वडाध्यक्षको बारीबाट अवैध सालको चिरान काठ बरामद

दाङ,१२ असोज । देउखुरी डिभिजन वन कार्यालय लमहीले राप्ती गाउँपालिका-९ बाट अवैध सालका चिरान काठ बरामद गरेको छ ।

उक्त क्षेत्रमा अवैध काठ राखेको गोप्य सुचनाका आधारमा प्रहरी र वन अधिकारीको संयुक्त गस्ती टोलीले चौरानब्बे थान चिरान घप्पु बरामद गरेको देउखुरी डिभिजन वन कार्यालय लमहीका सुचना अधिकारी छोटेलाल चौधरीले जानकारी दिएछन् ।

राप्ती गाउँपालिका-९ का वडाध्यक्ष रिमबहादुर सुनारी मगरको बारिबाट सतहत्तर थान चिरान घप्पु र दुर्योधन घर्तीको घर नजिकै चट्टा राखेको अवस्थामा सत्ताइस थान घप्पु बरामद गरिएको डिभिजन वन कार्यालय लमहीले जानकारी दिएको छ ।

`वडाअध्यक्ष सुनारी मगरको बारिमा राष्ट्रिय वनबाट अवैध रुपमा सालको काठ काटी राखेको भन्ने हामीले सुचना पायौं´, देउखुरी डिभिजन वन कार्यालय लमहीका डिभिजन प्रमुख राजु क्षेत्रीले भने,`सुचनाकै आधारमा हाम्रो टोलीले काठ बरामद गरेको हो ।´

सबै काठ बरामद गरेर सब डिभिजन वन कार्यालय गढवामा राखेको छ । बरामद काठको बारेमा थप अनुशन्धान भैरहेको प्रमुख क्षेत्रीले जानकारी दिए । त्यसैगरी गढवा गाउँपालिकाको गोबरडिहाबाट केही थान घप्पुसहित एक जनालाई पक्राउ परेका छन ।