उच्च शिक्षाका लागि विदेशिनेको लस्कर

विजय जिएम
नेपालमा ११ वटा विश्वविद्यालय छन् । हजारौँ क्याम्पस छन् । प्राविधिक शिक्षालयको कमी पनि छैन् तर शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा विदेश पढ्न जानका लािग ‘नो अब्जेक्सन लेटर’ लिन जाने विद्यार्थीहरुको ओइरो लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन विद्यार्थी भिसामा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको लस्कर देखिन्छ ।

दैनिकजसो उच्च शिक्षा अध्ययन गर्न एअरपोर्टमा विद्यार्थी भिसामा विदेश जाने विद्यार्थीहरुको संख्या हेर्दा लाग्छ नेपालमा अध्ययन गर्न विश्वविद्यालय र क्याम्पस नै छैनन् । नेपालका विश्वविद्यालय र क्याम्पसमाथि नै प्रश्नचिह्न खडा गरेको छ । एअरपोर्टमा विदेश अध्ययन गर्न जाने विद्यार्थीको घुइँचो उदेकलाग्दो छ । विदेश जाने फेशनजस्तै बनेको छ । देशले अवसर सिर्जना गर्न सकेन । फलस्वरुप उच्च शिक्षा गर्ने उद्देश्य वा कामको खोजीमा युवा पलायन हुने क्रम दिन दुई गुण, रात चौगुणा बढ्दै छ ।

कोभिडले दुई वर्षसम्म प्रभावित बनेको वैदेशिक अध्ययन सहज भएपछि विदेश अध्ययन गर्न जाने विद्यार्थी संख्यामा अत्यधिक वृद्धि भएको छ । सामाजिक सञ्जालमा विदेश अध्ययन गर्न जाने विद्यार्थीका अभिभावक र आफन्तहरुले दैनिक उच्च अध्ययन सफलताको शुभकामना दिइरहेका छन् । एअरपोर्टमा बिदाईको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् । एअरपोर्टमा विदेशिने विद्यार्थीहरुको भिडभाड छ । यो दृश्य देशको लागि शुभसंकेत होइन ।

उच्च शिक्षा अध्ययनको नाममा युवा पलायन हुँदैगर्दा देशले : man,  money र mind  गुमाइरहेको छ । देशबाट युवा जनशक्ति विदेशिरहेको छ । देशबाट अर्बौं रकम विदेश गइरहेको छ । युवा प्रतिभा पलायन भइरहेको छ । यो देशको निम्ति ठूलो क्षति हो । २०७९ साउन १ गतेदेखि २०७९ असार २७ गतेसम्ममा एक लाख १२ हजार पाँच सय २८ नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् । विदेश पढ्न जाने विद्यार्थी संख्या अझै बढ्दो क्रममा छ । यो वर्ष मात्र वैदेशिक अध्ययनमा ५९ अर्ब ९९ करोड ३४ लाख रुपैयाँ बाहिरिएको छ । वैदेशिक अध्ययन समस्याको रुपमा देखिएको छ । सरकारले समयमा नै समस्याको समाधान गर्न अग्रसर हुन जरुरी छ । अन्यथा दीर्घकालीन रुपमा झन विकराल समस्याको रुप लिने देखिन्छ ।

नेपालको शिक्षा प्रणाली अन्तर्राष्ट्रिय स्तरको छैन । विद्यार्थीहरुमा विदेश गएर उच्च शिक्षा हासिल गरेमा अन्तर्राष्ट्रिय श्रम बजारमा बिक्न सजिलो हुन्छ भन्ने बुझाइ रहेको छ । विदेशमा गएर अध्ययन गर्दा लर्निङ र अर्निङ दुवै गर्न सकिन्छ भन्ने धेरै विद्यार्थीको बुझाइ छ । नेपालको सन्दर्भमा यो कठिन छ । नेपालमा लर्निङ गर्दा अर्निङ हुँदैन । अर्निङ गर्दा लर्निङ हुँदैन । अर्निङ पनि चित्तबुझ्दो हुँदैन । पार्टटाइम जागिर पाउँदैन । नेपालमा पढ्दापढ्दै आधा जिन्दगी नै जान्छ । कहिले जागिर गर्ने, कहिले कमाउने ? जागिरको ग्यारेन्टी छैन । तनावैतनाव हुन्छ । यो यथार्थलाई अहिलेका विद्यार्थीले राम्ररी बुझेका छन् । हुन त पढ्नुको अर्थ जागिर खानु मात्र होइन तर सबैको घरको आर्थिक अवस्था बलियो नहुनसक्छ । यो अवस्थामा पढ्नु भनेको जागिर गरेर घरपरिवार पाल्नु पनि हो ।

देशको राजनीतिक अस्थिरताले गर्दा सधैँ बन्द र हडताल हुन्छ । शैक्षिक संस्थाहरु बन्द र हडतालको चपेटामा हुन्छन् । कोर्श समयमा सकिँदैन । परीक्षा समयमा सञ्चालन हुँदैन । नतिजा समयमा प्रकाशन हुँदैन । तीनवर्षे कोर्श सकिन चार÷पाँच वर्ष लाग्छ । चारवर्षे कोर्श सक्न पाँच÷छ वर्ष लाग्छ । शिक्षाको यो हविगत विद्यार्थीलाई थाहा छ । देशको हविगत विद्यार्थीलाई थाहा छ । यो दुर्दशाबाट छुट्कारा पाउन विद्यार्थीहरु विदेश पलायन हुन बाध्य छन् । सरकारसँग विद्यार्थीहरुलाई रोक्ने नीति छैन । देशका युवा जनशक्ति दिनहुँ विदेश पलायन भइरहेका छन् । बस ! सरकार रमिते बनेको छ । देशका नेताहरु समृद्धिका नारा लगाइरहेका छन् । लम्पट कार्यकर्ताहरु ताली बजाइरहेका छन् । कस्तो बिडम्बना छ ।

नेपालको शिक्षा प्रणालीले शिक्षालाई रोजगारसँग जोड्नसकेको छैन । शिक्षालाई श्रम र सीपसँग जोड्न सकेको छैन । शिक्षालाई रोजगारसँग जोड्नको लागि पाठ्यक्रम घोकन्ते र सैद्धान्तिकभन्दा व्यावहारिक र सीपमूलक हुनुपर्दछ । राष्ट्रिय पाठ्यक्रम निर्माण गर्ने काम सरकारको हो । पाठ्यक्रमअनुसार नै शैक्षिक संस्थाहरुले शिक्षा दिने हो । शिक्षित व्यक्तिहरु बेरोजगार भएर वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ ।

नेपालमा रोजगार गर्ने वातावरण पनि छैन । राजनीतिक अस्थिरताको कारणले हुने बन्द, हडताल, चन्दा आतड्ढ र राजनीतिक हस्तक्षेपले गर्दा भएका उद्योगधन्दा, कलकारखाना र व्यवसाय पनि बन्द छन् । शैक्षिक संस्थाबाट उत्पादन भएका विद्यार्थीहरुले रोजगार गर्ने ठाउँ छैन । सरकारले रोजगार सिर्जना गर्न सकेको छैन । स्वरोजगारको निम्ति लगानी गर्ने वातावरण छैन । फलस्वरुप शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाजस्ता भएका छन् । यो शैक्षिक संस्थाहरुको दोष होइन, राज्यको दोष हो ।

विदेशमा पढाइसँगै कमाई पनि छ । विद्यार्थीहरुले पढाइका साथै काम गरेर पनि राम्रै आम्दानी गरिरहेका छन् । श्रमअनुसार पैसा छ । विदेश अध्ययन गर्न गएका विद्यार्थीहरुको दुई÷चार वर्षपछि शैक्षिक योग्यतासँगै आर्थिक हैसियत पनि राम्रो भएको देखिन्छ । जीवनशैली नै फरक छ तर अपसोच नेपालमा अध्ययन गर्ने विद्यार्थीसँग शैक्षिक योग्यताको प्रमाणपत्र बाहेक कुनै आर्थिक हैसियत नै हुँदैन । शैक्षिक योग्यताअनुसार रोजगार नपाएर बेरोजगार भएर बसेको छन् । यो अवस्थाबाट मुक्त हुन विद्यार्थीहरु विदेशिन बाध्य छन् ।

विकसित देशहरुमा अध्ययन गरिरहेका विद्यार्थीले साताको केही निश्चित समय काम गर्न पाउँछन् । बिदाको समयमा पूरा काम गर्न पाउँछन् । यसले गर्दा विद्यार्थीले आर्थिक उपार्जन गर्न सक्छन् । विदेशमा पिआरसमेत पाउने भएकोले पनि विद्यार्थीहरु विदेश अध्ययनप्रति आकर्षित छन् । गुणस्तरीय शिक्षासँगै आधुनिक जीवनशैलीमा रमाउन पनि धेरै युवाले विदेशलाई गन्तव्य बनाइरहेका छन् ।

नेपाली विद्यार्थीहरु पढ्नका लागि मात्र विदेशिँदैनन् । धेरैजसो विद्यार्थी पढाइसँगै आय आर्जन गर्ने लोभले देश छाड्न बाध्य छन् । नेपालमा रहेका शैक्षिक परामर्श दातृ संस्थाको तथ्याड्ढअनुसार उच्च अध्ययन गर्न भनेर विदेश गएका विद्यार्थीमध्ये ३० प्रतिशत मात्र साच्चिकै पढ्न जाने गरेका छन् । केन्द्रीय तथ्याड्ढ व्यूरो

(२०२१) अनुसार हाल नेपालमा कूल ८६ लाख व्यक्तिले उनीहरुको योग्यता र सीपअनुसार रोजगारी पाइरहेका छैनन् । नेपालमा बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत छ । मुलुकमा प्रतिवर्ष करिब ५ लाख व्यक्ति श्रमबजारमा थपिने गर्छन् तर श्रमबजारमा आउने अधिकांश व्यक्तिले रोजगारी पाउँदैनन् । जागिर खान सोर्सफोर्स चाहिन्छ । पार्टीको कार्यकर्ता बन्नुपर्छ । इमान र जमानसँग सम्झौता गर्नुपर्छ ।

नेताहरुको घर–ढोका चाहार्नुपर्छ तर एउटा शिक्षित, योग्य, दक्ष र सक्षम व्यक्तिले चाप्लुसी गर्न सक्दैन । रोजगारको अवसर कार्यकर्ताले मात्र पाउँछन् । रोजगार दिने संघसंस्थाहरु राजनीतिक दलका भर्तीकेन्द्र भएका छन् । नेपालमा प्रतिभावान व्यक्तिले अवसर पाउँदैनन् । गलत काम गर्ने र गलत प्रवृत्तिलाई स्याबासी दिने चलन छ ।

नेपाली समाजमा विदेशमोह पनि अचम्म लाग्दो छ । अभिभावक र विद्यार्थीलाई विदेश जानु भनेको राम्रो पैसा कमाउनु हो भन्ने मानसिकता हाबी छ । विद्यार्थीहरुलाई विदेश जान प्रोत्साहन गर्न हाम्रो समाज र परिवार पनि उत्तिकै जिम्मेवार छ । समाजमा कुनै पढेको व्यतिm विदेश गयो भने उसलाई सफल व्यक्तिमा मानिन्छ । उसलाइ हेर्ने दृष्टिकोण नै फरक छ तर पढेर नेपालमा नै केही गर्न खोज्ने व्यक्तिलाई असफल व्यक्तिको दर्जा दिइन्छ ।

घरपरिवारमा पनि फलानोको छोरा विदेश गइसक्यो, यसले केही गर्न नसक्ने भयो भनेर भन्ने गरेको सुनिन्छ । समाज र परिवारले विदेश जानेलाई भाग्यमानी र स्वदेशमा बस्नेलाई अभागी भनेर ट्याग लगाउँछ । विदेश जाने प्रवृत्ति सामाजिक प्रतिष्ठाको विषय बनेको छ । छरछिमेक र साथीभाइको देखासिकीले पनि विदेश जाने लहर चलेको छ । अहिलेको खुल्ला समाजमा विद्यार्थीहरु अभिभावकसँग टाढा रहन पनि विदेश जान लालायित छन् ।

ब्रेन ड्रेन विकसित देशहरुमा समस्या छैन । विकसित देशहरुमा पनि विदेश जाने प्रचलन छ । उनीहरु विदेशमा भएका ज्ञान, सीप र प्रविधि सिक्न र अपडेट हुने उद्देश्यले विदेश जाने गर्दछन् । जब उनीहरुको उद्देश्य पूरा हुन्छ, त्यसपछि आफ्नो देश फर्कन्छन् तर नेपालजस्तो विकासोन्मुख देशहरुको लागि ब्रेन ड्रेन विकराल समस्या बनेको छ । विदेशिएका युवा नेपाल फर्कँदैनन् । उनीहरुको सोच नै विदेशमा सेटल हुनेछ । फलस्वरुप देशले उर्जाशील युवाशक्ति गुमाएको छ ।

विदेशमा उनीहरुले आर्जन गरेको ज्ञान, सीप र क्षमतालाई समेत राज्यले उपयोग गर्न सकेको छैन । विदेशमा ज्ञान, सीप आर्जन गर्न जानु नराम्रो होइन् । विदेशमा गएर अन्तर्राष्ट्रिय डिग्री हासिल गरेर विदेश बस्नु राम्रो होइन । देश र जनताले बौद्धिक व्यक्तिबाट धेरै अपेक्षा गरेको हुन्छ । देशप्रतिको कर्तव्य र जिम्मेवारीलाई बिर्सनु हुँदैन । विदेशमा आर्जन गरेको ज्ञान, सीप स्वदेशमा उपयोग गर्नुपर्दछ ।

उच्च शिक्षा अध्ययन गर्न कक्षा १२ पास हुनुपर्दछ । छात्रवृत्तिसम्बन्धी नियमावली २०६० को नियम २७ (क) बमोजिम विदेशमा उच्च शिक्षा अध्ययन गर्न न्यूनतम १० जोड २ वा सो सरह उत्तीर्ण गरी विदेशका विश्वविद्यालय वा कलेजमा उच्च शिक्षा अध्ययन गर्न जान पाउने नयाँ व्यवस्था गरिएको छ । यो प्रावधानले गर्दा कक्षा १२ पछि विदेश जानेको लहर नै चलेको छ । कक्षा १२ को परीक्षा दिइसकेपछि विद्यार्थीहरु विदेश जाने तयारी गरिरहेका हुन्छन् ।

काठमाडौंलगायत अन्य ठाउँमा भएका कन्सल्टेन्सीहरुमा आइएलटिएस, जापानीज भाषा, कोरियन भाषालगायत अन्य भाषाको तयारीमा जुट्छन् । कक्षा १२ को रिजल्ट प्रकाशनपश्चात विदेश पढ्न जाने विद्यार्थीको घुइँचो लाग्ने गरेको छ । उच्च शिक्षका लागि विदेश जाने विद्यार्थीको संख्या डरलाग्दो तरिकाले बढिरहेको तथ्याड्ढले देखाएको छ ।

अहिले विदेश जाने विद्यार्थीको संख्या हेर्दा केही समयपछि स्नातक तहमा विद्यार्थी पाउन मुस्किल हुने देखिन्छ । क्याम्पसहरु बन्द हुने अवस्था आउनसक्छ । सरकारले विद्यार्थी रोक्ने नीति ल्याउनै पर्दछ । अन्यथा नेपालको शिक्षा क्षेत्र नै तहसनहस हुने सम्भावना छ । राष्ट्रप्रति समर्पित योग्य र सक्षम जनशक्ति पाउन कठिन हुने देखिन्छ । एउटा राम्रो शिक्षक र राम्रो कर्मचारी भेटाउन गाह्रो हुने देखिन्छ ।

समाजमा दुःख–सुख पर्दा पनि युवाहरु भेट्न समस्या हुनसक्छ । सामाजिक मूल्य, मान्यता, रीतिरिवाज, भाषा, धर्म र संस्कारमा असर पर्ने देखिन्छ । विदेश पढ्न जाने विद्यार्थीको उमेर १७ देखि २५ वर्षसम्मका युवायुवती बढी रहेको शिक्षा मन्त्रालयले जनाएको छ । यो उर्जाशील र उत्पादनशील उमेर समूहका युवाहरुले विदेशमा आफ्नो प्रतिभा, उर्जा, श्रम र समय खर्चिरहेका छन् । फलस्वरुप नेपालको शिक्षा र श्रम बजारमा जनशक्तिको अभाव देखिएको छ ।

नेपालको शिक्षा प्रणालीले न विद्यार्थीकोे मन जितेको छ न अभिभावकको विश्वास जितेको छ । तसर्थ विद्यार्थीलाई वैदेशिक अध्ययन जानबाट रोक्न कलेज र विश्वविद्यालयहरुको शिक्षा प्रणालीमा सुधार आवश्यक छ । राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्दछ । देशको नेतृत्व गर्ने राजनीतिक दलहरुले नेपालमा नै बसेर राम्रो गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्दछ । राजनीतिक स्थायित्व चाहिन्छ । अन्तर्राष्ट्रिय स्तरका मापदण्ड भएका शैक्षिक संस्थाहरु निर्वाध रुपमा खोल्न दिनुपर्दछ । रोजगारको सिर्जना गर्नुपर्दछ ।

राज्यले लगानीको वातावरण निर्माण गर्नुपर्दछ । लगानीको सुरक्षाको ग्यारेन्टी दिनुपर्दछ । विदेशको सुख सुविधा मोहले पनि विद्यार्थीहरु विदेश जाने गरेका छन् । सुरक्षित भविष्य र करियरको लागि विदेशिन बाध्य छन् । बजारको मागअनुसार सीपमूलक शिक्षा आजको आवश्यकता हो । देशको आवश्यकता र बजारको मागअनुसार पाठ्यक्रम तयार गर्नुपर्दछ । युवालाई रोजगार खोज्ने होइन, रोजगार सिर्जना गर्न सक्ने वातावरण बनाउनुपर्छ । स्वदेश तथा विदेशमा अध्ययन गरेका दक्ष जनशक्तिलाई देशभित्र काम गर्ने वातावरण मिलाउनसके देश विकासमा ठूलो टेवा पुग्ने थियो । राजनीतिक नेतृत्वले कहिले बुझ्ने होला ?