दाङका सडकमा राडार,गन विथ आरएससिसी

  •   
  •  

खेमराज रिजाल
तुलसीपुर, ९ असोज । चारलेन सडक निर्माणका क्रममा घोराही—तुलसीपुर सडक क्षतविक्षत भएको छ । यस्तो अवस्थामा पनि अनियन्त्रित गतिमा विभिन्न सवारीसाधनहरू चलाउँदा दुर्घटनाको जोखिम बढिरहेकाले यसको निराकरणका लागि दाङ प्रहरीले सडकमा राडार गन अर्थात गति मापन यन्त्र राखेर हरेक सवारी साधनहरूको गति मापन सुरु गरेको छ । शुक्रवार दिउँसो घोराही तुलसीपुर सडक खण्डको बेलझुण्डीमा यो परिदृश्य देखिएको थियो ।

ट्राफिक प्रहरीसँग राडर गन मात्र होइन, रोड सेक्युरिटी चेकप्वाइन्ट कन्सेप्ट (आरएससिसी)को टिम पनि सँगै छ । जसले पूर्ण सडक सुरक्षाको अनुभूति हुन सकोस् अनि सडकमा हुने आपराधिक गतिविधि पनि न्यूनीकरण हुन सकोस् । ट्राफिक प्रहरीले सवारी साधनसँग सम्बन्धित लाइसेन्स, ब्लुबुक, रोडपरमिटलगायतका कागजात हेर्नेछ भने आरएससिसीले ट्राफिक प्रहरीलाई सुरक्षा दिनुका साथै आफ्ना भिन्नै गतिविधि पनि सँगसँगै लैजानेछ ।

जिल्ला प्रहरी कार्यालयले यो अभियानलाई तुलसीपुर क्षेत्रमा मात्र नभएर घोराही तथा देउखुरी क्षेत्रमा समेत लगेर त्यहाँको सार्वजनिक सवारीको अवस्थाको निगमन गर्ने जनाएको छ । ‘खासमा यो दुर्घटना न्यूनीकरणकै अभियान हो, कुन सवारी साधन कति गतिमा गुडिरहेको छ भनेर कम्पूटराइज प्रविधिबाट यो मेसिनले प्रमाणीकरण गर्छ’, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले गोरक्षलाई भने । जिल्लामा भएका अधिकांश सडक दुर्घटनाहरूको विश्लेषण गर्दा तीव्र गतिका कारण भएको प्रहरीको ठम्याइ छ । यसैलाई व्यवस्थापन गर्न यो मेसिनको प्रयोग हुन थालेको हो ।

यस्तो उपकरण दाङ जिल्लामा एउटा मात्र छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको यो मेसिनको बजार मूल्य कम्तिमा १६ लाख रूपैयाँ पर्ने प्रहरी अधिकारीहरूले बताएका छन् । यो मेसिनले मोटरसाइकलदेखि हरेक सवारी साधनको गति रेकर्ड गरिरहेको हुन्छ । कसैले झुठ बोल्न पाउने अवस्था रहँदैन । अर्को कुरा सार्वजनिक सवारीसाधनहरू तोकिएको निर्धारीत समयमा गन्तव्यमा पनि पुग्न नितान्त जरुरी छ ।

घोराही–तुलसीपुर सार्वजनिक सवारी साधनको गन्तव्य समय कति निर्धारण गरिएको छ । त्यो समयसीमामा गन्तव्य स्थलसम्म पुग्न कति गतिमा सवारी साधन गुड्नुपर्छ भन्ने हेर्न पनि यो मेसिन उपयोगी हुने प्रहरीको भनाई थियो । हरेक सवारीसाधनहरू भार क्षमताअनुसारको गतिमा गुड्नु आवश्यक छ, त्यसको वैज्ञानिक अनुगमन यो राडार गनले गरिरहेको प्रहरी अधिकारीले बताए ।

‘अहिले सडककै दूरावस्था छ, त्यसैले ठूला र भारी सवारी साधनहरूको गति त्यति बढी देखिएन, तैपनि यस्तो सडकमा मोटरसाइकलको गति भने ७० किमी प्रतिघण्टासम्म देखियो’, चेकजाँचमा संलग्न तुलसीपुर ट्राफिक प्रहरीका राडार गन अप्रेटर डिल्ली आचार्यले भने । आफूहरूको चेकजाँचमा आरएससिसीको टिमले पनि सघाइरहने उनको अभिव्यक्ति थियो ।

भर्खरै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सरुवा भएर आएका डिएसपी पुष्प मल्ल आरएससिसीका विज्ञ पनि हुन् । उनी यहाँ आएको करिब एक महिनामै यस क्षेत्रमा आरएससिसी (पहेलो ज्याकेट लगाएका) नेपाल प्रहरीको टिम पनि सडक सुरक्षामा खटिएको छ । ‘हामीले रोड सेक्युरिटीसम्बन्धी सामान्य तालिम दिएर यहीँकै जनशक्तिलाई आरएससिसीमा खटाएका छौँ, यो अभियान निरन्तर जारी रहनेछ’, डिएसपी मल्लले गोरक्षलाई भने ।

दाङ जिल्ला पछिल्लो केही वर्षदेखि लागूऔषधको ट्रान्जिट बन्दैछ । रोल्पा, रुकुम तर्फबाट चरेस बोकेर भारत पु¥याउन खोज्ने र भारतीय सीमा बजारबाट ब्राउनसुगर सहितका लागूऔषध दाङ हुँदै अन्यत्र पठाउने गिरोह यहाँ क्रियाशील छ । प्रहरीले सुराकीका आधारमा हरेक साता दाङमा लागूऔषधका कारोबारीलाई पक्राउ गर्दै आएको पनि छ तर अब सुराकीका आधारमा मात्रै नभएर आरएससिसीको टिमले सडकमै शंकास्प्रद अपराधी तथा लागूऔषध कारोबारीको व्याग समेत खोल्न सक्नेछ । अर्थात् सवारी साधनमा राखिएका शंकास्प्रद सामग्रीहरूको पनि सो टिमले निगरानी गर्नसक्ने पनि प्रहरीले बताएको छ ।

‘हाम्रो यो अभियान दुर्घटना न्यूनीकरणसँगै आपराधिक गतिविधि गर्ने शंकास्पद व्यक्तिहरूको निगरानीसँग पनि जोडिएको छ’, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख मल्लले भने । यसमा प्रहरीले आम यातायात व्यवसायी, उद्योगी व्यवसायी तथा नागरिक समाजसँग पनि सहयोगको अपेक्षा गरेको छ । यो अभियान सञ्चालनसँगै प्रहरीले लागूऔषधका कारोबारीलाई समेत निरुत्साहित गर्ने अपेक्षा लिएको छ । साथै कुनै स्थानमा दुर्घटना गराएर वा आपराधिक घटना घटाएर भाग्नेहरूका लागि पनि राडार गन र आरएससिसीले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि ईलाका प्रहरी कार्यालय तुलसीपुरको अपेक्षा रहेको बताइएको छ ।

यसैगरी प्रहरीले पर्व नजिकिँदै आएको र निर्वाचनको मिति पनि नजिकिँदै आएको सन्दर्भमा फरक खालको सुरक्षा रणनीति ल्याउँदै छ । यसमा मापसे परीक्षण, मदिरा बेचविखनमा कडाई तथा जुवातासमा पूर्णप्रतिबन्धजस्ता रणनीति अपनाइनसक्ने जिल्ला प्रहरीका अधिकारीहरूले बताएका छन् । साथै पर्व नजिकिँदै गर्दा बसपार्क क्षेत्रमा हुने ठगी, चोरी लुटपाटलगायतको व्यवस्थापनमा पनि प्रहरीले हेल्प डेस्क स्थापनाको तयारी गरिरहेको बताइएको छ ।