गोरक्ष समाचारदाता
दाङ । दसैं मनाउन जिल्ला फर्कन र जिल्ला छोड्ने क्रम जारी छ । काम, व्यापार–व्यवसाय, शिक्षालगायतको सिलसिलामा जिल्लाका सदरमुकाम मु्ख्य बजार घोराहीसँगै तुलसीपुर, लमही र अन्य क्षेत्रमा रहेका उनीहरू दसैं मनाउन घर फर्केका छन् भने दसैं नजिकिँदै गर्दा बाहिर भएका जिल्ला आउने पनि त्यत्तिकै बढेको छ । बजारमा मानिसको भिडभाड छ भने सवारीका साधन पनि त्यत्तिकै भरिभराउ छन् ।
दसैँको अवसर पारेर बाजरहरू रङ्गिएका छन् भने किनमेल गर्नेको बजारमा चाँप त्यत्तिकै छ । जिल्लाका विभिन्न ठाउँहरूमा दसैँको शुभकामना आदानप्रदानका कार्यक्रम भइराखेका छन् । संघसंस्था तथा राजनीतिक दलहरूले कार्यक्रम गरेर दसैँको शुभकामना साटासाट गरिरहेका छन् भने सामाजिक सञ्जालमार्फत् दसैँको शुभकामना बाँडने काम पनि गरेका छन् । बालबालिका तथा युवायुवतीले चङ्गा उडाउँदै खुसी साटासाट गरेका छन् । घोराही उपमहानगरपालिका निमा हल रोडमा सजावट गरिएको छ । निमा हल क्षेत्रको बजार पूरै शृङ्गारिएको छ ।
सजावट गरिएको बजार शनिवार घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसीलगायतले निरीक्षण गर्दै दसैँको शुभकामना आदानप्रदान समेत गरेका छन् । दसैँलाई लक्षित गरेर टोल विकास संस्थाको दुई लाख रूपैयाँको लगानीमा सडकमाथि छाता र पतङ्गा टाँगिएको हो । सडकमा टिकटक बनाउन तथा फोटो खिच्न जानेहरूको त्यत्तिकै चाँप छ । नगर प्रमुख चौधरीले समाज विकास र भौतिक विकासको आधार भनेको सौन्दर्यता भएको भन्दै टोलले थालेको कामले घोराहीको सुन्दरतालाई बढाउन टेवा पु¥याएको बताए ।
ज्येष्ठ नागरिकलाई कोसेली
दसैँको अवसरमा ज्येष्ठ नागरिकलाई दसैँ कोसीली प्रदान गरिएको छ । मानवअधिकार तथा शान्ति समाजले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस पारेर दसैँ कोसेली दिएर खुसी थपेको हो । संस्थाले मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिक र आश्रित व्यक्तिहरूसँग शनिवार दसैँ मनाएको हो । आश्रममा आश्रित ६० वर्ष माथिका महिला तथा पुरुष गरी ११ जनालाई तरकारी, नून, तेल, चामल, मसलालगायतका खाद्यान्न समाजले उपलब्ध गराएको छ । ज्येष्ठ नागरिक समाजका लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारीले शान्ति समाजले ज्येष्ठ नागरिकलाई सम्मान गरेको पाउँदा खुसी लागेको बताए ।
उद्यमी–व्यवसायीको दसैँमिलन
प्रजातान्त्रिक उद्यमी संघ घोराहीले दसैँमिलन, पिक्निक एवम् उपहार कार्यक्रम गरेर दसैँ मनाएको छ । कार्यक्रम संघका अध्यक्ष कालीबहादुर खत्री मानुको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डाँगीले दसैँको शुभकामना दिँदै अहिले उद्योगी तथा व्यवसायीले विभिन्न समस्या भोग्नु परेको बताए ।
सरकारको नीतिको कारण उद्योगी तथा व्यवसायीले समस्या भोग्नुपरेको उनको भनाइ छ । राष्ट्रिय सभाका प्रमुख सचेतक अनिता देवकोटाले आर्थिक तरलताले सबै क्षेत्रमा असर पुगेको बताइन् । अहिले देखिएको तरतालाई समाधान गर्दै अगाडि बढ्नका लागि मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने विचार राखिन् ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशवरी गौतम, संघका संस्थापक अध्यक्ष हुमाकान्त अधिकारी, नेपाली कांग्रेसका महासमिति सदस्य भूपबहादुर डाँगी, क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नं २ क का सभापति प्रकाश श्रेष्ठ, २ ख का सभापति अभियान बस्नेत, नगर सभापति तिलक रावत, संघका सल्लाहकार श्यामप्रकाश सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, सचिव नरेशकुमार श्रेष्ठ, चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश उपाध्यक्ष श्रीधर महरा, जिल्ला अध्यक्ष बलदेव योगी, नगर उपाध्यक्ष दुर्लभ केसी, जिल्ला समन्वय समितिका सदस्य जुनकुमारी बुढा, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं ५ का सभापति विष्णुमणि दाहाल, तरुणदलका जिल्ला अध्यक्ष टीका घर्ती, प्राध्यापक संघका अध्यक्ष बालकृष्ण डाँगी, नेपाल शिक्षक संघका जिल्ला सचिव प्रकाश डाँगीलगायतले भनाइ राखेका थिए ।
संघका उपाध्यक्ष विश्व पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव श्रीधर धितालले गरेका थिए । कार्यक्रममा संस्थापकलाई सम्मान गरिएको थियो । कार्यक्रममा चिठ्ठा समेत खोलिएको थियो । विजेताहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
बजार प्रतिनिधिहरूको दसैँमिलन
राप्ती अञ्चल बजार प्रतिनिधि एसोसिएशन दाङले एक कार्यक्रमको आयोजना गरी दसैँमिलन गरेको छ । कार्यक्रम एसोसिएशनका अध्यक्ष केशव बुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सल्लाहकार विजयकुमार श्रेष्ठ, नवीन पौडेल, नेपबहादुर डाँगीलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण निवर्तमान अध्यक्ष दिनानाथ शर्माले गरेका थिए ।