कही नभएको राजनीतिक जात्रा

के.पी.सुवेदी
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको पाँचदलीय गठबन्धन सरकारले निर्वाचन गराउने जिम्मेवारी पाएको छ । आवधिक निर्वाचन हुने संसदीय प्रणालीको महङ्खवपूर्ण अलंकार हो, आम निर्वाचन । यसले राजनीतिक दलहरुलाई जनताप्रति जवाफदेही बनाउने र बितेको समयको मूल्याड्ढन गर्दै जनताको नयाँ र समसामयिक आदेशले उनीहरुलाई अद्यावधिक गर्ने काम गर्छ ।

निश्चित समयमा जनताको बीचमा एउटा परीक्षार्थी सरह जनमतमा उत्तीर्ण हुनुपर्ने संसदीय लोकतन्त्र अंगीकार गरेका मुलुकले संविधानद्वारा सपथ गरिसकेका कारण यसबाट दायाँबायाँ गर्ने छुट कसैलाई हुँदैन । संविधानअनुसार संसद र सरकार गठन गर्ने क्रममा एकलबहुमत नभएको अवस्थामा नीति, सिद्धान्त र कार्यक्रममा एकरुपता हुनसक्ने दलहरुको बीचमा सहकार्य हुनसक्ने अन्तर्राष्ट्रिय अभ्यास देखिन्छ । बहुमत भएर पनि सरकार चलाउन नसक्ने र अल्पमतमा परेर प्रतिपक्षी भूमिकामा रचनात्मक विरोधको सिमाना नचिन्ने राजनीतिक दल जनताबाट निर्वाचनमार्फत अस्वीकृत हुन्छन् । यो पनि लोकतन्त्रको विश्वव्यापी मान्यता हो ।

हाम्रो मुलुकका कुनै पनि राजनीतिक दलमा यो संस्कृति बस्न सकेन । पटक–पटक लोकतन्त्र अपहरणमा पर्ने र संघर्षद्वारा मुक्त गर्ने लामै शृंखला चलिरहँदा राजनीतिक सहिष्णुताको विकास हुनै पाएन । फेरि अर्को महङ्खवपूर्ण कारण निरंकुशतावादी शासक सत्तामा लामो समय बसेर दलहरुलाई फुटाउ र राज गरको सिद्धान्तअनुसार विपक्षलाई फुटाउन सबै प्रकारको उपायहरु अवलम्बन गरेका कारण राजनीतिक दलहरु विभिन्न विचार समूहमा विभक्त हुँदै एकले अर्कालाई नस्वीकार्ने संस्कारको विकास राम्ररी भयो ।

सत्तालाई अन्तिम लक्ष्य बनाउने र त्यसकै लागि ठिक–बेठिक छुट्याउन नसक्ने राजनीति सबै राजनीतिक दलमा विकास भयो । तुलनात्मक रुपमा कांंग्रेसमा भन्दा कम्युनिस्टमा देखियो । सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने सिद्धान्तबाट निर्देशित पार्टीहरुले लोकतन्त्र भन्ने पनि यस्तै हिंसात्मक भिडले जनादेश प्राप्त शासनको अन्त्य गरेर आफू सत्तामा जान सकिन्छ भन्ने चिन्तनबाट ग्रस्त हुनु धेरै अनौठो कुरा नभए पनि लोकतन्त्र स्वीकार गरिसकेपछि त्यसको न्यूनतम शर्तहरुबाट भाग्नु सरासर राजनीतिक भ्रष्टाचार हो । यसरी भ्रष्ट र पाखण्डी चरित्र अँगालेर लाज पचाउनुले राजनीतिक संस्कार बसाउने चिन्तनकै अभाव देखिन्छ । माओवादी र एमालेको मात्रै कुरा होइन नेतृत्वमा तछाड मछाड भए पनि मूल दर्शन एउटै मानिसकेपछि बहानामा लुकाएर सधैँ लुकाइरहन सम्भव छैन ।

कम्युनिस्टको निकृष्ट राजनीतिक चरित्रको भण्डाफोर गर्ने एकमात्र मुद्दा जोडतोडका साथ उठाएर जनताका बीचमा लैजाने र देशैभरि आफ्नो जनादेशले सरकार बनाएर विगतको गल्ती सच्याउँदै जनताको जीवनस्तर बदल्ने नीति बनाउन समयले माग गरिरहेको र राजनीतिक परिवेशले साथ दिइरहेको अवस्थामा खुट्टा कमाएर तिनैसँग सहकार्य नगरे डुबिन्छ भन्ने निम्नस्तरको सोच कांग्रेस नेतृवले पाल्नु दुर्भाग्यपूर्ण हो । कांग्रेस गठबन्धनबिना एमालेसँग भिड्न नसक्ने भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको सार्वजनिक अभिव्यक्ति सुनेर एमालेहरु उत्तालिएका छन् ।

सभापतिको हीन भावनाले कांग्रेस कार्यकर्ता निराशाजनक अवस्थामा छन् । किनभने कम्युनिस्टले एक अवधि पूरा सरकार चलाउन नसकेको ताजा उदाहरण अगाडि हुँदाहुँदै, उनीहरु एक ठाउँमा अट्न नसक्ने विगतमा प्रमाणित भइसदा पनि कांग्रेसलाई यति धेरै डर किन लागेको हो ? कांग्रेस शुभचिन्तकहरु यतिबेला यही प्रश्नको उत्तर खोजिरहेका छन् । मिलेर पनि छुट्टिएर काटाकाटको स्थितिमा पुगेका बेला सकिन लागेका टुक्रेलाई नबचाइ नहुने कुन राजनीति हो ।

गठबन्धनका अगुवा नेता माधव नेपालले एउटा कार्यक्रममा भने नेपालको राजनीति कांग्रेसको बिता होइन, प्रचण्डले यसैगरी घुक्र्याइराछन्, कांग्रेसले आफ्नो हैसियत नबुझेर धेरै संख्यामा अडान लिए एमालेसँग मिल्छौँ । प्रचण्डले सार्वजनिक स्थलमा कांग्रेसलाई धम्की दिइरहँदा आफू आगामी निर्वाचनमा विजयी भएर प्रधानमन्त्री हुने रे । के प्रचण्डलाई प्रधानमन्त्री बनाउन हो देशैभरि संगठन भएको पहिलो शक्तिको रुपमा स्थानीय निर्वाचनले प्रमाणित गरेको कांग्रेसले एक्लै निर्वाचन लडे पनि अपेक्षाकृत पहिलो पार्टीको हैसियत कम्तिमा हुनसक्ने विभिन्न कोणबाट अध्ययन गर्दा प्रमाणित गरिसकेको कांग्रेस आधा मुकुको नेतृत्व किन त्याग्दै छ ? यो कांग्रेस मतदाताहरुको प्रश्न हो ।

कांग्रेसले आफ्नो उम्मेदवारी नदिएका कम्युनिस्ट वा गठबन्धनका अन्यलाई दिएका संघीय क्षेत्र र प्रदेश क्षेत्रका जनताले आफ्नो संगठन कसरी गर्ने र के–का लागि गर्ने ? आधा भूभागका कार्यकर्ता अवसरबाट बञ्चित बनाउने नेतृत्वको मनलागी निर्णयको विरुद्ध विद्रोहको ज्वारभाटा छल्किरहेको छ । उता एमालेले कांग्रेस कार्यकर्तालाई खिसी गर्दैछन् । कांग्रेस अब एमालेसँग एक्लै भिड्ने हैसियतमा रहेन रे । यसरी आधाभन्दा बढी प्रतिनिधिसभा र त्यस्तै प्रतिशत प्रदेशसभा सांसदको पद गुमाउने निर्णयले प्रमुख प्रतिद्वन्द्वीलाई खुसी पार्ने निर्णय हो । यसले राजनीतिक प्रतिद्वन्द्वीता कमजोर गराउने पक्का छ । समयमा बुझे राम्रो हुन्छ ।