साङ्केतिक भाषालाई राज्यले चासो दिएन

गोरक्ष समाचारदाता
तुलसीपुर, ८ असोज । बहिरा अपाङ्गता भएकाले पढ्न पाउने अधिकार सरकारले सुनिश्चित गर्न नसकेको गुनासो गरेका छन् । पाँचौँ साङ्केतिक भाषा दिवसको अवसरमा तुलसीपुरमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा सहभागीले नेपालको संविधान २०७२ मा उल्लेख गरिएको मौलिक हक कार्यान्वयन हुन नसक्दा समानताको अधिकार कुण्ठित भएको बताएका हुन् । राप्ती बहिरा संघका संस्थापक अध्यक्ष अजयकुमार शर्माले साङ्केतिक भाषा अध्ययनका लागि राज्यले चासो नदिएको बताए । साङ्ककेतिक भाषामा राज्यले चासो दिनसकेको छैन, यसले अपाङ्गता त्यसमा पनि बहिराहरूलाई समस्या छ’, उनले भने ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बहिरा विद्यार्थीका लागि छात्रबास निर्माण गर्न ११ लाख बजेट विनियोजन गरिएको तर जग्गाको सुनिश्चिता हुन नसक्दा रातो किताबमा उल्लेख नगरिएको बताए । जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीले प्रत्येक विद्यार्थीले समानताको हकअनुसार पढ्न पाउने अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिइन् ।

माध्यमिक विद्यालय अश्वाराका प्रधानाध्यापक हिरालाल न्यौपानेले कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या झण्डै १ सय १५ जना रहेको जानकारी दिए । विद्यालयमा कक्षा १ देखि ७ सम्म साङ्केतिक भाषामा अध्यायपन गराउन सहज भए पनि कक्षा ८ देखि कक्षा १२ सम्म गणित, विज्ञान, अङ्ग्रेजीलगायतका विषय अध्यापन गर्ने शिक्षकमा साङ्केतिक भाषाको सीप नहुँदा समस्या हुने गरेको बताए ।

प्रधानाध्यापक न्यौपानेले विद्यालय हाताभित्र जग्गा उपलब्ध गराउन सकिने जानकारी दिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का सदस्य दामोदर न्यौपाने, पत्रकार नारायणी रजौरे, नेपाल दलित युवा संघका केन्द्रीय उपाध्यक्ष खेमराज विक, मानव अधिकार तथा शान्ति समाज दाङका सचिव अमृतप्रसाद शर्मा, नगर स्तरीय अपाङ्ग सञ्जालका तिलसरा पुन, राप्ती बहिरा संघकी रूपा विकलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण देवा डाँगी र दोभासे स्मृति योगीले गरेकी थिइन् ।