पालिका-पालिकावीचको सम्बन्ध बिच्छेद गर्न पास पनि रोकेका छौं : प्रजिअ रिजाल

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपालमा पनि लकडाउन घोषणा गरिएको छ । अबस्था नियन्त्रण भित्र नभएका कारण सरकारले तेस्रो पटक लकडाउन लागु गर्ने निर्णय गरेको छ । चैत ११ देखि सुरु भएको लकडाउन बैशाख ३ गतेसम्मका लागि लम्व्याइएको छ ।

सामाजिक दूरी कायम गर्नका लागि र संक्रमीसंग अरु कसैको भेट नगराउनका लागि लकडाउन लगाइएतको भएता पनि यसको पूर्ण कार्यान्वयनका सन्दर्भमा भने पूर्ण सन्तुष्ट हुने अबस्था छैन ।
जिल्ला आपतकालिन सञ्चालन केन्द्रका अनुसार दाङमा चैत यता हालसम्म जिल्लामा ३ हजार ६ सय ३६ जना भारतलगायत तेश्रो देशबाट मानिसहरु आएका छन् । उनीहरु मध्य अधिकांस व्यक्तिहरु घरपरिवारसँगै बसिरहेका छन । जसले गर्दा जिल्लामा कोरोनाको उच्च जोखिम रहेको देखिन्छ । तर, सरकारले बाहिरबाट आउनेसबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै आएको छ । पछिल्लो पटक त एउटा पालिकावाट अर्को पालिकामा जान पनि पूर्ण निशेध गर्ने सरकारी नीति छ । यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन जिल्लामा कस्तो तयारी गरिरहेको छ भन्ने सन्दर्भमा गोरक्षकर्मी लिलाधर वलीले प्रमुख जिल्ला अधिकारी गोविन्द्रसाद रिजालसंग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।

लकडाउनलाई कडाइ गर्ने सन्दर्भमा सरकारले बनाएको रणनीति कार्यान्वयका सन्दर्भमा जिल्लामा कस्तो तयारी भैरहेको छ ?

दाङमा कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन उच्च सतर्कता अपनाएका छौं । कोरोनाको संक्रमणलाई फैलन नदिन देश अहिले लकडाउनको अवस्थामा छ । जसले गर्दा अधिकांश मानिसहरु घरमै रहनुभएको छ । हामीले पनि जिल्लामा नागरिकहरुलाई घरबाहिर नआउन आग्रह गरिरहेका छौं । छिमेकी देशभारत वा अन्य देशबाट फर्किएका नागरिकहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं । त्यसमध्य केही व्यक्तिलाई क्वारेन्टाइनमा राखेका छौ भने अधिकांस नागरिक होम क्वारेन्टाइनका रुपमा घरमै बस्नुभएको छ ।
दाङ भारतसँग जोडिएको जिल्ला पनि भएकाले नाकामा थप कडाई गरेका छौँ । सरकारले लकडाउन घोषणा गर्नुपूर्व नै नाकबन्द घोषणा गरेका थियांै । तर पछिल्लो समय सुरक्षाकर्मी नभएको नाकाक्षेत्रबाट मानिसहरु नेपाल प्रवेश गरेको जानकारी आएपछि थप चार नाकामा सोमबारदेखि सुरक्षा बल थपेका छौँ । जसले गर्दा लुकीछिपी रुपमा भारतबाट प्रवेश गर्ने काम रोकिन्छ अव ।
त्यससँगै विभिन्न सचेतना मुलक सन्देशहरु बजाउने काम गरेका छौँ । नियमित सावुन पानीले हात धुने, सेनेटाइजर, माक्सको प्रयोग गर्र्ने, हात नमिलाउन, ठुलो संख्यामा भेला वा जमघट नगर्नसमेत आग्रह गर्दै आएका छौँ । कसैलाई कोरोनाको आशंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा उपचारका लागि आउन समेत आग्रह गरेका छौँ ।

दाङमा विदेशबाट फर्किएका धेरै भएपनि क्वारेन्टाइनमा बसेको देखिदैन किन होला त ?

चैत महिना लागेपछि भारतलगायत अन्य देशबाट गएर ठूलो संख्यामा मानिसहरु जिल्लामा भित्रनुभएको छ । उहाँहरु क्वारेन्टाइनमा बस्नुभएको छ । जस मध्य कोही व्यक्तिहरु पालिकाले बनाएको क्वारेन्टाइनमा हुनुहुन्छ भने अधिकांस व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्नुभएको छ । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको हिजोसम्मको तथ्याङक अनुसार भारतलगायत विभिन्न देशहरुबाट ३६ बढि मानिसहरु आउनुभएको देखिन्छ । त्यस मध्य करिव १०५ जनाभन्दा बढि लकडाउन लागु भैसकेपछि भित्रिएका छन् । लकडाउन घोषणा भैसकेपछि आएका अधिकांस मानिसहरुलाई क्वारेन्टाइनमा र केही संक्रमण देखिएका व्यक्तिहरुलाई आइसोलेन्समा राख्ने काम गरेका छौं । बाँकी व्यक्तिहरु घरमै होम सेल्फ क्वारेन्टाइनमा बस्नुभएको छ । स्थानीय तहले बनाएको क्वारेन्टाइनमा नबसेको देखिए पनि क्वारेन्टाइनमा बस्ने संख्या पनि धेरै छ ।

लकडाउनका कारण प्राय मानिसहर घरमै हुनुहुन्छ । अत्यावश्यक काम बाहेक अन्य कामका लागि मानिसहरु बाहिर निस्कनुभएको छैन । त्यसैमा केही दिन अघि बसेको मन्त्रि परिषद्को बैठकले एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नदिने निर्णय गरेपछि त्यसलाई पालना गर्नका लागि दाङमा सुरु गरेका छौँ ।

कैलालीमा भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिएसँगै दाङमा पनि भारतबाट आएका मानिसहरुलाई अनिवार्य क्वारेन्टाइनमा बसाल्नुपर्ने देखियो । यसका लागि जिल्लामा के योजना बनाउनुभएको छ ?

अहिले पनि केही व्यक्तिहरु क्वारेन्टाइनमै हुनुहुन्छ । दाङमा चैत महिनायता भित्रिएका ३६ सय मानिस मध्य अधिकांस मानिसहरु लकडाउन घोषणा हुनुभन्दा पहिले नै आइसकेको देखिनुहुन्छ । जसले गर्दा उहाँहरु करिव ११–१२ दिन क्वारेन्टाइनमा बसि सक्नुभएको छ । सरकारले बाहिरबाट आएका कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्ने भनेको छ । यो हिसावले उहाँहरुहरुलाई अव क्वारेन्टाइनमा ल्याउनुपर्ने अवस्था देखिदैन । तर लकडाउन घोषणा भैसकेपछि जिल्लामा एक सय ५ जना नागरिकहरु भित्रिएका छन् । उनीहरुलाई सके हामिले बनाएका क्वारेन्टाइनमा नभए होम क्वारेन्टाइनमा बसाल्न स्थानीय तहमार्फत आग्रह गरेका छौँ । त्यही मध्य करिव ५०–६० जना क्वारेन्टाइनमा बस्नुभएको छ । बाँकी होम क्वारेन्टाइनमा हुनुहुन्छ । आजभोली पनि कोही बाहिरबाट आउने गरेका छन् भने त्यस्ता व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई भनेका छौँ । त्यसमा सम्वन्धीत व्यक्ति पनि सचेत हुन आवश्यक छ । विदेशबाट फर्किएका व्यक्तिहरुको समस्या देखिए स्वास्थ्य संस्थामा आउन समेत आग्रह गरेका छौँ ।

केही दिन पहिले बसेको मन्त्री परिषदको बैठकले लकडाउनलाई थप कडाई गर्दै एक प्रदेशबाट अर्काे प्रदेशमा, एउटा स्थानीय तहबाट अर्काे स्थानीय तहको आवातआवात रोक्ने भनेको थियो । जिल्लामा पालिका–पालिकाविचको सम्वन्ध बिच्छेद गर्न कस्तो रणनीति बनाउँदै हुनुहुन्छ ?

लकडाउनका कारण प्राय मानिसहर घरमै हुनुहुन्छ । अत्यावश्यक काम बाहेक अन्य कामका लागि मानिसहरु बाहिर निस्कनुभएको छैन । त्यसैमा केही दिन अघि बसेको मन्त्रि परिषद्को बैठकले एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नदिने निर्णय गरेपछि त्यसलाई पालना गर्नका लागि दाङमा सुरु गरेका छौँ । यो निर्णय नहुँदासम्म अत्यावश्यक कामका लागि पास दिने गरेका थियौ । तर त्यो अहिले बन्द गरेका छौँ । यसले एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जाने मानिसहरुलाई रोक्ने छ । अटेरी गर्ने हिड्ने मानिसहरुलाई प्रहरीले पक्राउ गरि कारवार्हीे गर्ने काम गरिरहेको छ । थप कडा गर्नुपरे जिल्लाका दश वटै स्थानीय तहका प्रमुखहरुसँग छलफल गरेर बाँकी योजना बनाउने छौं ।

जिल्लामा नियमित रुपमा उपभोग्यबस्तुको उपलब्धताको लागि कस्तो व्यबस्था मिलाउनुभएको छ ?

जिल्लामा लकडाउनका क्रममा कुनै पनि नागरिकलाई भोकै बस्न नपरोस भन्नेमा हामी गंभिर छौं । त्यसैले लकडाउनका क्रममा दैनिक उपभोग्य बस्तुको खरिदका लागि हरेक दिन विहान ३ घण्टाको समय दिएका छौ । विहानको समयमा बढि भिडभाड हुने गरेको गुनासो आइरहेको छ । त्यही भिडभाडलाई कमी गर्नका लागि दाङ जिल्ला उद्योग बाणिज्य सघले २३ वटा गाडी र दाङ चेम्वरले ६ वटा साना सवारीसाधनमार्फत दैनिक उपभोग्य सामग्रीहरु घरसम्म पु¥याउने काम गरिरहेका छन् । जिल्ला बाहिरबाट आउने खाद्य सामग्री पनि आइरहेको छ । त्यसले गर्दा जिल्लामा खाद्यन्नको अभाव हुने अवस्था छैन ।

जिल्लामा राहत वितरणलाई कसरी मिलाउनुभएको छ ?

दैनिक मजदुरी गरेर मात्र जीविका चल्ने विपन्न वर्गका परिवारको पहिचान गर्ने काम भएको छ । स्थानीय तहमा वडा अध्यक्षको संयोजकत्वमा रहेको समितिले उक्त तथ्याङक संकलनको काम गरेको छ । समितिमा प्रहरी प्रतिनिधिसँगै वडाका अन्य सदस्यहरु समेत हुनुहुन्छ । त्यो समितिमार्फत राहत वितरण गर्दा बास्तविक विपन्न परिवारले राहत पाउन सक्छ । तर आफु खुशी वितरण गर्दा कुनै ठाउँमा राहत दोहरिन सक्ने र कुनै परिवारले नपाउने अवस्था आउन सक्ने भएकाले स्थानीय तह वा वडासँग समन्वय गरेर मात्र राहत वितरण गर्न आग्रह गरेका छौं । तर केही यता आफु खुशी राहत वितरण गरिएको गुनासो आएपछि त्यसो नगर्न आग्रह गरेका छौ । कोरोना भाइरसले त्रास सिर्जना गरेको समयमा भिडभाड, राहत वितरणका नाममा संक्रमण फैलाउने काम कसैलाई नर्गन आग्रह गर्दछु ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ल्यावसहितको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गरिने भनिएको थियो, ढिलाई किन भैरहेको छ ?

हिजोदेखि हाम्रो प्रदेशको रुपन्देहीको गहुवालीमा रहेको प्रदेशस्तरीय प्रयोगशालामा कोरोनाका परीक्षण सुरुभएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि त्यसैको तयारी भैरहेको छ । मेलै बुझेसम्म बैशाख १ गतेदेखि राप्ती स्वास्थ्य प्रतिष्ठानमा पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु हुने छ । त्यसपछि जिल्लामै धेरै व्यक्तिको स्वास्थ्य परीक्षण गर्न सकिनेछ ।

कैलालीमा कोरोना संक्रमित नागरिकसँगै दाङमा आएका भनिएका दश जना मध्य अहिलेसम्म कति जना सम्पर्कमा आएका छन् ?

कैलालीमा कोरोना संक्रमित व्यक्तिसँगै दश जना व्यक्तिहरु गैरीफन्टा नाकाबाट आएको जिल्ला प्रशासन कार्यालय कैलालीबाट सूचना प्राप्त गरेपछि हामीले सम्वन्धीत स्थानीय तहमार्फत उनीहरुको खोजी गरिहरेका छौँ । उनीहरु मध्य ७ जनाको पहिचान गरेर उनीहरुलाई बेलझुण्डीमा रहेको कोरोन विशेष अस्पतालको आइसोलेनमा राख्ने काम गरिसकेका छौं । बाँकी तीन जनाले दिएको ठेगाना अनुसार उहाँहरुलाई खोज्दा भेटिनुभएको छैन । स्थानीय तह फरक भएको हो कि ? उहाँले ठेगाना टिपाउँदा गल्ती टिपाउनुभएको हो कि ? भनेर बुझ्ने काम भैरहेको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय कैलालीसँगै दाङका अन्य स्थानीय तहसँगै सूरक्षा निकायलाई भनेर उनीको खोजी काम भैरहेको छ । पहिचान भए उहाँहरुलाई पनि आइसोलेसन लगेर स्वास्थ्य परीक्षण हुनेछ ।