बालाराम खड्का
तुलसीपुर, ८ असोज । स्मार्ट सिटीका साँघुरा सडकले दैनिक ट्राफिक व्यवस्थापनमा चुनौती थपेका छन् । ५ मिटरको सडकमा निर्माण सामग्री त्यहीँ छ, फुटपाथको पसल त्यहीँ, पैदल यात्रुहरू त्यसैमा हिँड्नुपर्ने बाध्यता छ । त्यसैमा हेबी सवारीका साधन र वरपर सडकमा साना–ठूला सवारीका साधनहरू अस्तव्यस्त पार्किङले दुर्घटनाको जोखिम बढाउँदै गएको छ । त्यस्तै मुख्य सडकका चोक–चोकमा रहेका खाडलले त तुलसीपुर बजार कुरूप देखिनुका साथै सबैलाई सास्ती हुने गरेको छ ।
ट्राफिकलाई यस विषयमा दैनिक टाउको दुखाइ भएको छ । विभिन्न स्थानमा निश्चित पार्किङको लागि होर्डिङबोर्ड राखिएको छ तर पार्किङको दीर्घकालीन व्यवस्थापनको सवालमा न त स्थानीय सरकार गम्भीर छ न त सरोकारवाला नै । केही दिन पहिले उपप्रमुख सहितको टोलीले बजारका मुख्य स्थानका पार्किङ स्थलहरू सुचारु गर्न भनि निर्देशन दिएको थियो ।
बजारको व्यवस्थापनको विषयमा बेला–बेलामा कुरा उठ्ने गरे पनि त्यसको दिगो व्यवस्थापन हुनसकेको छैन तर त्यही सडकमा पार्किङ व्यवस्थापनका लागि भने तुलसीपुरमा ट्राफिक प्रहरीहरू तल्लीन छन् । तुलसीपुरको मुख्य लाइनको कालोपत्रे सडकको छेउछेउमा रेखाङ्कन गरेर पार्किङ व्यवस्थापन सुरु गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख उत्तमकुमार जिसीले जानकारी दिए ।
उनले पहिलो चरणमा ‘क’ लाइनमा ट्राफिक व्यवस्थापन गर्ने र विस्तारै अन्य स्थानमा गर्ने बताए । चाडपर्व नजिकएसँगै बजारमा भिडभाड त्यत्तिकै बढेको छ त्यसमा पनि सानो सडकमा जथाभावि सवारी पार्किङ गर्दा समस्या भएपछि त्यसको व्यवस्थापनमा ट्राफिक प्रहरी लागेको छ । दौनिकजसो ट्राफिक प्रहरीहरू सडकमै ट्राफिक व्यवस्थापनमा तल्लीन हुन्छन् । तुलसीपुरको नयाँ बसपार्क क्षेत्रमा अटो व्यवस्थापनको काम भने सम्पन्न भएको छ ।
अटो व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले केही रँग किनिदिएको थियो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक उत्तमकुमार जिसीले तुलसीपुर बसपार्कको अस्तव्यस्त पार्किङलाई मार्किङ गरी व्यवस्थित गर्ने कार्यको सुरुवात गरेको भए पनि त्यसले भने पूर्णता पाउन नसकेको बताए ।
बसपार्कमा अटोका लागि पार्किङस्थल निर्धारण गरेको ट्राफिकले तुलसीपुरको ‘क’ लाइनको जेसीजचोकसम्म सडकाको छेउछाउमा पार्किङ स्थान बनाउन सुरु गरेको थियो तर रँगको अभावका कारण त्यो पनि काम रोकिएको छ । ‘हामीले पार्किङ व्यवस्थापनका लागि उपमहानगरसँग रँग माएका थियौँ, त्यो सकिएको छ, रँग नभएपछि काम पनि रोकिएको छ’, प्रमुख जिसीले भने । त्यस्तै जेव्राक्रसिङको काम भने आफूले अब केही समयमै गर्ने बताए ।
यस्तै ट्राफिक प्रहरीले पार्किङ व्यवस्थापन गरे पनि बजारका सडकका खाडलले भने दुर्घटनाको जोखिम बढाएको स्थानीय बताउँछन् । स्थानीयले तुलसीपुरका मुख्य सडकमा रहेका खाडल पुर्न नसक्ने स्थानीय सरकार तथा नेताहरूले टरिगाउँ एरपोर्टमा ठूलो जहाज बसाउनका लागि खाडल पुर्छौँ भनेर सपना देख्नु दुर्भाग्य भएको बताउँछन् । ‘मुख्य चोकको खाडल पुर्न नसक्नेले केको एयरपोर्टको खाडल पुर्नु यो सबै चुनावी हावाका कुरा हुन्’, तुलसीपुरका एक स्थानीयले भने ।
उनले तुलसीपुरको वीरेन्द्रचोक, बाहिनीचोक र वरपरका सडकहरू पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलामे हुने गरेको भन्दै त्यसतर्फ ध्यान नदिएको बताए । त्यस्तै तुलसीपुरको नयाँ बसपार्क नजिक पश्चिम जाने सडकको हालत पनि त्यस्तै भएको स्थानीय बताउँछन् । ‘पश्चिम जाने रोडमा हेर्नुहोस्, भैँसी आहाल बस्ने खाडल हुन्छ, पानी पर्दा भर्खरै गरेको कालोपत्रे उत्रिए’, स्थानीय यम शर्माले भने । उनले त्यो नदेख्ने सरकार र नेताले टरिगाउँमा एयरपोर्ट बनाउँछु भन्ने सपना देख्नु हुट्टीट्याउँले आकाश थाम्छु भनेजस्तै भएको बताए ।
नयाँ जनप्रतिनिधि निर्वाचित भएको करिब ४ महिना पूरा भए पनि उनीहरूले एउटा सिन्को नभाँचेको स्थानीयको गुनासो छ । त्यस्तै बजार मात्र होइन गाउँमा पनि अवस्था त्यस्तै भएको नागरिक बताउँछन् । ‘विकासको काम लथालिङ्ग छन्, न वडाध्यक्षले त्यसको पहल थाल्नुहुन्छ न अन्य सरोकारवालाले’, स्थानीय निमबहादुर केसीले भने ।