Goraksha

National Daily

गुरुकुलमा ‘नमूना संसद’को अभ्यास

दाङ, ४ असोज । सधैझै विद्यालय खुलेको छ । तर परिवेश विल्कुल फरक छ । असोज ३ गते संविधान दिवसको दिन घोराही–१५ स्थित गुरुकुल एकेडेमीको विद्यालय परिसर कुनै शैक्षिक संस्था नभएर संसद भवनमा परिणत भएको छ । त्यहाँ अध्ययनरत विद्यार्थीहरु प्रधानमन्त्री, सभामुख, मन्त्री र सांसद बनेका छन् ।

संविधान दिवसको अवसरमा विद्यालयले ‘नमुना संसद’ को अभ्यास गरेको हो । विद्यार्थीले विद्यालयमा नै नमूना संसद चलाए । विद्यार्थी आफै कोही प्रधानमन्त्री, सभामुख, मन्त्री र सांसद बने । विद्यालये गरेको नमुना संसद अभ्यासमा विद्यार्थी सिर्जना गैरे अर्थमन्त्री बनेर बजेट भाषणदेखि मुलुकको विकास निर्माणको नीति योजनासम्म सदनमा प्रस्तुत गरिन् । मन्त्रीहरुले पालैपालो आफ्नो बार्षिक कार्यक्रमहरु र योजनाहरु अगाडि सारे ।

कृषिमन्त्रीको भूमिकामा रहेकी सुलभ खनालले कृषिमा अनुदान र आधुनिककरणलगायतका योजनाहरु प्रस्तुत गरेका थिए । संसदमा विपक्ष दलका केही सांसदले सरकारले ल्याएको नीति कार्यक्रमप्रति अन्तुष्टि पनि राखे । विद्यार्थीले संसदमा केही विधेयक पेश गरे, त्यसमाथि छलफल चलाए र टेबुल बजाएर पास पनि गरे । केहीले भने विधेक संशोधन गर्नुपर्ने भन्दै सदन अवरुद्ध जस्ता गतिविधि गरे । संविधान दिवसका दिन विद्यालयमा देखिएको यो दृश्यले मुलुकको संसदको झल्को दिइरहेको थियो ।

विद्यार्थीलाई संसदीय अभ्यासबारे बुझाउने उद्देश्यले विद्यालयमा संसदीय अभ्यास गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मुुकुन्द गिरीले बताएका छन् । ‘विद्यार्थीलाई यही कुरा कक्षा सैद्धान्तिक रुपमा बुझाउन गाह्रो हुन्छ’, गिरीले भने– ‘तर प्रयोगात्मकरुपमा उनीहरुलाई नै सहभागी गराइयो भने सजिलै बुझाउन सकिन्छ । यसले सिकाइ प्रभावकारी हुन्छ ।’ उनले नेपालको संसदीय प्रणालीको अभ्यास र महत्वबारे विद्यार्थीहरुलाई बुझाउन यसखालको गतिविधि गरिएको बताए ।

नमुना संसद अभ्यासमा कुल ५० जना विद्यार्थी सांसद र १२ जना मन्त्रीको भूमिका थिए । प्रधानमन्त्रीको भूमिकामा प्रतिक्षा केसी, सभामुखको भूमिकामा सुभम् पोख्रेल, शिक्षा मन्त्रीको भूमिकामा रेजिना अधिकारी, ऊर्जा मन्त्रीको भूमिकामा स्वस्तिका ढकाल, खेलकुदमन्त्रीको भूमिकामा सुवेक्षा पौडेल र गृहमन्त्रीको भूमिकामा नविन डाँगी रहेका थिए ।