आत्महत्याको डरलाग्दो स्वरुप, लुम्बिनीमा ३ बर्षमा करिब ४ हजारले गरे आत्महत्या

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, ३असोज । लुम्बिनी प्रदेशमा ३ बर्षको अवधिमा करिब ४ हजारले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले आयोजना गरेको आत्महत्या रोकथामसम्बन्धी आयोजना गरेको सचेतनामूलक कार्यक्रममा प्रदेशका १२ जिल्लाहरुमा तीन बर्षको अवधिमा ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको संयुक्तरुपमा आयोजना गरेको ‘आत्महत्या न्यूनीकरणमा नेपाल प्रहरीको भूमिका’ विषयबारे जानकारी दिँदै प्रहरी उपरीक्षक वलीेले बितेको ३ आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा करिब ४ हजारले आत्महत्या गरेका बताए ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा १ हजार २ सय ३३ जना, आर्थिक वर्ष २०७७–०७८ मा १ हजार ४ सय ८ जना र आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ३ सय ४१ जना गरी कुल ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीले जानकारी दिएका छन् । उनका अनुसार लुम्बिनीका १२ जिल्लाहरुमध्ये सबैभन्दा धेरै आत्महत्या गर्ने रुपन्देहीमा रहेका छन् ।

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक बर्ष २०७८÷०७९ मा २ सय ६७ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी दाङमा २ सय १४ जना, कपिलवस्तुमा १ सय ६६ जना, बर्दियामा १ सय ६१ जना, पाल्पामा ७५ जना, गुल्मीमा ७१ जना, रोल्पामा ७३ जना, प्युठानमा ६८ जना, अर्घाखाँचीमा ५९ जना, बाँकेमा ५८ जना र रुकुममा १२ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रमुख वलीका अनुसार दाङमा आर्थिक वर्ष २०७६–०७७ देखि हालसम्म ७ सय १२ जनाले आत्महत्या गरेका छन् ।

जसअनुसार आर्थिक वर्ष २०७६–०७७ मा २ सय २४, आर्थिक वर्ष २०७७–०७८ मा २ सय ३८ जना, आर्थिक वर्ष २०७८–०७९ मा २ सय १४ जना तथा चालु आर्थिक वर्ष २०७९–०८० को हालसम्म ३६ जना गरी जम्मा ७ सय १२ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर सबैभन्दा धेरै ५ सय १९ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी विष सेवन गरी १ सय ४७ जना, हाम फालेर ९ जना र आगो लगाएर एकजनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाका दश पालिकाहरुमध्ये सबैभन्दा धेरै आत्महत्या गर्नेमा घोराही उपमहानगरपालिका रहेको छ भने सबैभन्दा कम राजपुर गाउँपालिकामा हुने गरेका छन् ।

आत्महत्याको बढ्दो संख्यालाई ध्यानमा राखेर गहनरुपमा अध्ययन अनुसन्धान अघि बढाइएको उनले बताए । खास कारण पहिचान गरी समस्या समाधानका लागि सबैलाई जागरुक बनाउने योजना रहेको उनको भनाइ छ । प्रहरी अध्ययनका अनुसार १३ प्रतिशत भन्दामाथि पुरुष, ७ प्रतिशत भन्दामाथि महिला छन् । उमेरका हिसावले १५ देखि ४९ वर्षका बढी मात्रामा मानिसको संलग्नता बढी आत्महत्या माध्यम अनुसार फरक फरक हुने गरेको छ ।

मानसिक तनाव, प्रेममा धोका, पारिवारिक कलह, गरिवी, शारीरिक यातनासँगै आवेशमा अधिकांशले आत्महत्या गर्ने गरेका प्रहरी प्रमुख वलीले बताएका छन् । ‘आत्महत्याका विभिन्न कारणहरु देखिन्छन्’, प्रहरी प्रमुख वलीले भने– ‘जसमध्ये अधिकांशले आवेशमा आएर आत्महत्या गरेको देखिन्छन् । त्यसका साथै पारिवारिक कलह, मानसिक तनाव, दीर्घरोगी तथा आर्थिक लेनदेनका कारण पनि देखिन्छ ।’ साथै देखासिकीले महत्वाकांक्षा बढेको, व्यवसायीहरु आर्थिक संकटमा फसेका, बैंकको बढ्दो व्याजदरले व्यवसायबाट पलायन भएर आत्महत्यासम्म पुग्ने गरेको बताए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले आत्महत्याको डरलाग्दो स्वरुप देखिएको भन्दै यसलाई रोक्नका लागि सचेतना आवश्यक रहेको बताएका थिए । साथै उनीहरुले आत्महत्यालाई न्यूनीकरण गर्नका लागि गाउँघरबाटै सचेतनामूलक कार्यक्रमहरु गर्न आवश्यक रहेको समेत बताएका थिए । उनीहरुले प्रहरीको एकल प्रयासले मात्रै आत्महत्या रोकथाम सम्भव नभएको हुँदा सबै समुदायको भूमिका रहेको बताएका थिए ।

कार्यक्रममा पालिकाका जनप्रतिनिधि, विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, सामाजिक संघसंस्थालगायतको सहभागिता रहेको थियो । कार्यक्रम गर्नुअघि आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक ¥याली निकालिएको थियो । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेशराज श्रेष्ठ, घोराही खानेपानी तथा सरसफाई संस्थाका उपाध्यक्ष भरतमणि पाण्डे, सीसा संस्थाका अध्यक्ष साजिदा सिद्धिकीलगायतले लागूपदार्थ दुव्यर्सन हटाउन सबै लाग्नुपर्ने बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आर.के. शीतलले गरेका थिए ।