सोह्र श्राद्ध घरघरमा गर्ने कि नगर्ने धरमरमा…

  •   
  •  

मधुसूदन सुवेदी
आश्विन कृष्ण पक्ष प्रतिपदा तिथिबाट आश्विन कृष्णपक्ष अमावाश्य तिथिसम्मको समयावधिलाई सोह्र श्राद्ध, पितृपक्ष वा महालय श्राद्ध वा पार्वण श्राद्ध भन्ने गरिन्छ । यो सालका पितृपक्ष गत भाद्र २६ गते आइतवारदेखि यही आश्विन महिनाको ९ गते आइतवारसम्म रहेको छ । श्राद्ध चाहे तिथि श्राद्ध होस् चाहे महालय श्राद्ध होस्, चाहे तीर्थ श्राद्ध होस् यसका बारेमा अनेकौँ ओठी भाषाको प्रयोग गरेको पाइन्छ ।

कुनै पनि कुराको सतही कुरा गरेर बुद्धिमानी ठहरिनु हुँदैन । त्यसको वैदिक मान्यता, धार्मिक मान्यता, सामाजिक मान्यता तथा भौतिक मान्यतालाई ध्यानमा राखेर सबै पक्षलाई समेट्ने गरी अर्थाउन सक्नुपर्दछ र त्यसको बारेमा निर्णय गर्नुपर्दछ । यहाँ श्राद्धलाई अनेकौँ भाषा र शैलीमा बुझाउन कोशिस गरिरहेका छन् । श्राद्ध गर्नेले शंकै शंकामा वा समाजलाई देखाउन गरिरहेका छन् भने श्राद्ध नगर्नेले के भनेका छन् भने जीवित (जिउँदो) हुँदासम्म मीठो वचनले सिन्की र भात पेटभरि खान नदिने मरिसकेपछि केको खिरको डल्लो ? यो सबै नाटक हो ।

गर्नेले जीवितमै गर्नुपर्दछ । यो भाषा सतहीमा ठीकठाक लागे पनि यो ज्यादै वज्रस्वाँठको भाषा र सोच हो । चाहे तिथि श्राद्ध होस्, चाहे महालय श्राद्ध होस्, चाहे त्यो तीर्थ श्राद्ध होस् त्यो मरेका व्यक्तिका लागि नभएर स्वयं कर्ताका लागि हो । दिवंगत आत्माको तिथि, नाम पारे तापनि दिवंगत व्यक्तिको लागि खाली श्रद्धा हो भने प्राप्त गर्ने प्रत्यक्ष फल चाहिँ स्वयं कर्ताको लागि हो । जस–जसले श्राद्ध गर्दछन्, उनैले उनकै परिवारले र उनकै समाजले त्यसबाट फल लिने गर्दछन् ।

कुनै पनि कर्ताले आफ्नो पितृका नाममा एकदिन शुद्ध खान्छ र पवित्र–चोखो रहन्छ भने त्योबाट निस्कने सकारात्मक ऊर्जा कसले पाउँछ ? एउटा कुनै कर्ताले आफ्नो पितृका नाममा २–४ घण्टा व्रत बस्दछ भने त्यसको स्वास्थ्यमा अनुकुल वातावरण कसले प्राप्त गर्दछ । कुनै पनि कर्ताले आफ्नो पितृका नाममा जल दान वा तर्पण गर्दा जलमा भएको शक्ति, गंगाजल, दही, दूध, घ्यू, चिनी, महको शक्तिले कसले स्पर्श गर्दछ र कसले पाउँदछ ? कुनै पनि कर्ताले आफ्ना पितृका नाममा अन्नदान वा सिदादान गर्दा त्यो अन्न दानको अक्षय फल कसले पाउँछ ?

एउटा कुनै कर्ताले पवित्र जौको पिठो, गाईको दूध, तिल, महसहितको पिण्ड वा पाकेको खिरलाई डल्लो पारेर आफ्ना हातले निर्मित गरेर पितृका नाममा पल्टाउँदा त्यसको गन्ध, स्वाद, शक्ति, तागत कसले ग्रहण गर्दछ ? एउटा कुनै पनि कर्ताले आफ्ना पितृका नाममा ब्राह्मण, कन्या, युवायुवती, नरनारी, बृद्धबृद्धा वा अतिथिजन, पाहुनाजन, मान्यजन, शिष्टजन, विशिष्टजनलाई सेवा सम्मान, भोजन र दक्षिणा दान गर्दा त्यसको अक्षयफल कसले प्राप्त गर्छ ? अलिकति पनि बुद्धि र विवेक छैन ? जसले गर्छ, उसले नै प्रत्यक्ष प्राप्त गर्दछ ।

नाम पितृको भए पनि काम सबै कर्ताको हो र फल प्राप्त गर्ने पनि कर्ताले नै हो । यदि कोही कसैले पितृ कार्य पितृले पाउँछन् भनेर गर्दछ र यदि कोही कसैले पितृ कार्य बाहुन मोटाउने कार्य हो भनेर गर्दछ भने त्यो नगरे पनि हुन्छ । जो प्रत्यक्ष लाभान्वित हुने कर्ता हो उसैले जान्ने कुरा के हो भने यो पितृ कार्य भनेको मेरै परिवार सुधार्नका लागि हो र मैले नै प्रत्यक्ष फल भोग्नका लागि हो । दिवंगत आत्माले मेरो श्राद्ध गर पनि भन्दैनन्, नगर पनि भन्दैनन् ।

तर जसले गर्दछ, उसको मनोबल, आत्मबल बढ्दछ र त्यसका घरमा सकारात्मक ऊर्जा थपिँदै जान्छ भने जसले पितृकर्म गर्दैन उसको परिवारमा नकारात्मक ऊर्जा बढ्दै जान्छ भने मनोबल र आत्मबल पनि घट्दै जान्छ । कुनै पनि कर्ताले आफ्ना पितृका नाममा पितृकर्म गर्दा यो पितृका लागि भन्दा पनि म र मेरा परिवारका लागि हो भन्ने ठानिए र जानिए यो पितृपक्षमा बुवाआमा हुने छोराछोरीले आफ्ना जीवित बुवाआमालाई देवताका रुपमा स्वीकार गरेर सम्मान गरोस्, भोजन गराओस् र बस्त्र तथा आभूषण किनिदेओस् ।

जसका बुवाआमा दिवंगत हुनुहुन्छ उसले दिवंगत पितृका नाममा शुद्ध आहार–विहार, जलदान, अन्नदान, पिण्डदान, दक्षिणादान र भोजनको आयोजना गरोस् । सबैले जान्न र बुझ्न जरुरी के छ भने यो चलिरहेको पितृपक्षमा मरेका बाबुआमाको मात्र श्राद्ध होइन्, जीवित बाबुआमाका पनि श्रद्धा, भक्ति र सम्मान हो । धेरै ठूला कुरा नगरौ र अनावश्यक कुरा चपाउन नसिकौँ । यदि बुबाआमा हुनुहुन्छ भने हरेक छोराछोरीले आफ्ना घरमा देवत्वकरण गर्न सिक्नोस् र सम्मान गर्न सक्नोस् ।

यदि कोही छोराछोरीका बुबाआमा हुनुहुन्न भने उहाँको पावन तिथिमा उहाँका पुण्यतिथिमा पितृका नाममा गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार गर्नुहोस् । मरेकाले के खान्छन् ? मरेकाले के पाउँछन् ? होइन, बाँचेकाले के खान्छन् र बाँचेकाले के पाउने ? भन्ने आशा एवं अपेक्षा राखेर पितृपक्षलाई सम्मान गरौँ । यो पितृपक्ष लगत्तै हाम्रासामु राष्ट्रिय पर्व दशै–तिहार, छठजस्ता अलि पावन, पुण्य र पवित्र चार्ड आइरहेकाले पनि यी सबै पर्व हाम्रा लागि सुखद्, खुसी, आनन्द र मनमोहक बनोस् ।

हामी यी पर्व मनाउनबाट वञ्चित हुन नपरोस् । यी र यस्ता पर्वका बीचमा कुनै पनि घटना, परिघटना, दुर्घटना वा विघ्न–बाधाहरु आई नपरुन् भनेर त्यसकारणले पनि यो अर्थपूर्ण छ भने अर्को कुरा देवताभन्दा पनि पितृ ठूला हुन् र देवलोकभन्दा पितृलोक माथि छन् भन्ने कुरालाई बुझ्न जरुरी छ भने यदि पितृ खुसी छैनन् भने देवताले दिएको फल पनि पितृले हरण गर्न सक्दछन् भन्ने जानेर पितृको सम्मान र श्रद्धा गरौँ ।