तुलसीपुर,११ असोज । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले दूव्र्यशनी मुक्त समाज निर्माणका लागि अभिभावक,समाज र राज्यको भूमिका नै महत्वपूर्ण रहने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ ले आयोजना गरेको स्वास्थ्य,शान्ति,सुरक्षा एवम् दुव्र्यशनी न्यूनीकरण भूमिका विषय कार्यक्रममा बोल्दै उनले अभिभावकहरुले पछिल्लो चरणमा बालबालिकाहरुको आहार,विहार, आनीबानीका विषयमा जानकारी लिन नसक्दा समाजमा दुव्र्यशनी बढ्दोक्रममा रहेको बताए ।
सभ्य समाज निर्माणका लागि अभिभावकहरु नै बढी जिम्मेवार भएर बालबालिकाहरुको आनीबानी सुधार गर्न सकिने खड्काले बताए । समाजमा लागुपदार्थ दुव्र्यशनीको विकराल समस्या सिर्जना भइरहेकाले सबैको भूमिकाबाट समाधान गर्न सकिने उनले बताए । नगरप्रमुख खड्काले सन्ततिहरुलाई संस्कारयुक्त बनाउन सकेमात्रै सभ्य समाजको परिकल्पना गर्न सकिने बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य जनप्रवर्धन शाखाका विमल केसीले आहार,विहार,निद्रा,स्वस्थ रहने विषयमा जानकारी गराएका थिए । वडाध्यक्ष धर्म वलीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।