चुनावी गठबन्धन रहर कि बाध्यता ?

विजय जिएम
सरकारले मंसिर ४ गते प्रतिनिधसभा चुनावको घोषणा गरेको छ । संसद्को आयु समाप्त भएको छ । चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुका कार्यक्रमहरु चुनाव केन्द्रित हुन थालेका छन् । यो चुनावमा सत्तारुद्ध दलहरु गठबन्धन गरेर चुनावमा जाँदैछन् । गठबन्धन दलहरुबीच सिट बाँडफाँडको लागि रस्साकस्सी चलिरहेको छ ।

नेकपा एमाले गठबन्धन नगरेर निर्वाचन क्षेत्र विशेषको आधारमा दलहरुसँग तालमेल गरेर चुनावमा जाने पक्षमा देखिएको छ । नेकपा एमाले र राप्रपा बीच गठबन्धन भयो भने कुनै अचम्म हुनुपर्ने छैन । नीति, विचार र सिद्धान्तविहीन राजनीतिक दलहरु बीचको गठबन्धनको कुनै अर्थ छैन । राजनीतिक दलहरु रहरले होइन, बाध्यताले चुनावी गठबन्धन गर्न लालायित छन् ।

गणतान्त्रिक संविधान जारी भएपछि २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धनको प्रयास गरेका थिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीचको गठबन्धन लामो समय टिक्न सकेन । फलस्वरुप संघ र प्रदेशको चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए । राजनीतिक स्थायित्व, स्थायी सरकार, देशको विकास, सुशासन र समृद्धिको आशमा जनताले २०७४ सालको चुनाबमा भोट दिएका थिए । गठबन्धन सफल पनि भयो । पार्टी एकता पनि भयो ।

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले २०७४ सालको चुनावमा पहिलो पटक बहुमत प्राप्त गरेको थियो । यो नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ६८ वर्षपछिको ऐतिहासिक जित थियो । नेकपाको नेतृत्वमा सरकार गठन भयो । जनताले कम्युनिस्ट सरकारप्रति ठूलो भरोसा र अपेक्षा राखेका थिए । सरकार गठनको सुरुवातका दिनहरुमा केही सकारात्मक कामहरु गर्ने प्रयास गरेको पनि थियो तर सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन ।

सरकारको नेतृत्व गरेको शक्तिशाली कम्युनिस्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वले सरकार सञ्चालन चुनौतीको विषय बन्यो । सरकारको काम गर्ने शैलीले सरकार दिन प्रतिदिन आलोचित हुनपुग्यो । पार्टीभित्रको किचलोले पार्टी सञ्चालन गर्न नै कठिन हुने परिस्थिति बन्यो । पार्टीको आन्तरिक झगडाको व्यवस्थापन गर्न नसकेर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष आयु भएको संसद नै विघटन गर्न पछि परेनन् । नेकपाभित्र तीव्र विवाद सुरु भयो । नेकपाभित्र र बाहिर संसद् विघटनको तीव्र विरोध भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्ध राजनीतिक दलहरुले आन्दोलन नै गरेका थिए ।

सर्वोच्च अदालतले केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै संसद् पुनःस्थापन गरेको थियो । प्रचण्डलाई पार्टीको अस्तित्व रक्षा गर्नु थियो भने केपी ओलीलाई शक्तिशाली बहुमत प्राप्त कम्युनिस्ट पार्टीको प्रधानमन्त्री बन्नु थियो । दुवै नेताको स्वार्थ मिलेको थियो । पार्टी एकता नाटक मञ्चन थियो भन्ने तथ्य अहिले व्यवहारले स्पष्ट पारेको छ । कुनै वृहत कम्युनिस्ट पार्टीको निर्माण गर्नको लागि पार्टी एकीकरण भएको थिएन ।

देशको विकास, सुशासन र समृद्धिको लागि पार्टी एकीकरण भएको थिएन । पार्टीभित्रको निरन्तर टुटफुट, राजनीतिक अस्थिरता, भ्रष्टाचार, अस्थिर सरकारको कारणले जनता वाक्क–दिक्क भइसकेको समयमा प्रचण्ड र केपी ओलीले पार्टी एकताको कार्ड फालेर जनतालाई भ्रममा पार्न सफल भएका थिए । सर्वोच्च अदालतले नेकपालाई विभाजनको आदेश दियो । अन्ततः नेपाल कम्युनिस्ट पार्टी नै विभाजन भयो ।

नेकपा फुटको असर नेकपा माओवादी र एमाले दुवैलाई परेको छ । जनयुद्ध सुरुवात गर्दा सँगै मर्ने र मार्ने कसम खाएका प्रचण्डका सहयात्रीहरु एमालेमा प्रवेश गरेका छन् तर उनीहरुलाई कार्यकर्ताले भने साथ दिएका छैनन् । एमाले प्रवेश गरेका पुर्व माओवादी नेताहरु कार्यकर्ताबिनाका नेताजस्तै भएका छन् । माओवादीको जनआधार भए पनि संगठनको अवस्था भताभुङ्ग नै छ । संगठन चलायमान छैन । पार्टीका कार्यकर्ता र शुभचिन्तकहरुलाई एकीकृत बनाउन सकेको छैन ।

पार्टीका कार्यकर्ता सक्रिय छैनन् । नेताहरु सुविधाभोगी, सहरमुखी र रिल्याक्सको जीवन बिताउन व्यस्त देखिन्छन् । पार्टीका कार्यकर्ताहरुको सुख–दुःखमा साथ दिने नेता नै छैन भन्दा पनि हुन्छ । नेताहरु पार्टीका घरदैलोमा पुग्न सकिरहेका छैनन् । कार्यकर्ताले नेता खोज्नुपर्ने अवस्था देखिन्छ । सक्रिय कार्यकर्तालाई अझै सक्रिय र निष्क्रिय कार्यकर्तालाई सक्रिय बनाउने योजना नै छैन । संगठन चुस्तदुरुस्त छैन । पार्टी नेतृत्व अरु पार्टीका नेतृत्वसँग प्रतिस्पर्धा गर्नसक्ने हैसियत पनि हुनुपर्दछ । जनताले अरु पार्टीका नेतृत्वसँग तुलना गरिरहेका हुन्छन् ।

पार्टीका नेता तथा कार्यकर्ताले दुःख गर्न बिर्सिसकेको देखिन्छ । पार्टी नेतृत्व र कार्यकर्ताबीच ठूलो खाडल छ । पार्टी नेतृत्व र जनता बीच ठूलो खाडल छ । पार्टी र नेतृत्वले कार्यकर्तालाई संरक्षण गर्न सकिरहेको छैन । पार्टीले एक्लै चुनाव जित्नसक्ने अवस्था छैन । पार्टीको अस्तित्व रक्षा गर्न माओवादीलाई गठबन्धन आवश्यक छ । पार्टीको हाँगो र फेद समात्न छोडेर गठबन्धनको बैसाखी टेक्नुपर्ने बाध्यता छ । नेपाली राजनीतिमा सधैँभरि निर्णायक भूमिकामा रहन प्रचण्डको अगाडि गठबन्धनको विकल्प छैन् ।

अहिले सिङ्गो नेकपा र एमाले फुटेको छ । पार्टी फुटले एमालेलाई क्षति भएको छ । नेकपा एमाले फुटेर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेको वर्चस्व थियो तर २०७९ सालको स्थानीय तहको चुनावमा वर्चस्व गुमाएको छ । २०७४ सालको चुनावमा नेकपा माओवादी र एमाले तालमेल गरेर चुनाव लड्दा एमालेले प्रत्यक्षतर्फ ८० सित ल्याएर पहिलो पार्टी बन्न सफल भएको थियो । तर धेरै ठाउँमा माओवादी केन्द्र र एमालेका उम्मेरदवारसँग कांग्रेसका उम्मेरदवार थोरै मतले हार व्यहोरेका थिए ।

अहिले सिङ्गो नेकपा नै फुटेको छ । नेकपा मात्र होइन, एमाले पनि फुटेको छ । अहिले नेकपा र एमाले फुटेको अवस्थामा आउँदो चुनावमा बहुमत आउँछ भन्नु दिवा सपनाजस्तै हो । अहिलेको चुनावी पद्धतिले कुनै पनि दलको बहुमत आउन कठिन छ । जनता र कार्यकर्तालाई हौसाउनको लागि भाषण गर्नु एउटा कुरा होला तर धरातलीय यथार्थ फरक छ ।

देशको राजनीतिक धरातलीय यथार्थलाई बदल्न निकै चुनौतीपूर्ण छ । एमालेको लागि सत्तापक्ष दलहरु बीचको चुनावी गठबन्धन मुख्य बाधक बनेको छ । स्थानीय चुनावमा सत्तापक्ष दलहरु बीचको चुनाबी गठबन्धनको कारण एमालेलाई धक्का लागेको छ । पहिलो दलबाट दोस्रो दल बनेको यथार्थ एमालेसामू छ ।

अहिले देशव्यापी रुपमा एमाले चुनावको तीव्र तयारीमा छ । चुनाव केन्द्रित कार्यक्रम गरिरहेको छ । पार्टीका कार्यकर्ता संगठन विस्तार र निर्माण गर्न सहर र गाउँकेन्द्रित कार्यक्रम गरिरहेका छन् । पार्टीका कार्यकर्ता सामाजिक सञ्जालदेखि सार्वजनिक सभा र सम्मेलनहरुमा निकै सक्रिय देखिन्छन् । संगठन चलायमान र व्यवस्थित छ । पार्टीमा कार्यकर्ताहरुमा एक किसिमको जोश जाँगर छ ।

पार्टी प्रशिक्षणदेखि संगठन निर्माणमा आक्रमक तरिकाले लागेको देखिन्छ । पार्टीले समय–समयमा दिने प्रशिक्षणले नेता र कार्यकर्तामा उर्जा प्रदान गर्दछ । पार्टीले गर्ने सभासम्मेलनले पार्टी र संगठनलाई चलायमान बनाउँछ । नेता र कार्यकर्ता वैचारिक रुपमा पोख्त हुन्छन् । नेता र कार्यकर्ता पार्टीप्रति समर्पित हुन्छन् । अन्य दलका नेता र कार्यकर्तालाई पार्टीमा प्रवेश गराइरहेको छ । पार्टीमा आउने वातावरण बनाउँदैछ ।

पार्टीलाई युवादेखि वृद्धसम्मलाई आकर्षणको केन्द्र बनाउन साम, दाम र दण्डको अस्त्र प्रयोग गरिरहेको छ । पार्टीका नेता तथा कार्यकर्ता एकढिक्का भएर चुनावको तीव्र तयारीमा देखिन्छन् । सत्तापक्ष दलहरुभित्रको अन्तरद्वन्द्व र गठबन्धनप्रतिको तीव्र असन्तुष्टिको कारण चुनावी नतिजा एमालेको पक्षमा हुने प्रवल सम्भावना छ ।

कांग्रेसभित्र धेरै कांग्रेसको जन्म भएको छ । कांग्रेस गुटको शिकार भएको छ । शेरबहादुर देउवा र शेखर कोइराला गुटबीचको टकरावले कांग्रेस भताभुङ्गको अवस्थामा छ । दुवै गुट उत्तिकै बलियो देखिन्छन् । एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नसकेको देखिँदैन । एकले अर्कालाई कमजोर बनाउने अवस्था पनि छैन । एउटा गुटले अर्को गुटलाई निस्तेज नै गर्नसक्ने अवस्था छैन । पार्टीभित्र पार्टीको नीति, विचार र सिद्धान्तको द्वन्द्वभन्दा पनि नेतृत्व बीचको नितान्त व्यक्तिगत र स्वार्थगत द्वन्द्व छ ।

कांग्रेस पार्टीभित्र प्रजातन्त्रको नाममा छाडातन्त्र हाबी भएको छ । प्रजातान्त्रिक अभ्यासलाई कांग्रेस नेतृत्वले गलत तरिकाले प्रयोग गरिरहेका छन् । गुटभित्र पनि गुट र उपगुट छ । गुट उपगुटभित्र नेता छन् । कांग्रेस वास्तवमा नेतृत्वविहीन अवस्थामा छ । गिरिजाप्रसाद कोइरालापछि कांग्रेसमा नेतृत्वको खडेरी देखिन्छ । कांग्रेसभित्र नेता को हो ? चिन्नै कठिन छ । पार्टीका नेता र कार्यकर्तालाई एकढिक्का बनाएर लैजानसक्ने नेतृत्वको अभाव छ । पार्टीभित्र जबरजस्त रुपमा दुईवटा शक्तिको टकरावले संगठन निकै कमजोर भएको छ ।

पार्टीको आन्तरिक चुनावदेखि स्थानीय र संघीय चुनावमा एकले अर्कोलाई हराउन भूमिका खेलेको देखिन्छ । कांग्रेसभित्र जबसम्म गुटको अन्त्य हुँदैन तबसम्म कांग्रेस पार्टी पनि बन्दैन । तत्काल कांग्रेसभित्रको गुटको अन्त्य हुने सम्भावना न्यून छ । सांगठनिक संरचना अत्यन्त कमजोर छ । संगठन चलायमान छैन । कांग्रेस पार्टी र भ्रातृ संगठनहरु चुनावकेन्द्रित मात्र छन् । स्थानीय तहमा सत्तारुद्ध दलबीच चुनावी गठबन्धन गरेर पहिलो पार्टी बन्न सफल नेपाली कांग्रेस आगामी प्रतिनिधिसभाको चुनावमा पनि पहिलो पार्टी बन्न आतुर छ ।

तर गठबन्धनको कारण आफ्नो भाग खोसिएका असन्तुष्ट कांग्रेस नेता तथा कार्यकर्ताहरु गठबन्धन विरुद्ध छन् । तसर्थ, कांग्रेसले पार्टीभित्रका असन्तुष्ट पक्षलाई व्यवस्थापन गर्न सकेन भने पहिलो पार्टी बन्ने सम्भावना कम देखिन्छ । २०७४ सालको चुनावमा एमाले र माओवादीबीचको चुनावी गठबन्धनको नतिजाको कारण धेरै समय सत्ता बाहिर रहेको पीडा पनि छ । नेपाली कांग्रेसलाई यदि गठबन्धन नगर्ने हो भने विगतको इतिहास दोहोरिनसक्ने डर छ । नेपाली कांग्रेस ठूलो पार्टी बनेर देशको नेतृत्व गर्न गठबन्धन गर्न बाध्य छ ।

नेकपा एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी भर्खर बनेको छ । पार्टीको इतिहास लामो छैन । पार्टीले अझै संगठन निर्माण गर्नसकेको छैन । पार्टीको नीति, विचार र सिद्धान्तको बारेमा स्पष्ट पार्न जनता समक्ष जानसकेको छैन । देशव्यापी रुपमा संगठन विस्तार गर्नसकेको छैन । तसर्थ, पार्टीको अस्तित्व रक्षाको लागि नेकपा (एकीकृत समाजवादी) आगामी प्रतिनिधिसभाको चुनावमा सत्तापक्ष दलहरुबीचको चुनावी गठबन्धनमा सहभागी छ । नेकपा (एकीकृत समाजवादी) ले एक्लै चुनाव जित्ने हैसियत राख्दैन तर हराउन सक्ने क्षमता छ ।

वैचारिक र सैद्धान्तिक हिसाबले नजिक दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी पार्टी एकता गर्ने उद्देश्यले २०७४ सालको प्रतिनिधिसभा चुनावमा गठबन्धन गरेका थिए । जनताले विश्वास गरेर भोट पनि दिए । एमाले र माओवादीले झण्डै दुईतिहाइ बहुमत ल्याउन सफल भएको थियो । पार्टी एकता पनि भयो तर छोटो समयमै पार्टी फुटको शिकार भयो । जनताले यो घटनालाई अत्यन्त नजिकबाट बुझेका छन् । यो घटनाले जनतालाई कुनै पनि गठबन्धनप्रति विश्वास गर्ने आधार छैन । विगतमा एमाले र माओवादी बीचको गठबन्धनजस्तै अहिलेको गठबन्धन पनि व्यक्तिगत स्वार्थ र सत्ता केन्द्रित नै छ ।

वैचारिक र सैद्धान्तिक हिसाबले भिन्न–भिन्न पृष्ठभूमि भएका पार्टीहरुको चुनावी गठबन्धनलाई जनताले विश्वास गर्न र पत्याउन गाह्रो छ । असफल र परीक्षण भइसकेका नेतृत्वलाई जिताउन जनताले गठबन्धनलाई भोट दिने आधार देखिँदैन । सरकारमा सहभागीविपरीत ध्रुवका पार्टीहरु बीचको चुनावी गठबन्धन, पार्टी–पार्टीहरु बीचको द्वन्द्व, पार्टीभित्रको गुटउपगुट र विगतमा एमाले र माओवादी बीचको गठबन्धन र पार्टी एकता तथा फुटको नमिठो अनुभवले सत्ता पक्षहरु बीचको चुनावी गठबन्धन सफल हुन कठिन छ ।

अहिले नेकपा एमाले बाहेक कुनै पनि दलले एक्लै चुनाव लड्ने आँट गरेको देखिँदैन । दलहरु ककजोर अवस्थामा छन् । सत्तापक्ष दलहरुलाई आफ्नो वर्चस्व गुम्ने खतरा छ । पार्टीभित्रको गुटउपगुटले सत्तापक्ष दलहरु जनताको बीचमा एक्लै जाने हिम्मत गर्नसकेका छैनन् । गठबन्धन दलहरुबीच सिट बाँडफाँडमा कुरा मिलेको छैन । सिटको लागि हानथाप गरिरहेका छन् । दलीय हैसियतभन्दा बढी सिटको बार्गेनिङ गरिरहेका छन् ।

सबै दलहरुको सोचाइ नै सत्ताभन्दा बाहिर बस्नु भनेको शक्तिविहीन अवस्थामा रहनु हो भन्ने छ । सत्ताभन्दा ठूलो जनता हुन् भन्ने यथार्थ बिर्सिएर सत्ता नै सबैथोक हो भन्ने भ्रममा छन् । यो सत्तास्वार्थ केन्द्रित गठबन्धनको कुनै भविष्य छैन । चुनाव जित्नको लागि गठबन्धन गर्ने तर सत्ता स्वार्थको लागि गठबन्धन फुट्ने र फुटाउने यथार्थतालाई जनताले बिर्सिएका छैनन् । यो वास्तविकता नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको चुनावी गठबन्धन, पार्टी एकता र फुटले प्रष्ट पारेको छ । देश विकास, राजनीतिक स्थायित्व र सुशासनको लागि होइन, सत्ताको लागि दलहरु गठबन्धन गर्न बाध्य छन् ।