Goraksha

National Daily

अर्को शेशनमा शैक्षिक कार्यक्रम : रजिष्ट्रार थापा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ जिल्लाको स्वास्थ्य समृद्धिको महत्वाकांक्षी अभियान हो । तात्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुमा यहाँका संघीय सांसद, नागरिक समाज, उद्योगी, व्यवसायी, राजनीतिक दल, सञ्चार क्षेत्र एवम् अधिकारकर्मीहरुको पनि अहम भूमिका रह्यो ।

यद्यपि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जुन उद्देश्यले स्थापना भएको थियो, त्यो पूरा हुनसकेको छैन । यसमा जिल्लाकै सबै सरोकारवाला निकायको ऐक्यमत हुन सकेन । सुरुआतीका केही महिना आन्दोलनमै बिते, बाँकी महिना अस्पतालको सेवा सुधारमा त अरु समय प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालनको योजना निर्माणमा । अब प्रतिष्ठानले क्रमशः गति लिन थालेको छ । गति लिनुमा कुनै एक दल, एक पदाधिकारी र एक संस्थाको हात हुनेछैन । सबैको सहकार्यले नै प्रतिष्ठानले समग्र उद्देश्य हासिल गर्ने हो ।

अहिले प्रतिष्ठानको अवस्था के छ, भावि कार्यक्रमहरु के–के छन्, कसले के भूमिका निर्वाह गरे प्रतिष्ठानले गौरबको अनुभूति गर्नसक्छ भन्ने विविध जिज्ञासाका विषयमा गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापासँग गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ, तपाईँंलार्ई गोरक्षको सातावार्तामा ।

 धन्यवाद, तपाईँ अनि हाम्रो पनि शुभेच्छुक गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि ।

 उपक्षेत्रीय अस्पताल हुँदा र प्रतिष्ठान हुँदाको स्वास्थ्य सेवामा के पृथकता ल्याउनुभयो ?

 हामीले गर्ने भनेको प्राथमिक दायित्व भनेको स्वास्थ्य सेवामा गुणस्तरीयता हो । त्यसपछि नेपाल सरकारले निःशुल्क गरेका विभिन्न कार्यक्रमलाई सहयोगी भूमिकाका रूपमा कार्यान्वयन गर्ने पनि हो । त्यस अनुरूप हामीले अस्पतालमा विशेषज्ञ सेवालाई क्रमशः विस्तार गर्दै पनि लगेका छौँ । हामीले अहिले तेह्र वडा विभाग चलाएका छौँ, विभिन्न विशेषज्ञ चिकित्सकबाट ।

अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालनमा आएको छ । आँखा, दाँत, जिरेटिक वार्ड, ओसिएमसी, पोषण पुनःस्थापन गृह, आधुनिक आकस्मिक कक्ष, आइसियु, एनआइसियु, भेण्ट्रिलेटर, सिटि–स्क्यान सेवा, हेमोडायलाइसिस सेवा, पैसा नहुनेहरूका लागि सामाजिक सेवा इकाईलगायतका सेवा दिइरहँदा हामीले बिरामीको फ्लो पनि बढिरहेको पाएका छौँ ।

अब हाम्रो प्लान भनेको एमआरआइ सेवा सञ्चालन गर्ने, न्यूरो सर्जरी, युरो सर्जरी तथा कार्डियो सर्जरीको पनि तत्काल विशेषज्ञ सेवा उपलब्ध गराउनेतर्फ हुनेछ । त्यसका लागि प्रक्रिया समेत अघि बढिसकेको मैले तपाईँकै पत्रिकामार्फत आम सेवाग्राहीलाई अवगत गराउन चाहन्छु ।

 अस्पताललाई स्तर वृद्धि गरी थप बेड बनाउन संघीय सरकार एवम् प्रदेश सरकारले पनि प्राथमिकता प्राप्त योजनामा राखेको छ । तपाईँहरूले यस तर्फको प्रक्रिया कहाँसम्म पु¥याउनुभयो ?

 हो, हामीले त प्रतिष्ठान गठन भएदेखि नै यो प्रक्रिया थालेका हौँ । विविध समस्याका कारण अहिलेसम्म प्रक्रिया अन्तिम टुङ्गोमा पुग्नसकेको छैन । हामीसँग अहिले नै २ सय बेड क्षमताको अस्पताल छ । अब हामीले थप्नुपर्ने भनेको ४ सय बेड हो । त्यसका लागि हामीले प्रोजेक्ट प्लान बनाएर स्वास्थ्य मन्त्रालयमा पठायौँ ।

स्वास्थ्य मन्त्रालयबाट पनि त्यो प्लान स्वीकृत भएर राष्ट्रिय योजना आयोगमा पुगेको छ । राष्ट्रिय योजना आयोगले अनुमोदन गरी अर्थमन्त्रालयमा पठाउन बाँकी छ । सम्भवतः योजना आयोगले हाम्रो फाइल स्वीकृत गरी अर्थमन्त्रालयमा पठाएपछि त्यो फाइललाई अर्थमन्त्रालयले अध्ययन गरेर बजेट सुनिश्चित गर्नेछ । त्यसपछि हाम्रो प्रोजेक्ट प्लानअनुसार ठेक्का प्रक्रिया अघि बढ्नेछ भन्नेमा हामी आशावादी छौँ ।

सम्भवतः यी प्रक्रियाहरू फटाफट हुनेछन् भन्नेमा हामीलाई पूर्णविश्वस्त बनाउन यहाँका राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, स्थानीय प्रशासन एवम् यहाँबाट प्रदेश सभा र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको पनि पूर्ण रूपमा साथ र सहयोग अत्यन्त जरुरी छ ।

 सबैभन्दा महत्वपूर्ण पाटो भनेको प्रतिष्ठानका लागि आवश्यक जग्गा प्राप्ति हो, यो विषयमा किन ढिलाइ भइरहेको छ ?

 हो, यस अघि जग्गा प्राप्तिका लागि प्रतिष्ठान व्यवस्थापनले धेरै प्रयास ग¥यो । जहाँ विकल्प देखिन्छन् त्यहाँ केही विरोधका आवाजहरू पनि आए तर पछिल्लो समयमा हामीले उपयुक्त विकल्प सहितको जग्गा प्राप्तिको प्रस्ताव सम्बन्धित निकायमा पठाइसकेका छौँ ।

हामीले नवलपुरमा प्राप्त गर्ने भनेको जग्गा वन क्षेत्र पनि रहेका कारण वन विभागले पनि आवश्यक प्रक्रिया खोज्नु स्वाभाविक हो । तर, अब जग्गा सहजीकरण समितिले त्यसलाई पनि अन्तिम टुङ्गोमा पु¥याउन प्रतिबद्ध छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, जिल्लाका प्रमुख राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्रलगायत सबैको सद्भाव र सहकार्यले जग्गा प्राप्तिको अभियानलाई पनि मूर्त बनाउन थालेको हामीलाई अनुभूति भएको छ ।

यहाँबाट हुने सम्पूर्ण प्रक्रियालाई पूरा गराउनका लागि मालपोत कार्यालयको पनि अहम भूमिका रहन्छ । अहिले मालपोत प्रमुख बिरामी हुनुहुन्छ, उहाँ निको हुनासाथ सबै प्रक्रियालाई फास्ट ट्रयाकबाट अघि बढाए जग्गा प्राप्तिको अभियानलाई अन्तिम टुङ्गोमा पु¥याइनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।

 प्रतिष्ठानमा त सबैको अपनत्व हुनुपथ्र्यो, तर यसमा राजनीतिक दलहरूको ऐक्यबद्ध रूपमा सहयोग नभएर राजनीति गरेको पनि देखियो नि ?

 सुरुआतीका चरणमा के–के भए हामीलाई आधिकारिक जानकारी छैन तर पछिल्लो समयमा राजनीतिक दलहरूबाट पनि हामीले निकै साथ पाएका छौँ । किनकि यो सबैको साझा समृद्धिको विषय हो । प्रतिष्ठानको उन्नयन हुनु कुनै एक राजनीतिक दलको जस होइन, यसमा सबैले सहकार्य गर्न उत्तिकै आवश्यक छ ।

यो साझा समृद्धिको अभियानलाई पूरा गर्न राजनीतिको सिद्धान्तबाट माथि उठेर सहकार्यको वातावरण सिर्जना गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । यसैले मैले फेरि पनि आग्रह गर्दछु कि यहाँका राजनेताहरूको पूर्ण साथ र सहयोग भएन भने प्रतिष्ठानले गन्तव्यमा पुग्न सक्नेछैन । मतैक्यता जाहेर गर्नु सर्वोत्तम विकल्प हो । फरक मतले प्रतिष्ठानले गति लिन सक्दैन ।

 प्रतिष्ठान सञ्चालनमा आएको पाँचौँ वर्षमा प्रवेश गरिसकेको छ । यसबीचमा शैक्षिक कार्यक्रम पनि तपाईँहरूले थाल्नुपर्ने होइन र ?

 हो, हामीले यही सेशनमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अन्तिम तयारी गरिसकेका थियौँ । प्रोफेशर नियुक्ति, लेक्चरर नियुक्ति, पाठ्यक्रम निर्माण, प्रयोगशाला निर्माण, पुस्तकालय निर्माण, लेक्चरर हल निर्माणलगायत सबै पूर्वाधार तयार गरिसकेका थियौँ तर राष्ट्रिय चिकित्सा आयोगको स्थलगत अनुगमन संयन्त्रले हामीलाई यो सेशनका लागि स्वीकृति दिएन ।

किन दिएन भन्नेमा हामी पनि आश्चर्यमा छौँ । यसमा यहाँका राजनेताहरू पनि गम्भीर हुनुहनेछ भन्नेमा हामी आशावादी छौँ । हामीले यो शैक्षिक सत्रमा बिएस्सी नर्सिङ र बिएन कार्यक्रम सञ्चालनका लागि पूर्ण तयारी गरेका थियौँ तर स्वीकृति नपाउँदा हुन सकेन । मलाई लाग्छ अर्को सेशनमा यी दुवै शैक्षिक कार्यक्रमहरू सञ्चालनमा आउनेछन् ।

त्यसपछि हामी एमडीको शैक्षिक कार्यक्रममा जानेछौँ अनि मात्र एमबिबिएस कक्षा सञ्चालन हाम्रो ध्येय हो । त्यसका लागि हामीले अझै थुप्रै भौतिक पूर्वाधारहरू निर्माण गर्नुपर्नेछ । हामी त्यसैका लागि दौडधुपमा छौँ । गुणस्तरीय स्वास्थ्य सेवा अनि गुणस्तरीय मेडिकल शिक्षा प्रतिष्ठानको गन्तव्य हो ।

 यी सबथोक गरिरहँदा तपाईँहरूलाई ठूलो आर्थिक अनुदानको पनि आवश्यक पर्छ, त्यसका लागि केही पहल भएको छ ?

 गुणस्तरीय स्वास्थ्य सेवाका लागि हामीले आफ्नै संस्थागत इनकम जेनरेट गर्नु पनि पर्नेछ । किनकि हामी पूर्ण सरकारी नभएर स्वायत्त संस्था पनि हौँ । त्यो काम गर्नका लागि हामीले बिरामीको फ्लो बढाउने हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्ष हामीले बिरामीको फ्लो पनि बढाएका छौँ ।

अर्थात् यो वर्ष कम्तिमा ६० प्रतिशत बिरामी थपिएका छन् । यसले हाम्रा स्टाफ चिकित्सकलाई पारिश्रमिकको जोहो हुनसक्छ । अन्य भौतिक निर्माणका लागि त केन्द्रीय सरकार वा दातृ निकायको सहयोग नै हो । हामीले त्यसका लागि पनि पहल निरन्तर जारी राख्ने छौँ ।

 यो समयसम्म त प्रतिष्ठानको सिनेट बस्नुपर्ने थियो तर किन ढिला भइरहेको छ ?

 हाम्रा कुलपति सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा अहिले चुनावी माहोलको व्यवस्थापनमा व्यस्त भएका कारण सिनेट सभाको समय मिलेको छैन । हामीले सिनेटमा लैजाने प्रतिवेदन निर्माणको अन्तिम तयारी गरेका छौँ । यद्यपि प्रधानमन्त्रीज्यूले अहिले समय दिने अवस्था देखिँदैन । सायद चुनावपछि मात्रै प्रतिष्ठानको सिनेटसभा हुनेछ ।