Goraksha

National Daily

‘हामी नेपाल आउने कुनै उपाए छैन र ?’

देवी भण्डारी

दाङ चैत २४ । नेपाल सरकार तथा भारतीय सरकारले लकडाउन गरेसंगै भारतमा रोजगारको लागि पुगेका नेपालीको अबस्था नाजुक बनेको छ । नेपाल फर्कने हो नाका बन्द गरिएको छ, भारतमा लकडाउन छ । यो अबस्थामा समस्यासंग जुझ्न परेको दुखेसो गुनासो त्यहाँ रहेका नेपालीहरुले गर्न थालेका छन् । लकडाउनको समय बढ्दै गर्दा बस्न, खानको पनि समस्या हुन थालेको उनीहरुले बताउछन् । ‘अब त यहाँ बस्न खान समेत नपाउने अबस्था आउँछ कि भन्ने त्रासमा रहेकाछौ’ हाल भारत गुडवंणा हरियानामा रहेका घोराही १७ चौघेराका शेषमनि भण्डारीले भने ।

उनका अनुसार हातमा पैसा हुनेका लागि केही राहत भएता पनि पैसा सकिएकाहरु निकै अप्ठ्यारोमा पर्दै छन् । ‘हातमा पैसा हुनेलाई केही राहात भएपनि भर्खर मात्र भारत पुगेका र कमाउनै नपाएकाहरुको अबस्था झन नाजुक बन्दै गएको देखेको छुँ’ भण्डारीले भने ।

भारत स्थित नेपाली दुताबासमा सम्पर्क गर्दा पनि दुतावासको फोन नउठाएकोले दुतावासले समस्या समाधान गर्ने तर्फ लाग्छ भन्ने आशा पनि मरेको भण्डारीले बताए । ‘कम्तीमा फोन उठाएर ढाढस दिए पनि हुने’ उनले भने ।

यसैगरी माडि चितवनवाट त्यहाँ पुगेका दिलिप पोखरेलले घर आउने तयारी गरेकै बेला लकडाउन भएको भन्दै ‘क्वारेनटाईनमा राखे पनि आफुहरुलाई नेपाल र्फकने बतावरण मिलाउन’ नेपाल सरकारसंग माग गरे । ‘यहाँ पनि क्वारेन्टाइन जस्तै छ, नेपाल गएर जहाँको क्वारेन्टाइनमा बस्दा पनि हुने थियो’ उनले भने,‘मिलेसम्म यस्तो व्यबस्था गरेमा धेरै नेपालीलाई ठूलो राहत हुनेथियो ।’

त्यस्तै तुल्सीपुर उपमहानगरपालिका गणेशपुरकी सुशीला पाण्डे, घोराही १२ हापुरका सहदेव भण्डारीले पनि नेपालिलाई घर र्फकने बतावरण मिलाउनका लागि पहल गरिदिने फोनमा आग्रह गरे । उनीहरुको साझा जिज्ञासा थियो, ‘हामी नेपाल आउने कुनै उपाए छैन र ?’