक्षिक कार्यक्रम सञ्चालन हुनसकेको छैन ।
प्रतिष्ठानको वार्षिकोत्सवमा स्वास्थ्य मन्त्रालयका उच्च ओहदाका कर्मचारी अर्थात् स्वास्थ्य सचिव आएको सायद यो पहिलो वार्षिकोत्सव हो । यस अघि वार्षिकोत्सव कस्तो परिवेशमा भएका थिए भन्ने यहाँका आम राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी एवम् सांसदहरूलाई पनि जगजाहेर नै छ । शनिवार आयोजना गरिएको प्रतिष्ठानको वार्षिकोत्सवमा स्वास्थ्य सचिव मात्र होइन, प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ तथा संघीय स्वास्थ्य मन्त्रालयका अन्य पदाधिकारीहरू तथा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिवको समेत उपस्थीति थियो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाका प्रमुखको पनि समुपस्थिति थियो । जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख तथा सेना प्रमुख र डिभिजन वन कार्यालयलगायत विभिन्न अस्पतालका मेसु तथा निर्देशकहरूको पनि उपस्थिति थियो ।
यी सबैको उपस्थितिमा स्वास्थ्य सचिव तथा प्रमुख अतिथि रोशन पोख्रेलले आफूले अस्पतालको अनुगमन गर्दा अस्पतालको ओपिडी र आइपिडी पूरै भरिभराउ रहेको र तीन सय बेडको अस्पतालमा अब जुनसुकै शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने अभिव्यक्ति दिए । ‘अस्पतालको सबै कक्षको निरीक्षण ग¥यौँ, हामीले सोचेजस्तो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधारमा कमजोर रहेनछ, अब शैक्षिक कार्यक्रम सञ्चालनका लागि हामी सबैले सहकार्य गरी अघि बढ्नुपर्नेछ’, स्वास्थ्य सचिवले यो मात्र बोलेनन्, ‘हामीले सबै प्रतिष्ठानलाई समान दृष्टिले हेर्नेछौँ ।’
स्वास्थ्य सचिवज्यू,
तपाईँले अहिले देखेका पूर्वाधार राष्ट्रिय चिकित्सा शिक्षा आयोगले किन देखेन ? तपाईँले भनेजस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मूर्त रूप दिन शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति चिकित्सा शिक्षा आयोगले दिनुपर्ने होइन र ? किन आयोगले पूर्वाधार कण्डिश्नल भन्यो ? तपाईँले आयोगलाई पनि जानकारी लिनु होला भन्ने प्रतिष्ठानको पाचौँ वार्षिकोत्सवको सन्देश हो ।
स्वास्थ्य सचिवज्यू, तपाईँकै भनाइमा धरान र पोखराजस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि सरकारले समान दृष्टिले हेरेको छ । खोइ, एक वर्ष अघि शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रमको स्वीकृति दिएको ? बिएस्सी नर्सिङ र बिएनको शैक्षिक कार्यक्रमका लागि जे–जे पूर्वाधार चाहिन्छ, अब आयोगले मात्र होइन तपार्इँले पनि स्पष्ट देखिसक्नुभएको छ । सारा सञ्चार जगतले हेरेका छन् । यो भन्दा कमजोर भौतिक पूर्वाधार भएका मुलुकका विभिन्न निजी संस्थाहरूलाई आयोगले बिएस्सी नर्सिङ र बिएनका लागि स्वीकृति पनि दिएको सन्दर्भमा विभिन्न चोकचौतारामा छलफल चलिरहेका छन् तर आयोगको अनुगमनको
नैतिक दायित्व किन पूरा हुन सकेन ?
राजनेताहरूले भाषण गर्छन्, काम गर्ने भनेको व्यूरोक्रेशीले हो । तपाईँ स्वास्थ्य मन्त्रालयको व्यूरोक्रेसीको नेतृत्वमा हुनुहुन्छ । कार्यक्रमको सुरुआतमै प्रमुख अतिथिको मन्तव्य दिएर जति हतारोमा बिदा मागेर मन्त्रालयको टिम सहित काठमाडौं जानुभएको छ, त्यत्ति नै हतारो गरी दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एउटा भए पनि शैक्षिक कार्यक्रमको स्वीकृति प्रदान गर्न लागिपर्नु होला, आम दङालीहरूको तपार्इँप्रतिको अपेक्षा यही हो ।
तपार्ईँ स्वास्थ्य क्षेत्रको विज्ञ पनि हुनुहुन्छ । डा गोविन्द केसीको आमरण अनसन सहितको मर्मलाई सम्बोधन गरिदिनु होला । नेपाल सरकारको एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठानको नीतिलाई पनि आत्मसात गरिदिनुहोला । त्यसका लागि अस्पताल सुधार भएर मात्र पुग्दैन । हो, अस्पतालमा अझै पनि न्यूरो र कार्डियोको विशेषज्ञ सेवा नितान्त आवश्यक छ, त्यसलाई पूरा गर्न स्वास्थ्य मन्त्रालय पनि सहकार्य गर्न र सहयोग गर्न तयार छ भन्नुभयो, यसमा तपाईँ धन्यवादको पात्र हुनुहुन्छ । तर तपार्इँकै भाषामा जबसम्म प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु हुन्न तबसम्म प्रतिष्ठान हुनुको अर्थ हुँदैन । हो, तपाईँले बोलेकै भाषालाई व्यवहारमा लागू गर्न स्वास्थ्य मन्त्रालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोग र प्रतिष्ठान व्यवस्थापनको सहकार्य हुनुपर्ने होइन र ? सचिवज्यू, तपाईँ फेरि दाङ आउनुभयो भने शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने गरी आउनु होला ।
त्यसो त प्रतिष्ठानको पाचौँ वार्षिकोत्सवको अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, लमही नगरपालिकाका मेयर जोगराज चौधरीलगायतले वार्षिकोत्सवको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अस्पतालका सिनेट सदस्य एवम् जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा विशेष कारणबस उपस्थित हुन नसकेकाले लिखित शुभकामना मन्तव्य दिएको आयोजकले उद्घोष गरेका थिए । सो अवसरमा अस्पतालका निर्देशक डा. प्रज्ञा बस्नेतले अस्पतालले दिइरहेका सेवा सुविधाका विषयमा जानकारी गराउँदै अतिथिहरूलाई स्वागत गरेकी थिइन् ।
सो अवसरमा वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले आयोजना गरेका विभिन्न खेलकुद एवम् मनोरञ्जनात्मक प्रतियोगिताका सहभागीलाई धन्यवाद सहित विजयीहरूलाई पुरस्कार र सम्मान–पत्र दिइएको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका डा बम डिसी र डा विभूति शर्माले गरेका थिए । वार्षिकोत्सव समारोहमा विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।