परिवारको आवश्यकता

  •   
  •  

विनोद पोख्रेल
२०७८ बैशाख २ गते
जे भए पनि चाखले मानिसलाई प्रायः जितेकै हुन्छ । मेरो चाख सायद समसामयिक विषयमा छलफल गरेर केही निक्र्यौलमा पुग्नु नै बढी हो । त्यसका लागि विशेष र व्यक्ति आवश्यक पर्छ तर आजभोलि व्यक्तिसँगको भेटघाट पनि कम नै छ । खासगरेर समसामयिक विषयमा छलफल गर्ने व्यक्तिसँग त भेट नै हुँदैन भन्दा पनि हुन्छ । रह्यो विषयको कुरा त्यो कुरा पनि आफूले चाख राखे भेटिने हो ।

बिरामीले लामो अवधिसम्म सञ्चार माध्यमबाट अलग भएपछि अझै पहिलेको जस्तो चाख बढेकै छैन । त्यसैले होला यस्ता छलफल र निक्र्यौलले के दिन्छ र के पाइन्छ जस्तो पनि लाग्छ । हाम्रो मत जनमत हो तर जनमतको आजभोलि के महत्व हुन्छ र जस्तो पनि लाग्छ । अंग्रेजीमा भन्ने हो भने जति र जस्ता तर्क गरे पनि आफूलाई प्यासिभ बनाउनतर्फ लागेको छुजस्तो लाग्छ । यो राम्रो होइन भन्नेमा पनि विश्वस्त छु । तर पनि त्यतै लागेको छु । कुनै विषयमा केन्द्रित भएर एकल चिन्तनको भरमा पनि धेरै सोच्न, भन्न र लेख्न सकिन्छ । त्यो पनि भइरहेको छैन । कतै आफैमा हारेको जस्तो लाग्छ थालेको छ ।

हिजो लेख्दा उत्साहित थिएँ । पढेको त छैन तैपनि त्यो लेखले पनि अहिलेभन्दा सन्तुष्टि दिन सकेको छैन । बिरामी हुनुले एउटा सोच नै फेरिदिएको छ । अलि बढी बिरामी हुँदा पनि मैले केही गर्न सकेन । अर्धचेत अवस्थामा समेत पुगेँ । म कति बिरामी भएँ त्यो समेत थाहा छैन । आर्थिक, मानसिक, शारीरिकरुपमा तनाव, श्रीमती, छोराहरु, बुहारीहरु, नातिनातिनीहरु र मेरो जीवन चाहने अरुनजिकले भोगे । अहिले पनि के गर्ने के नगर्ने, के खाने, के नखाने, खाने चिज कहाँबाट ल्याउने, कहाँ खोज्ने भन्ने तनाव परिवारलाई छ । मालई जे दिन्छन् त्यही खान्छु । मैले आफ्नो लागि गरेको ठूलो काम भनेको उनीहरुले भनेको मानेको छु ।

त्यति हो ।मेरो लागि उनीहरु बढी केन्द्रित भनौ वा समय खर्च गर्ने भएका छन् । कहिले काहीँ त बरु म नभए उनीहरु स्वतन्त्र हुन्थे जस्तो लाग्छ तर आत्मबलले साथ दिएको छ । म हुनु र नहुनुको प्रभाव उनीहरुमा नपरोस् भन्ने लाग्छ । उनीहरुको प्रगतिमा म कुनै रुपमा पनि तगारो वा अल्झो नबनूँ बरु सकेसम्म सहयोगी बनूँ भन्ने इच्छा हो । त्यसमा कति सफल छु र कति असफल भन्ने कुरा अरुले मूल्यांकन गर्ने हो । अब यस्तै यस्तै सोचन बढी आउँछन् । सामाजिक, राजनैतिक विषयमा आत्मचिन्तन नगरेको हो वा अब त्यो गर्न नसक्ने भएको हो त्यो समेत आफूले बुझ्नुपर्ने भएको छ ।

यही अलमलले सबै क्षेत्रमा विकृति देखेको पो हो कि जस्तो पनि लाग्छ । मैले आत्मचिन्तनलाई अलि बढी महत्व दिन्छु । कुनै पनि विषयबारे आत्मचिन्तन नै नगरेर अरुको चिन्तनको भरमा सही वा गलत भन्न मन लाग्दैन । त्यसकारण पनि अहिले कुनै विषयले आकर्षण गर्न नसकेको होला । गतिविधिहरु सबै उस्तै छन् तर म आफू असक्षम महसुस गर्दा वित्तिकै दिन काट्न समेत के गर्ने भन्ने प्रश्न उठ्छ । मानिस आफ्नो जीवन केन्द्रित नै छ सायद । त्यसपछि मात्र समाज आदिको पालो आउँछ ।

२०७८ बैशाख ४ गते

अति शान्त परिवेश÷सडकमा फाट्टफुट्ट सवारीका साधन कुदेका छन् । पैदल कोही हिँडेकै छैन जस्तो । अघिसम्म त्यही चरो झालको टुप्पोमा थियो । अहिले त्यो पनि छैन । अलि पर तारमा एकजोडी चरा । ती पनि शान्त । केही आवाज नै छ । कहिलेकाहिँ यस्तो वातावरण मन पर्छ । कहिले यति साह्रो शान्त नभए हुन्थ्यो जस्तो पनि लाग्छ ।

त्यो पनि मेरो एकोहोरो सोच हो भन्ने पनि थाहा छ । मैले जस्तो भैदिए हुन्थ्यो भन्ने सोच्छु त्यस्तै त हुँदैन । कहिले केही हदसम्म होला, त्यतिमात्रै हो । त्यसैले प्रकृतिको आनन्द लिने भए यसले जे दिन्छ त्यसमा रमाउन सक्नुपर्छ । सूर्य पहाडभन्दा एक हात माथि पुगेको छ । आकाशमा तुँवालो छ सायद । त्यसैले सूर्य पनि अलि मधुरो जस्तो देखिन्छ । सूर्य उदाएको वा उदाउँदै गरेको हेर्न आनन्द लाग्छ । आज पनि त्यो दृश्य देखेँ । आजभोलि प्रायः यो दृश्य देख्ने गरेको छु ।

नयाँ वर्षको जोस, उत्साह, कौतुहल सबै कम हुँदै गएको छ । यसको एउटा कारण त दिनहरु बितेकोले हो । अर्को कारण कोरोनाको महामारी पनि हो । केही दिनसम्म कस्ता कस्ता औपचारिक, अनौपचारिक कार्यक्रम हुने गर्थे । तर बितेका दुईवटा नयाँ वर्षमा कमसेकम मैले एउटामा पनि भाग लिन पाएको छैन । यसपटकलाई त सकेको छैन भन्दा हुन्छ । वास्तविकता नखोजिएको पनि हो ।

प्रकृतिलाई भने कोरोनाको कुनै डर छैनजस्तो । आफ्नो समयअनुसार, आफ्नो चरित्रअनुसार उसको गतिमा पनि व्यवहारमा पनि केही फरक भएकै छैन । यो चरित्रबाट मैले के सिक्ने ? केही कसैको मतलब नराखेर आफूमै सीमित भएर जीवन बिताउने कुरा सिक्ने ? अथवा जे जस्तो पर्छ त्यो सबै चट्टानजस्तै भएर अनुभूति गर्न सिक्ने ? अथवा खाली साक्ष्ीाको रुपमा जे जति राम्रा–नराम्रा घटना, परिघटना हुन्छन्, तिनलाई नियालेर बस्ने । सबै कुरा आफ्नो निरीहताको स्वीकारोक्ति हो । केही गर्न नसक्नेले चुप लागेर बस्ने र रोगको औषधि लकडाउन भनेजस्तै हो ।

लकडाउनले रोग निको हुने भए… । हाम्रो सोच, चरित्र, आदर्श र व्यवहार कति खत्तम रहेछ भने यो त गफमा मात्रै सीमित रहेछ । आफ्ना बाबुआमा, श्रीमती, छोराछोरी आदिबाट समेत बच्नुपर्छ भन्ने सोच भएको समेत देखिए । यस कुरामा मैले गर्व गर्नुपर्छ, मेरो परिवारले म वा अन्य सदस्यसँग पनि अलग्गिएको अनुभव गर्नुपरेन । यो मेरो परिवारमा मात्रै भएको हो भनेर दावी त गर्दैन तर यस्तो व्यवहार नभएर बिरामीले दुःख पाएका घटनाहरु पनि सुनेको छु ।

त्यसमा पनि काम सकिएकाहरुलाई तीव्ररुपमा बाँच्ने इच्छा भएको देख्दा यस्तो आवश्यक नभएको समेत महसुस गरेको छु । जीवन प्यारो हुन्छ यो सत्य हो तर अरुको जीवनभन्दा मेरो प्यारो वा महत्वपूर्ण भन्ने सोचसँग म पूर्ण सहमत हुन नसकेको पनि हो ।