जन्मदिनमा शर्माको ‘बाइस तारा’ पुस्तक बिमोचन

  •   
  •  

दाङ, ४ असोज । साहित्यकार पद्मप्रसाद शर्माले आफ्नो जन्मदिनको अवसर पारेर १६औं कृति ‘बाइस तारा’ ल्याएका छन् । कृतिका लेखक शर्माको ६५औं जन्मदिनको अवसर पारेर सोमवार घोराहीमा बिमोचन गरिएको हो । प्रगतिशील लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लेखक शर्माका गुरु चेतनाथ पोख्रेल, विशिष्ट अतिथि साहित्यकार तथा पूर्व सांसद सुष्मा शर्मा घिमिरेलगायतका वक्ताहरुले पुस्तकको बिमोचन गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले दाङको साहित्यिक योगदानमा शर्माले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए । लामो समय शिक्षण पेशामा संलग्न शर्माले निरन्तर रुपमा साहित्य लेखनसँगै विकासका लागि उल्लेख्य काम गरेको बताए । साथै उनीहरुले एउटा व्यक्तिले जन्मदिनका अवसर पारेर बर्षेनी कृति प्रकाशन गर्ने महत्वपूर्ण कार्य रहेको भन्दै आगामी दिनहरु समेत निरन्तरताको कामना गरेका थिए ।

नेपाली साहित्यको विकासका लागि योगदान गर्ने विभिन्न साहित्यकाहरुको जीवनीहरुको संग्रहका रुपमा प्रकाशन गरिएको कृतिको समीक्षा साहित्यकार टीकाराम उदासीले गरेका थिए । कार्यक्रममा कृतिको समीक्षा गर्दै साहित्यकार उदासीले सांस्कृतिक चेतना, सामाजिक परिवेश र बस्तुस्थितिलाई सटिक रुपमा उठान गरिएको बताएका थिए । उनले साहित्यीक व्यक्तित्वहरुको योगदानलाई कृतिमार्फत दस्तावेजीकरण गरेको बताएका थिए ।

कार्यक्रममा प्रलेस संघका केन्द्रीय पूर्व उपाध्यक्ष शशिधर भण्डारी, प्रलेसका केन्द्रीय सदस्य रामप्रसाद जैशी, प्रलेसकै पूर्व केन्द्रीय उपाध्यक्ष केशव थापा, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, सम्मानित व्यक्तित्व विशिष्ट अतिथि लक्ष्मण प्रसाद मजगैयाँ, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पोख्रेल, सर्बोदय पुस्तकालय व्यवस्थापन समितिका सुन्दर गौतम, रेडियो मध्यपश्चिम सञ्चालक समितिका उपाध्यक्ष सुदर्शन रिजाललगायतले बोलेका थिए ।

प्रलेस दाङका सदस्य सुशीला आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रलेस दाङका सहसचिव शारदा शर्माले गरेकी थिइन । कार्यक्रममा पुस्तकका लेखक पदमप्रसाद शर्माले आफ्ना गुरु लक्ष्मणप्रसाद शर्मा मजगैयाँलाई अविर टिकासहित खादा ओढाएर सम्मान गरेका थिए ।

२०४९ सालमा पहिलो कृतिका रुपमा ‘हाम्रा सुसेली’ गीत संग्रह सहप्रकाशनका रुपमा ल्याएका शर्माले २०५८ सालमा ढिकपुरदेखि मेची पुलसम्म यात्रा संस्मरण निबन्ध, २०६० सालमा हुम्लाको झलक भूगोल इतिहास, २०६० सालमा राप्ती साहित्य परिषदको इतिहास, २०६१ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको इतिहास, २०६१ सालमा ‘शब्दको भेद र कार्यक्रमको स्वरुप’ निबन्ध संग्रह, २०६२ सालमा उपहार लघुकथा संग्रह, २०६२ सालमा जसु– अनन्त टीका आत्मकथा, २०६३ सालमा जनआन्दोलन भाग २ मा दंगाली श्रष्टाको भूमिका इतिहास, २०६५ सालमा पहलवानपुरदेखि तिलासम्म यात्रा संस्मरण निबन्ध प्रकाशन गरेका छन् ।

२०६७ सालमा ‘तर पनि अचेल छौँ’ यात्रा संस्मरण निबन्ध, २०७३ सालमा जीवनको रहस्य निबन्ध संग्रह, २०७६ सालमा ढिकपुरदेखि अर्घाखाँचीसम्म नियात्रा, २०७७ सालमा त्रिवेणी नियात्रा, २०७८ सालमा उज्यालो पर्खिरहेको क्षितिज कविता संग्रह तथा अधिकारी वंशधर नियाल्दा नामक पुस्तक निकालेका छन् । शर्माले साहित्यका विभिन्न विधामा कलम चलाउने गर्दै आएका छन् ।