नारायणप्रसाद श्रेष्ठ
आपसी सद्भाव र मित्रता कायम गरी सामाजिक सुसंस्कृतिलाई अविछिन्न गति दिएर सदाझैँ यस वर्ष २०७९ को बडादसैँ विजयादसमी हाम्रो घरआँगनमा भित्रिसकेको छ । आसुरी शक्तिको नष्ट गरी दैवीय शक्ति सत्यको विजयको रुपमा मनाइने यो पर्वले असत्यमाथि सत्यको विजयी निश्चित गरेको छ ।
समाजमा यदाकदा देखिने विकृति र विसंगतिबाट ग्रसित छाडा संस्कृतिलाई हटाइ स्वच्छ र समुन्नत आदर्श विचार संप्रेषण गर्न यो पर्वले सबैलाई प्रेरणा र हौसला दिन खोजेको छ । आपसी भाइचारा बढाइ सामाजिक आदर्श कायम गर्दै वर्षौँ विछाडपछिको मिलन, पारिवारिक जमघटसँगै सकारात्मक भाव जागृत गराएर राम्रो लाउने मीठो खाने, सद्भाव र मित्रता बढाउन यस पर्वले सबैलाई हौसाल प्रदान गर्न खोजेको छ ।
मनुष्य जीवन खुसी र आनन्दको संगम हो । यसको सफलता अहंकार र घमण्डमा होइन, मानवोचित सगुनसाकार कर्म र व्यवहारमा अडेको हुन्छ भनी शिक्षा दिँदै नारी शक्तिको आदर्शलाईसमेत यस पर्वले प्रष्ट्याउन खोजेको पाइन्छ । अरुलाई तीर्ण बराबर सम्झने प्रवृत्ति र आफूलाई सर्वेसर्वा ठान्ने स्वार्थपरक चिन्तन प्रदर्शन गर्दा भोग्नुपर्ने परिणामको उदाहरण दिँदै कसैले कसैप्रति कुदृष्टि राख्नु हुँदैन, सत्य र यथार्थवादी चिन्तनलाई अंगीकार गर्न सक्नु नै जीवनको उद्देश्य हो भनी यस पर्वले शिक्षा दिन खोजेको छ ।
आदि, सनातन सत्यभित्र रहेको यो सनातन पर्व जसले जीवन र जगतलाई आदर्श गतिउन्मुख गराउँदै सत्यवादी चरित्र निर्वाह गर्न जसरी यस पर्वले शिक्षा दिएको छ, सबैलाई आत्मचिन्तन गर्न र आफूले आफैलाई बुझी सुधार गर्न जुन किसिमको उत्प्रेरणा जगाएको छ, त्यसलाई सबैले बुझ्न जरुरी छ । सेवा र समर्पणमा आधारित कर्म नै जीवनको उद्देश्य हो र यसबाट नै मानिसले आफूलाई सभ्य र आदर्श व्यक्तिको रुपमा परिचय दिनसक्छ भन्दै विजयादशमीले सबैलाई घचघच्याउन खोजेको छ ।
त्यसैले होला यस संस्कृतिप्रति हिन्दु अनुयायीलगायत अन्य वर्ग, धर्म र संस्कृतिमा हुर्केका मानिसले पनि यसको सकारात्मक पक्षलाई अँगालेको पाइन्छ । २०७९ को विजयादशमीले सबैमा सत्बुद्धि, सतविचार र सत्यमा आधारित जीवनशैली जिउन प्रेरणा प्रदान गरोस् हार्दिक मंगलमय शुभकामना ।
समाजमा विद्यमान कुरीति र विसंगतिले ल्याएको म ठूलो तँ स्यानो, म धमी तँ गरिब, म उँच तँ नीच जस्ता विभेदकारी विचारले ग्रस्त रुढीवादी सामाजिक परम्परा हटाउन र हामी सबै एक हौँ, पहिले हामी मनुष्य हौँ, मानिस भएर हामीले मानवीय धर्म र संस्कृति तथा सामाजिक मूल्य र मान्यतालाई आदर्श गति प्रदान गरी समाजलाई आदर्शउन्मुख गराउन हामी स्वयम् लागिपर्नुपर्छ भन्ने कुराको बोध गराउँदै समुचित सामाजिक संस्कार कायम गर्न विजयादशमीले उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।
सेवा र सद्भाव, भाइचारा र मित्रता, जीवनलाई सहज गति दिने उत्तम विकल्प हुन् भन्दै गलत परम्परा र संस्कृतिलाई निर्मुल गर्न यो पर्व काशेढुङ्गा सावित हुन पुगेको छ । हुन त विविध विचारभित्र हुर्केको मानव स्वभावले यसको गरिमा र विशेषतालाई आफू अनुकूल व्याख्या गर्दै विलाषीतर्फ पनि यस पर्वलाई केन्द्रित गर्न खोजेको पाइन्छ । विविध धर्म र संस्कृति मान्ने केही गुरु कहलिएकाहरुले यसको गरिमामाथि हिलो छ्याप्ने काम गर्न नखोजेका पनि होइनन् ।
तथापि, सूर्य पूर्वबाट उदाइ पश्चिममा अस्ताउँछ भन्ने सत्यझैँ सत्य सधैँ सत्य भइरहने र असत्यको औचित्य नरहने यथार्थता यस पर्वले शिक्षा दिन खोजेको छ । घृणालाई घृणाले होइन प्रेम र पवित्र विचारले जित्न सकिन्छ भनी सुविचार प्रवाह गर्दै अरुलाई सम्मान गर्न यस पर्वले प्रेरणा दिएको छ । ठूलाबडाको आशीर्वाद लिनु हाम्रो दायित्व रहेको कुरा सम्झाएको छ । मानिसको चाहना आत्मसन्तुष्टि र प्रेम हो । यही प्राप्ति मानिसको उद्देश्य पनि हो ।
तसर्थ, यस कुरालाई मनन् गर्दै अहंकार र घमण्डले परिपोषित विचारले ल्याउने परिणामको उजागर गर्दै दैवीय शक्तिले आसुरी शक्तिलाई सहजै परास्त गर्न सक्छ भन्ने शिक्षा यस पर्वले दिन खोजेको छ । मानिसको विशिष्ट प्रतिभा भनेको उसले प्रदर्शन गर्नखोज्ने व्यवहारमा निर्भर रहने यथार्थ उजागर गर्दै अरुको सकारात्मक कर्मप्रति हार्दिक अनुमोदन गर्न र आफूभित्रको कमीकमजोरीलाई हटाउन यसले उत्प्रेरित गरेको छ ।
एउटा झुठले सयौँ झुठ उत्पादन गर्ने र जीवन पतीत हुने कुरातर्फ संकेत गर्दै जानेर वा नजानेर पनि सकारात्मक वा नकारात्मक चिन्तन गरिरहने मानिसको प्रवृत्तिप्रति सचेत गराउँदै कर्म र व्यवहारमा पवित्रता र सत्यता हुनुपर्छ भनी यसले सिकाएको छ । सत्य डक्दैन, झुठो टिक्दैन भन्नेतर्फ यसले मानिसलाई सचेतना दिन खोजेको छ ।
त्यसैले सत्य अविनाशी र अपरिवर्तनशील हुने हुँदा यही सत्यभित्र रहेर चिन्तन गर्नु पर्दछ भनी दसैँले शिक्षा दिएको छ । तसर्थ, यसलाई मनाउँदा दसैँ आयो ढोल बजाउँदै, दसैँ गयो ऋण बोकाउँदै भन्ने उखानलाई हटाउँदै दसैँ आयो प्रेम, सद्भाव र मित्रता बढायो, दसैँ गयो सामाजिक मर्यादा र जीवन दर्शन सिकाएर भन्ने उखान चरितार्थ हुने गरी पर्वलाई आफ्नो गक्षअनुसार रमेर मनाऔँ ।
दैवीय शक्तिको यथार्थसँग परिचित भइ आचरण र व्यवहारमा शुद्धता ल्याइ सँगै बाचौँ, सँगै कर्म गरौँ र सँगसँगै मोक्ष प्राप्त गरौँ भन्ने पवित्र उद्देश्य बोकी सबैले दसैँलाई ग्रहण गर्नुपर्छ । आफू एक्लोमा होइन अरुको आनन्दमा आफू आनन्दित हुने किसिमले यसलाई ग्रहण गर्नुपर्छ । श्रद्धा, समर्पण र अनुशासित आचरणबाट नै मानिसले मानिसप्रति आत्मीयता देखाउन सक्ने कुरा उद्घाटित गर्दै विजयादशमी पर्वले सत्यको विजया निश्चित हुन्छ भन्ने कुरा दर्शाउन खोजेको छ ।
त्यसैले सनातनदेखि आस्थाको प्रतीक स्वरुप मानिएको वेद शास्त्र र त्यही शास्त्रले निर्दिष्ट गरेको यो सांस्कृतिक पर्व सबैको लागि हौसला र खुसीको पर्वको रुपमा मनाउने गरिन्छ । हुन त केही समययता यस पर्वलाई मनोरञ्जनप्रधान भएर मनाउने प्रचलन पनि देखापरेको छ । सोमरसलगायत मासुजन्य खाद्यपदार्थ खाइ मात्तिने चलन पनि यदाकदा देखापरेको पाइन्छ । वास्तवमा यस्तो कार्य कति उपयुक्त छ वा छैन बहसको विषय बनेको छ । तथापि जीव हिंसा गरेर स्वार्थ पूरा गर्ने प्रचलन बढ्नु आफैमा कति राम्रो हो यो कुरा सबैले बुझ्न जरुरी छ ।
प्रत्येक प्राणीमा ईश्वरको बास हुन्छ, हामी त्यो भन्छौँ । अरुलाई पीडा दिनु पाप हो त्यो पनि हामी भन्छौँ । तर पनि हामी विवेकशील र बुद्धिजीवी हुँदा पनि जीवहत्या गरेर पापको भागीदार किन बनिरहेका छौँ ? यो प्रश्न अहिले गम्भीर भएर आएको छ । हाम्रो क्षणिक आत्मसन्तुष्टिको लागि हामी स्वयम् पापको भारी बोकिरहेका छौँ । सत्यलाई विश्वास र अविश्वासको तराजुमा तौलेर आफ्नो निहित स्वार्थको लागि हामीले कार्य गरिरहेका छौँ । तेरो र मेरो गरी ईश्वरप्रतिको विश्वास र आस्थालाई कमजोर बनाउँदैछाँे अनि भनि पनि रहन्छौँ कि हे भगवान् रक्षा गर, हे मा भगवती रक्षा गर, शरणागतको कल्याण गर ।
त्यसैले हामी पर्वसँग गाँसिएको दैवीयको शक्तिलाई मान्छौँ भने त्यसभित्रको सत्यलाई ग्रहण गर्न सिकौँ । हामी कतै पनि हिंसालाई प्रश्रय दिएको शास्त्रमा पाउँदैनौँ । आत्माभित्र लुकेको कुप्रवृत्तिको बलि देऊ, त्याग गर भनेको पाउँछौँ । त्यसैले हिंसा गर्नु पाप हो । अरुलाई अत्याचार, पापाचार गर्नु तथा भ्रष्ट आचरण गर्नु पाप हो भन्ने सम्झी पर्वलाई उत्सवको रुपमा रमेर मनाऔँ । जति पनि पर्व छन्, ती सबैले मानवीय आचरण र व्यवहारलाई शुद्धता ल्याउन निर्देशन गर्ने गरेको यथार्थ हो भनी आफूलाई प्रस्तुत गर्ने जमर्को गरौँ ।
पुण्य प्राप्त गर्नु छ भने अरुबाट होइन आफैबाट सुरु गरौँ । सत्य सधैँ एउटै रेखामा गतिशील भइरहन्छ र सत्य सधैँ सत्य नै भइरहन्छ भन्ने यथार्थ बुझी आफूलाई सत्यपथमा अग्रसर गराऔँ । विजयादशमी पर्वले यही प्रेरणा र हौसला दिएको छ । बडा दसैँले प्रशन्नताको छहारीमा शीतलताको अनुभूति गराउँदै पर्वलाई हर्षोल्लासका साथ मनाउन हामीलाई प्रेरणा दिइरहेको छ । विजयादशमी २०७९ ले आम नेपाली दाजुभाइ, दिदीबहिनीको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै सबैप्रति हार्दिक शुभकामना ।