नमस्ते बबई सहकारीको साधारणसभा, बचत रकमलाई उत्पादनमा लगाउन जोड

दाङ, ८ असोज । सहकारी संस्थामा बचत भएको रकमलाई उत्पादनको क्षेत्रमा परिचालन गरेर आर्थिक विकासमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । घोराही उपमहानगरपालिका–१५ मा रहेको नमस्ते बबई बचत तथा ऋण सहकारी संस्थाको २२औँं वार्षिक साधारणसभाका अवसरमा बोल्ने वक्ताले सहकारी संस्थाले बचतसँगै संकलन भएको रकमलाई उत्पादन क्षेत्रमा लगाउनुपर्नेमा जोड दिएका हुन् ।

नमस्ते बबई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अञ्जनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले सहकारी संस्थाले आफ्नो मूल्य र मान्यताअनुसार काम गर्दै सहकारीमा आबद्ध सदस्यको जीवनस्तरमा परिवर्तन ल्याउन सक्नुपर्ने बताइन् । त्यसका लागि नेतृत्वले सहकारी संस्थालाई नीति, विधि र कार्यविधिका आधारमा चलाउनुपर्ने बताइन् ।

सहकारीको नीति, विधि र मान्यताविपरीत जान खोज्दा कतिपय सहकारी संस्थाहरू जोखिममा परेको बताइन् । ‘सहकारीको नीति र विधिभन्दा बाहिर गएर सहकारी संस्थाहरू चल्न सक्दैनन्’, उपप्रमुख डिसीले भनिन्, ‘जसले गर्दा केही सहकारी संस्थाहरू बन्द भएका छन्, त्यस्तो हुन नदिनका लागि नेतृत्व समयमै सचेत हुनुपर्छ ।’ उनले घोराहीमा रहेका सहकारी संस्थाहरूलाई कसरी अघि बढाउने र त्यसका लागि स्थानीय सरकारले के–के गर्नसक्छ भनेर छिट्टै सबैलाई राखेर छलफल गरेर अघि बढ्ने बताइन् ।

वार्षिक साधारणसभामा सहकारी संस्थाका सचिव इन्द्र बुढाथोकीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रोबरबहादुर रावतले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुनिलकुमार रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष कोमलबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव इन्द्र बुढाथोकीले गरेका थिए ।

सहकारी संस्थाले साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, बालबचतकर्ता, ज्येष्ठ नागरिकलगायतलाई सम्मान गरेको छ । जसअनुसार बालबचतकर्ता प्रेरणा चौधरी, साम्रज्ञी गौतम र प्रशंसा शाह, नियमित बचतकर्ता लैहा चौधरी, मासिक बचतकर्ता सुरेश चौधरी र युवराज खनाल, दैनिक बचतकर्ता हुभेच्छा गिरी, असल ऋणी मोहन जिसी, गिरबहादुर घर्ती, बसन्ती डिसी, ज्येष्ठ नागरिक तुलसीप्रसाद शर्मा र यशोदा पौडेललाई सहकारीले सम्मान गरेको छ ।