कार्यक्रम समीक्षा गर्दै जिल्ला स्वास्थ्य कार्यालय

अमरराज आचार्य
दाङ, ३ असोज । गत आर्थिक बर्षमा भए गरेका काम र चालु आर्थिक बर्षमा सञ्चालन हुने कामका विषयमा जिल्ला स्वास्थ्य कार्यालयले समीक्षा थालेको छ । यो कार्यक्रम दुई दिनसम्म चल्ने छ । यसमा कार्यालय मातहतका सबै कार्यालयहरुले आफूले निर्वाह गरको भूमिकाका विषयमा प्रष्ट पार्नेछन् ।

आर्थिक वर्ष २०७८÷०७९ को स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा वार्षिक समीक्षा कार्यक्रम २ दिनसम्म सञ्चालन हुने भएको छ । समीक्षा कार्यक्रममा जिल्लामा स्थानीय तहहरुले स्वास्थ्य क्षेत्रमा गरेका कार्य, देखिएका समस्या, स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि प्रस्तुत गर्ने भएका छन् । त्यसैका आधारमा कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना निर्माण गरेर अगाडि बढ्ने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

यसरी योजना बनाएर अगाडि बढ्दा सरकारले स्वास्थ्य क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । समीक्षा उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीले पछिल्लो समय विभिन्न स्वास्थ्य समस्या बढ्दै गएकाले त्यसको एकीकृत समाधान गर्न सबै पालिकाहरुको सहकार्यको आवश्यकता रहेको बताइन् । यसका लागि प्रभावकारी योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय उपचार गर्ने निकाय नरहेको भन्दै उनले रोग लाग्नै नदिनका लागि कार्यालयले जे–जे उपाय अवलम्बन गर्न आवश्यक छ, त्यसका लागि जिल्ला समन्वय समितिले सहकार्य एवं सहजीकरण गर्ने पनि उनको अभिव्यक्ति थियो ।

‘तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ, तपाईहरुकै योगदानले जिल्ला पूर्ण खोप सुनिश्चित बन्यो, तपाईहरुकै योगदानका कारण जिल्लामा सबैले कोरोनाको खोप लगाउन पाएका छन्, तर तपाईहरुबीच फेरि डेंगु र सिकलसेलको चुनौती आएको छ, हामी सबैको सहकार्यले ती सबै महामारीलाई नियन्त्रण गरौँला’, प्रमुख अतिथि चौधरीले भनिन् । थारु समुदायमा देखिएको सिकलसेलको समस्यालाई पनि हामी सबै मिलेर समाधान गर्नुपर्ने पनि उनको अभिव्यक्ति थियो । जिल्ला स्वास्थ्य कार्यालयको भूमिकाकै कारण ‘घरमै प्रसुती हुने संख्या घटाउँदै लैजान सबै निकाय सफल भएको पनि उनको अभिव्यक्ति थियो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताए । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएमा शिक्षित र स्वस्थ नागरिक बन्नसक्ने उनले बताए । यसले देशको विकासमा समेत सहयोग पु¥याउने उनको भनाइ रहेको छ । ‘स्थानीय सरकारहरुले स्वास्थ्यमा प्राथमिकता दिन सक्नुभएको छैन’, उनले भने । धेरै स्थानीय तहहरुको प्राथमिकतामा भौतिक पूर्वाधार निर्माण पर्ने गरेको उनले बताए ।

स्थानीय सरकारले स्थानीय आवश्यकताको आधारमा योजना निर्माण गर्नुपर्ने उनको भनाइ रहेको छ । ‘अहिले पनि स्थानीय तहहरुले निर्देशित योजनाहरु बढी राख्ने देखिएको छ’, उनले भने । यसले स्थानीय आवश्यकता पूरा गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले योजना निर्माण गर्दा सबैलाई एकै प्रकारले हेर्न नहुने बताए । भौगोगिक अवस्था, त्यस क्षेत्रका समस्या, आवश्यकताको आधारमा योजना निर्माण गरिनुपर्ने उनको भनाइ रहेको छ ।

‘घोराही र बंगलाचुलीलाई एकै प्रकारको योजना बनाउँदा त्यो प्रभावकारी हँुदैन’, उनले भने । स्थानीय तहहरुमा बित्तीय संघीयता बुझ्न नसक्दा समस्या भएको उनले बताए । पालिकामा आन्तरिक स्रोत नहुँदा आफ्नो कार्यक्रम बनाएर अगाडि बढ्न समस्या हुने गरेको बताए । जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जिल्लामा पछिल्लो समय एचआइभीका बिरामी बढ्दै गएको बताए । जिल्लाका शहरी क्षेत्र घोराही, तुलसीपुर, लमहीमा नयाँ बिरामीको संख्या बढ्दै गएको उनको भनाइ रहेको छ । ‘एचआइभीका नयाँ केश बढ्दै गएको छ, यो राम्रो होइन’, उनले भने । यसका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । त्यसैगरेर गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएको उनले बताए ।

‘गर्भपतन गराउने अधिकार भए पनि यो बढ्दै गएको राम्रो होइन’, प्रमुख शाहीले भने । स्वास्थ्य क्षेत्रका कार्यक्रम आर्थिक वर्षको अन्त्यमा आउँदा केही कार्यक्रमको रकम खर्च गर्न नसकिएको उनले बताए । जिल्लामा बर्थिङ सेन्टरको संख्या वृद्धि भए पनि त्यसको गुणस्तर बढ्न नसकेको बताए । जिल्लामा टिबीका बिरामी धेरै भए पनि पर्याप्त मात्रामा औषधि समयमा नआउँदा केही समयअघि समस्या भोग्नु परेको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. प्रज्ञा बस्नेत, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका भरत कुँवर, सेभ द चिल्डे«नका भारती केसी, स्वास्थ्यका लागि सक्षम प्रणालीका अर्चना अर्याललगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका शाखा अधिकृत बामदेव शर्माले गरेका थिए ।