भाषा र संस्कृतिमा ‘बहस’

  •   
  •  

लिलाधर वली
दाङ, ८ असोज । जातजातिको भाषा, संस्कृति र इतिहासको बारेमा घोराहीमा बहस भएको छ । शुक्रवारदेखि सुरु भएको बहस शनिवारसम्म चल्नेछ । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना तथा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरलगायतको सहयोगमा सुरु भएको राष्ट्रिय सङ्गोष्ठीमा विभिन्न जातजातिसँगै सिमान्तकृ जाति चमार जातिको संस्कृतिको बारेमा विभिन्न विद्वानले कार्यपत्र प्रस्तुत गर्ने र त्यसको विविध पक्षमा बहस विमर्श गरिने भएको छ ।

कर्णाली प्रदेशको दैलेख जिल्लाको इतिहास र संस्कृतिदेखि पूर्वमा रहेका एक नम्बर प्रदेशको किराँती जातिको सांस्कृतिक आधार ‘मुन्धम’, लुम्बिनी प्रदेशमा बसोबास गर्ने थारू जातिसम्बन्धी ‘थारू लोकसंस्कृतिमा मन्त्रको अभ्याससँगै प्राचीन नेपाली कला संस्कृतिहरूमा रतिकला र चमार जातिको सांस्कृतिक जीवन बारेमा विचार विमर्श हुनेछ ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले ओझेलमा परेको कला, संस्कृति र भाषालाई संरक्षण, सम्बद्र्धनसँगै विकासका लागि राष्ट्रिय सांस्कृतिक सङ्गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘जानी–नजानी बाह्य भाषा, संस्कृतिको प्रभावले आफ्नो मौलिक संस्कार, संस्कृति, भाषा भुल्दै गएका छौ’, उपकुलपति प्राडा लामिछानेले भने, ‘यस्तो अवस्थामा नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रले आयोजना गरेको सङ्गोष्ठीले ठूलो सहयोग पु¥याउनेछ ।’

लामिछानेले नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत भाषाको अध्ययन, अध्यापन, अनुसन्धानसँगै नेपालभित्र रहेका विभिन्न भाषा, संस्कृति, परम्परा र धर्मको खोज अनुसन्धानमा सहयोग पु¥याउने काम गर्ने बताए । कुनै पनि जाति र देशको आफ्नै मौलिक संस्कृति र संस्कार रहने भन्दै उनले आफ्नो संस्कृति र संस्कार गुमाएर स्वयम् व्यक्ति र देशको पहिचान नै गुम्ने बताएका थिए । पुरानो भाषा, संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई ज्ञान दिन आवश्यकता रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने र बोलिने भाषा, संस्कार, संस्कृति र इतिहाससम्बन्धी १२ वटा कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा वृह्त छलफल गरिने भएको छ ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले विश्वविद्यालयले नेपालभित्र बसोबास गर्ने विभिन्न जातिको पहिचान, संस्कृति, परम्परा र धर्मको बारेमा अध्ययन, खोजअनुसन्धान गर्ने, सहयोग पु¥याउने काम गर्दै आएको बताए । उनले केही व्यक्तिहरूले आफ्नो देशको पहिचानलाई बिर्सिएर भाषा, संस्कृतिलाई मास्ने गरी अघि बढेको भन्दै सचेत हुन आग्रह गरेका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमख नरुलाल चौधरीले पुरानो कला, संस्कार, भाषा र संस्कृतिको संरक्षणसँगै विकासका लागि सरकारसँगै विज्ञहरूको सहयोग आवश्यक रहेको बताए । पुराना तथा लोपोन्मुख अवस्थामा पुगेका संस्कार र संस्कृतिको संरक्षण र विकास गर्ने दायित्व सरकारको भए पनि त्यसमा सम्बन्धित क्षेत्रको सहयोग आवश्यक रहेको बताएका हुन् । ‘कुनै पनि जातिको भाषा, संस्कृति र इतिहासको संरक्षण गर्ने दायित्व सरकारको हो’, नगर प्रमुख चौधरीले भने, ‘त्यसमा सरकारलाई विज्ञहरूको सहयोग आवश्यक छ ।’

सरकारले कला तथा संस्कृतिको संरक्षण र विकास गर्दै आय आर्जनसँगै रोजगारीका अवसर सिर्जना गर्नसक्ने बताए । त्यसका लागि योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताएका थिए । ‘विश्वका विभिन्न ठाउँमा त्यहाँको जातिको संस्कार, संस्कृति र भाषाको अध्ययनका लागि मानिस जाने गरेका छन्’, नगर प्रमुख चौधरीले भने, ‘नेपाल बहुभाषा र संस्कृतिको देश भएकाले कला, संस्कृति र भाषाको संरक्षण गर्नसके त्यो सम्भावना छ ।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले संस्कृतिलाई नबिगार्ने गरी परिमार्जन गरेर संरक्षण र विकास गर्न सकिने बताइन् । उनले त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर कला, संस्कृतिको विकासमा लाग्नुपर्ने बताइन् । उनले दाङको तुलसीपुर विभिन्न जातिको कला, संस्कृति र भाषाका दृष्टिले सम्भावना रहेको भन्दै उनले पश्चिम दाङमा रहेको दङ्गीशरणलाई सांस्कृतिक विविधताका रूपमा सबैको अपनत्व हुने गरी विकास गरेर अघि बढ्न आवश्यक रहेको बताएकी थिइन् ।

त्यससँगै उनले भाषा, कला, संस्कृतिको विकासका लागि तुलसीपुर उपमहानगरपालिका नेपाल संस्कृत विश्वविद्यालयसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएकी थिइन् । साथै उनले संस्कृतिलाई जोगाउने र संरक्षण गर्न सबै लाग्नुपर्ने बताइन् । कार्यक्रममा बोल्ने अन्य वक्ताले कला, संस्कृति, भाषालगायतका विषयमा छलफलसँगै नयाँ पुस्तालाई सिकाउनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

सङ्गोष्ठीको उद्घाटनसत्रमा कार्यक्रममा प्राध्यापक एवम् कार्यपत्र प्रस्तुतकर्ता माधव पोख्रेल, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । शनिवारसम्म चल्ने सङ्गोष्ठीमा प्राडा राजाराम सुवेदीले दैलेख जिल्लाको इतिहास र संस्कृति, डा. लोकनाट्यका रूपमा मनमैजुमा प्रचलित रोपाईजात्रा, डा गोविन्द आचार्यले चमार जातिको सांस्कृतिक जीवन : संक्षिप्त अवलोकन, राजेन्द्रसिंह रावलले मध्यकालीन डोटी राज्यको कर प्रणाली र विक्रममणि त्रिपाठीले अवधी फाग गीतसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

कार्यक्रममा डा भक्त राईले किराँती जातिको सांस्कृतिक आधार ‘मुन्धम’, प्राडा माधवप्रसाद पोखरेलले लुम्बिनी प्रदेशका मातृभाषाको विकास, डा शशि थापा पण्डितले प्राचीन नेपाली कला संस्कृतिहरूमा रतिकला, डा गोपाल ठाकुरले भोजपुरी लोककाव्य ‘शोभनयका बञ्जारा’ अध्ययन, अशोक थारूले थारु लोक संस्कृतिमा मन्त्रको अभ्यास, टीकाराम बुढाले हाता खेल्ने मगर जातिको युद्धकला र डा रघुनाथ नेपालले नेपाल संस्कृत विश्वविद्यालयमा धर्म दर्शनको अध्यापन परम्परा र विशिष्टाद्वैत दर्शनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सम्बन्धित विषयका विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत हुने र विषय विज्ञद्वारा टिप्पणी हुनेछ । कार्यक्रम नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष भमप्रसाद खतिवडाको अध्यक्षतामा भएको थियो । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक जर्मन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महेन्द्र भण्डारीले गरेका थिए । कार्यक्रममा साहित्यकार, कलाकारलगायतको सहभागिता छ ।