बालाराम खड्का
म एउटा सामान्य किसान परिवारमा जन्मेको मान्छे । मेरा बुवाआमा खेती–किसानी गर्नुहुन्थ्यो । म ३ भाइमध्ये कान्छो छोरा, म पछि ३ बहिनीहरू थिए । सुर्खेतको मालारानी गाविस ७ खरीगैरामा जन्मिएर अहिले तुलसीपुरमा सेवा थलो बनाएका तुलसीपुर ९ का वडाध्यक्ष घनश्याम ढकालले विगत सम्झँदै भने । उनले आफ्नो दाजुले कक्षा ८ पढेको बीचैमा छोडेको र माइलो दाजु शिक्षक भएको र दुइ बहिनीले पढ्नै नपाएका र एक जनाले प्लस–टु गरेको भन्दै आफूले विसं २०४८ सालमा एसएलसी पासगरेको सम्झिए ।
त्यतिबेला एसएलसी पास गर्नु भनेको ठूलै युद्ध जिते सरह हुने गरेको उनले सुनाए । ‘अहिले मैले समाजशास्त्रमा एमएड गर्दैछु तर यसको केही भ्यालु छैन, त्यतिबेला एसएलसीको किनै भ्यालु थियो’ उनले भने । ढकालले आफूहरूले आनन्द मावि सुर्खेतबाट एसएलसी पास गर्दा निकै खुसी भएको सुनाए । हामी १ सय १४ मध्येबाट७ जना मात्र पास भएका थियौँ, त्यसमा म पनि पास भएको थिएँ । मेरो पहिलो खुसी त्यही थियो, एसएलसी पास । ढकालले आफू एसएलसी पास हुँदा निकै खुसी भएको सुनाए ।
सधैँ जनताको सेवामा तल्लीन सकारात्म सोच भएका वडा नं. ९ का वडाध्यक्षमा दुई कार्यकाल विजय भएका जनताबाट दोस्रो कार्यकाल अनुमोदित ढकालले आफ्ना जीवनमा अन्य खुसीहरू भए पनि उनले पहिलो खुसी एसएलसी पास नै भएको बताए । त्यस्तै उनले आइए, बिएड पास हुँदा पनि निकै खुसी भएको सुनाए । समाजशास्त्रबाट एमए गरेका ढकालले अर्को खुसी दुई÷दुई पटक वडामा चुनाव जित्दा लागेको सुनाए ।
विसं २०७४ साल र विसं २०७९ मा वडा नं. ९ को वडाध्यक्षमा आफूलाई जनताले चुनेर पठाउँदा अर्को खुसी प्राप्त भएको सुनाए । ‘मलाई नेपाली कांग्रेसले वडा नं. ९ मा सेवा गर्ने अवसर दियो म त्यसमा पनि खुसी छु’, उनले भने । ढकालले ५ वर्षमा वडामा उत्कृष्ट काम गरेकै कारण फेरि पनि जनताले दोस्रो पटक अनुमोदित गरेको बताए । उनले आफू अध्यक्ष हुँदा दोघरे स्कूलको भवन निर्माण, सहरी स्वास्थ्य संस्थाको भवन, राप्ती आयुर्वेद, नमुना अटोभिलेज स्थापना, पातुखोलामा सिंचाइमन्त्री दीपक गिरीको सहयोगमा पातुखोला आरसिसी वाल निर्माण गर्न पाउँदा खुसी लागेको उनले सुनाए ।
त्यस्तै आफू अध्यक्ष हुँदा वडा नं. ९ को चुलेसेडाँडोमा राष्ट्रिय स्तरको गुम्बा निर्माण, नवदुर्गा ग्रीनपार्क, त्यस्तै विभिन्न स्थानमा पक्की सडक, सबै टोलमा पक्की नाला निर्माण र मन्त्री डिल्लीबहादुर चौधरीको सहयोगमा विभिन्न स्थानमा राधाकृष्ण मन्दिर पसिरमा पार्क निर्माणदेखि विभिन्न योजनाहरू आफूले सम्पन्न गर्न पाउँदा निकै खुसी लागेको सुनाए । त्यस्तै उनले जनताको सेवा नै आफ्नो खुसी भएको बताए ।
‘म विसं २०३९ सालमै भारतको महाश्री आश्रम गाजीयावादमा बेद पढ्न जाँदा क्लास माइन्टरको चुनावमा पनि चुनाव जितेको हुँ, म कक्षा १ देखि७ सम्म पनि माइन्टर भएको थिएँ’, उनले भने । विसं २०४६ सालमा बहुदल आएपछि नेविसंघको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका ढकालले मालारानी गाविसको नेविसंघको अध्यक्ष ५ जर्षसँगै पार्टीको सचिव भएर चलाएको भन्दै पार्टीमा आफूलाई दिएको जिम्मेवारी पूरा गर्न पाउँदा पनि खुसी लागेको सुनाए ।
विसं २०५३ सालदेखि ५७ सालसम्म तरुणदल सुर्खेतको जिल्ला सदस्य भएको र त्यसपछि माओवादीको चरमद्वन्द्वका कारण गाउँमा बस्न नसक्ने भएपछि व्यापारिक उद्देश्यले दाङमा बसाई सरेको उनी बताउँछन् । दाङ आएपछि पनि वडा नं ९ को कार्यवाहक पार्टी सभापति र १२औँ कांग्रेसको महाधिवेसनबाट क्षेत्र नं. ५ को क्षेत्रीय सचिवमा निर्वाचित भएको भन्दै उनले १३औँ महाधिवेशनमा उपसभापति भएको सुनाए । क्षेत्रीय सभापति स्वर्गीय बसन्त देवकोटाको निधनपछि आफूले करिब ४ वर्ष कार्यवाहक सभापति चलाएको र १४औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने अवसर पाएकोमा पनि खुसी व्यक्ति गरे ।
‘साथीभाइले मलाई अहिलेसम्म विश्वास गर्नुभएको छ, यसले दिएको जिम्मेवारी पूरा गर्नसक्छ भन्नुभएको छ, म त्यसैमा खुसी छु’, उनले भने । राजनीति तथा जनप्रतिनिधिसँगै कृषिमा पनि लगाव राख्ने ढकालले अर्को खुसी कृषि पेसालाई जिवन्त राख्नपाउँदा पनि खुसी लागेको सुनाए । ‘हाम्रो बुउबाजेले कृषि कर्म नै गर्नुहुन्थ्यो, अहिले कृषि क्षेत्रलाई सबैले छोड्नुभएको छ तर मैले बाख्रा, गाईहरू अझै पनि पालेको छु’, उनले भने ।
ढकालले पहिलो पटक आफूले दाङमा जर्सीगाई भित्राएको बताए । विसं २०५५ सालमा जर्सीगाई र २०७० सालमा साढे ३ लाख हालेर अस्टे«लियाबाट बोयर बोका भित्राएको भन्दै दाङमा जर्सीगाई र बोयर बोका भित्राउने पहिलो व्यक्ति आफू भएको भन्दै खुसी व्यक्त गरे । ‘मुखले मात्र कृषिमा क्रान्ति ल्याउनुपर्छ समृद्धि गर्नुपर्छ भनेर हुँदैन, सुरुवात आफैबाट गर्नुपर्छ’, उनी भन्छन् । त्यस्तै विसं २०५५ सालमै आफूले लौकाट, टर्की र फाइटर गिरिराज कुखुरा पालेको र आफूले सुरुवात गरेपछि आफ्नो सिको गरेर अरुले पनि यसको सुवात गरेको बताए ।
ढकालले घरमा छोराछोरीको प्रगति र आफूलाई परिवारले सहयोग गर्दा र सहयोग पाउँदा पनि खुसी लाग्ने गरेको सुनाए । छोरा विवाह गरेर जापान गएको र छोरी–ज्वाई पनि अष्टे«लियामा रहेको भन्दै सबैको प्रगति र उन्नतिले आफूलाई खुसी दिने गरेको ढकाल बताउँछन् । त्यस्तै उनले अर्को खुसी बेलुवाकी एक जना भण्डारी दिदीलाई सर्पले टोकेको र उनलाई बाइकमा हालेर औषधोउपचार गराइ सन्चो गराउँदा खुसी लागेको सुनाए ।
‘विसं २०५५ सालमा हो त्यतिबेला ममात्र थिएँ त्यो गाउँमा बाइक भएको, उनलाई मेरो मोटरसाइलकमा लगेर समयमै उपचार गराएँ, उनको ज्यान बच्यो’, ढकालले भने । उनले जीवन संघर्षमा खुसीसँगै दुःखका दिन पनि आएको बताए । उनले आफ्नो जन्म स्थान छोड्न पर्दा तथा आमा, ससुरा, माइली बिहिनी बित्दा भने आफू निकै दुःख लागेको सुनाए ।