बृद्ध भत्ता खाऊ, बालुवाटार जाऊ

मधुसूदन सुवेदी
यतिबेला नेपाली राजनीतिक आकाशमा केन्द्रीय निर्वाचन तथा प्रदेशको निर्वाचन आएको छ । आइरहेको छ र जताततै यसकै प्रसंग चलेको छ । नेपाली राजनीतिक आकासमा दलीय कुरा गर्दा व्यवस्थाको कुरा गर्दा, नयाँ राजनीतिको परिवर्तनका कुरा गर्दा पार्टीका कुरा गर्दा, शक्तिको कुरा गर्दा, व्यक्तिको कुरा गर्दा, कर्मको कुरा गर्दा र राजनीतिक धर्मको कुरा गर्दा यो देशको राजनीतिक यन्त्र, तन्त्र, मन्त्र, जन्त्र तथा संयन्त्र नै काम नलाग्ने भएको एकाथरि कुरा गर्छन् भने अर्काथरि राजनीति गर्ने व्यक्ति फेर्नुपर्ने कुरा गरिरहेका छन् ।

आज नेपालमा जति व्यवस्था परिवर्तन भए पनि राजनीतिक अवस्था किन ज्यूँका त्यूँ नै रह्यो ? जनतामा निराशा किन पलायो ? जनता राजनीतिबाट किन वाक्क र दिक्क भए ? राजनीतिले कुन कुन कुरामा डेलिभरी गर्न सकेन ? कैयौँ प्रश्नहरु उत्तर बिना तर्सिरहेका छन् ? हामीले देखेको, सुनेको, भोगेको तीतो यथार्थ के हो भने अस्तिदेखि हिजोसम्म र हिजोदेखि आजसम्म सिर्फ जेल खाएको, दुःख पाएको, संघर्ष गरेको, व्यवस्था परिवर्तन नगरेका भन्ने कुरालाई माग्ने भाँडो बनाएर ७० वर्ष नाघेका व्यक्तिले मात्र यो देशमा नेतृत्व तहमा बस्ने गरेको पाइयो ।

बुढो गोरुले हरियो घाँसको फाँटमा पल्केसरी हाम्रा बूढा नेता बालुवाटारको हरियो भूमि त्याग्न सकेनन् । हाम्रा बूढा नेतालाई बालुवाटार पुगेपछि जनताले के आशा गर्छन् र हामीले जनतालाई के दिनुपर्छ भन्ने जानेनन् । केवल बालुवाटारको हरियो घाँस देख्ने र त्यो घाँसमा मनपरी चर्ने मात्र सपना देखे ।

जसले गर्दा आज यो समस्या देखाप¥यो । हाम्रा बूढा गोरु जबसम्म बालुवाटारको हरियो घाँसमा चरिरहनेछन् तबसम्म हाम्रो देशको हालत जस्ताको त्यस्तै हुनेछ । यसमा दुईमत नै छैन । यदि अब यो र त्यो नाममा वा यो वा त्यो वहानामा बृद्धभत्ता खाएका, पचाएका ७० काटेका नेतालाई देशको नेतृत्व गर्न दियौँ भने हामी कहिल्यै माथि जाने छैनौँ ।

अबको मंसिर ४ गते यो बूढा गोरुहरुलाई हरियो पाटनबाट फर्काउने अभियानमा नेपाली जनता लाग्नैपर्छ । ज्ञान, सीप, हिम्मत, हैसियत, जोश, जाँगर भएका देश खाएर शेष पल्टिएका जोसिला शक्ति वा ६० वर्षसम्मका व्यक्ति र शक्तिलाई छान्न सकियो भने मात्र हाम्रो भविष्य बन्ला ।

बालुवाटार गएका छन्, वृद्धभत्ता थापेका छन् । जिभ्रो लाग्दैन, आँखाको दृष्टि बसेको छ, कानको शक्ति छैन, खैनी र सुर्ती खाएर कहाँ थुक्ने त्यो पनि थाहा छैन । ¥याल, सिगान काडेका छन् । शिव शर्माजस्तालाई देश सुम्पनु भनेको हामी लाज मान्ने कि नमान्ने ? जनताले भोट नहालेर तह लगाउने हो भने त्यस्ता बूढा गोरु किन बालुवाटार छल्न जालान् र ?

यसपालिको निर्वाचनमा जनताको पक्षबाट के नारा हुनुपर्छ भने ‘भोट हाल्न जाऔँ, बूढा गोरुलाई हराऔँ ।’ यो मन्त्र जप्नैपर्छ । हामीले ज्येष्ठ नागरिक वृद्धभत्ता खाने नागरिक पाका नागरिक भोगेका नागरिकलाई सम्मान पो दिने हो तर भोट त दिने होइन नि । उनीहरुलाई सल्लाहकार बनाऔा, सम्मान देऔँ, आदर गरौँ तर काम गर्न दिने होइन । बुढो भइसकेपछि आफ्नै काढा तताउने हो तर बालुवाटारलाई नै कोठा बनाएर बस्ने होइन । बालुवाटार प्रवेश गर्ने व्यक्ति र शक्ति फलामको चिउरा चपाउनसक्ने व्यक्ति जानुपर्छ । सुपाडी टोक्न नसक्ने नेता बालुवाटार गएर हुन्छ ? हामीले पुराना नेतालाई दिनेसम्मको अवसर दियौँ तर केही हुन सकेन । अब योभन्दा बढी अवसर दियौँ भने हाम्रै पुस्ताको अपमान गर्नु हो ।

यदि कोही कसैलाई देशको अलिकति पनि माया छ भने यस्ता नेतालाई ठेगान लगाऔँ अन्यथा सबेले दुःख पाउने हो । यो तालले हुँदैन । अबको निर्वाचन देश, युवाशक्ति र जनता शक्तिमा केन्द्रित हुनुपर्छ । जनताले भोट नदिने हो भने वृद्ध नेताले आफै भोट हालेर जित्छन् । धाँधली गरेर जित्छन् । जालझेल गरेर जित्छन् । पैसाको भरमा जित्छन् । प्रलोभनको भरमा जित्छन् । डन र धनको दुरुपयोग गरेर जित्छन् । चिउरा र मासुका भरमा जित्छन् । के छ जित्ने आधार ? देशलाई के गरे ? जनतालार्य के गरे ? आज नेपालमा २०४६ सालदेखि २०७९ सालसम्म बहुदलले के ग¥यो ? यो समयको डोबमा देशमा हालीमुहाली चढाउने र चलाउने नेपाली कंग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशी पार्टी होइन ।

कहाँ छन्, आज यी पार्टी ? किन काले–काले मिलेर खाऔँ भाले भन्ने सल्लाह गर्छन् ? किन तालमेल रोज्छन् ? किन सहमति खोजिन्छन् ? गत्तिलो कामका लागि किन चाहियो, सँग र साथी ? चोर्ने, डुल्ने, लुट्ने, भुट्ने, कुट्ने, ढल्ने, बदमासीका लागि मात्र सँगसाथी, आवश्यक पर्छ । राम्रो कामको लागि र राम्रो कामबाट जस लिनको लागि तालमेल किन चाहिन्छ ? लाज नभएका बूढानेताहरु हरियो बालुवाटारमा चर्दाचर्दा दाँत खिइएर, दाँत भाँचिएर अझै पनि गिँजाको भरमा पिज्जा खाने रहर बोकेर उही बालुवाटार छिर्ने जमर्को गर्दैछन् ।

कति हैरानी हो ? गर्न नसकेपछि सम्मानजनक रुपमा विश्राम लिने हो कि होइन ? जबर्जस्ती रुपमा आफ्नो स्वार्थ, आफ्नो बाहिरी र भित्री स्वार्थ पारिवारिक स्वार्थ, नातागोताको स्वार्थ हेरेर कतिञ्जेल बालुवाटार प्रवेश गर्ने ? अब जनताको नाममा यो खबरदारीपत्र समेत मान्न आग्रह गर्दै, आगामी मंसिर ४ गते वृद्ध भत्ता खानेलाई नो भोट भन्ने याद गरौँ ।