Goraksha

National Daily

पुरिएनन् चारलेनका खाडल, झरीले यात्रा झन् धराप

खेमराज रिजाल
दाङ, २असोज । लगातार तीन दिनदेखि झरी परिरहेको छ । घोराही—तुलसीपुर सडक झरीले झन्–झन् धरापमा पर्दैछ । यातायात जोखिमपूर्ण भइरहँदा सरोकारवाला निकाय भने मौन छन् । ठिक पन्ध्र दिन अघि जिल्ला समन्वय समिति घोराहीको सभाहलमा एउटा सहमति भएको थियो । पन्ध्र दिनभित्र निर्माण कम्पनीले जसरी भए पनि घोराही तुलसीपुर सडकमा परेका जोखिमपूर्ण खाडलहरू पुर्ने ।

यो सहमतिमा निर्माण कम्पनीका प्रतिनिधि, सडक आयोजना कार्यालयका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी महासंघका प्रतिनिधि, नागरिक अगुवाहरूले समेत हस्ताक्षर गरेका थिए । तर सहमति कार्यान्वयनको पहल निर्माण कम्पनीबाट तोकिएको समयसीमामा हुन सकेन ।

‘के त्यो समिति मजाक थियो, किन पुरिएनन् खाडलहरू ?’, सहमतिमा हस्ताक्षर गर्ने यातायात व्यवसायी तथा त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका अध्यक्ष सुरेश हमालको प्रश्न हो, यो । यो कम्पनीबाट चारलेनको काम हुनै सक्दैन, नयाँ ठेक्का प्रक्रियामा नगए हामी फेरि दश वर्ष यस्तै सास्ती भोग्न बाध्य हुनेछौँ, हमालको अभिव्यक्ति थियो ।

लगातार तीन दिनदेखिको झरीले सडकैभरिका खाडलमा पानी जमेको छ । कुन खाडल कति गहिरो छ, सवारी चालकलाई ठम्याउनै मुस्किल परेको छ । ‘हामी अत्यन्तै जोखिमपूर्ण यात्रा गरिरहेका छौँ, साना सवारीसाधनलाई त निकै कष्टपूर्ण यात्रा छ’, तुलसीपुर स्थित सम्यम इन्टरप्राइजेजका प्रोप्राइटर गेहेन्द्र पौडेलले भने । उनी व्यवसायको सिलसिलामा दैनिक जसो कारमा घोराही—तुलसीपुर गुडिरहन्छन् ।

डा प्रताप पोख्रेल तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा सेवारत छन् । घोराही घर भएका पोख्रेल दैनिक जसो आफ्नो निजी कारमा घोराही—तुलसीपुरको यात्रा तय गर्छन् । ‘आज कार लगेर घोराही तुलसीपुर यात्रा गर्ने अवस्था छैन, किनकि कारका लागि कुन खाडल कति गहिरो छ भनेर अनुमान नै गर्न सकिने अवस्था छैन’, डा पाख्रेलले भने ।

लमही–घोराही–तुलसीपुर चारलेन परियोजनाबाट सुरुआतीमै खुम्चेर घोराही–तुलसीपुर चारलेन परियोजना कुहिरोमा हराएको काग जस्तै छ । यो र त्यो वहानामा म्याद थपिँदै आएको आयोजनाको हालसम्म दश प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

कार्यक्षेत्रमा न त आयोजना कर्मचारीकै उपस्थिति छ न त निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधिकै । यस्तो अवस्थाले चारलेन सडक परियोजना अलमलमा परेको छ । ठेकेदार कम्पनीले यति ठूलो परियोजनालाई सानो सिंचाइ कुलो खने जसरी लिएको छ । निर्माणका काममा यति लामो सडकमा पचास मज्दुरहरू पनि काममा खटिरहेका देखिँदैनन् । विवाद के–केमा भइरहेको छ, कुनै पनि निकायलाई सार्वजनिक रूपमा जानकारी दिइएको छैन ।

नागरिकले सास्ती खेपिरहँदा आधिकारिक भारतको मुम्बई स्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फा प्रोजेक्टका प्रतिनिधि भने एक पटक मात्र दाङ आएर पन्ध्र महिनामा काम सम्पन्न गर्ने उद्घोष गरेका थिए । तर त्यसपछि उनको उपस्थिति देखिएन । अन्य मोलमोलाई भने काठमाडौंमै बसेर भइरहेको छ । तथ्यले पेटी ठेकेदार महिनैपिच्छे बदलिरहेको छ । अहिले तोकिएका ठेकेदारको पनि कति क्षेत्र जिम्मा हो भन्ने कहीँ सार्वजनिक भएको छैन ।

कहिले कसलाइ पेटी ठेक्का दिने त कहिले कसलाइ पेटी ठेक्का नियुक्त गर्ने गर्दै आएको छ । पेटी ठेकेदारबाट कमिशन खाएर भाखा सार्दै गर्दा दाङबासीले निकै सास्ती खेप्नु परिरहेको छ । ठेकेदारलाई परियोजनाले चलाउनसकेको छैन अर्थात् ठेकेदारमार्फत् सञ्चालित छ, परियोजना । त्यही कारण निर्माण कम्पनीलाई कारबाही गर्ने हैसियत राख्दैन परियोजना । बरू नागरिकको खप्की खानुभन्दा जागिर अन्तै सरुवा गराउन तल्लीन छन्, परियोजना प्रमुख ।

एक वर्ष अघि परियोजना प्रमुखको जिम्मेवारीमा आएका अर्जुन बमको पनि भर्खरै अन्तै सरुवा भइसकेको छ । तीन वर्षको अवधिमा तीन प्रमुख फेरिएजस्तै पेटी ठेकेदारहरू पनि फेरिइरहन्छन् । नागरिकले खबरदारी गर्ने स्थान कहीँकतै छैन । ठेकेदारले न परियोजना प्रमुखलाई टेर्छन् न सिडिओलाई, न त जनप्रतिनिधिहरूलाई नै ।

गएको भदौ १७ गतेका दिन अघि जिल्ला समन्वय समितिमा भएको चारलेनसम्बन्धी सर्वपक्षीय÷सर्वदलीय छलफल कार्यक्रममा पन्ध्र दिनभित्र चारलेन परियोजनाअन्तर्गत खाडल परेका सडकहरूमा ग्राभेल भर्ने, आगामी डिसेम्बरसम्म कम्तिमा कार्यप्रगति ३० प्रतिशत पु¥याउने, नत्र निर्माण कम्पनीलाई कारबाही गर्ने भन्ने लिखित सहमति समेत भयो । तर खोई निर्माण कम्पनीले खाडल पुरेको ? यसरी नै नागरिक आक्रोश निर्माण कम्पनीप्रति बढिरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि प्रयास क्षेत्री भन्छन्, ‘नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुकाको अभावका कारण खाडल पुर्न समस्या भएको हो, खोला खुलेपछि कामले गति लिनेछ ।’ निर्माण कम्पनी डुबेको लगानी उठाउन मात्रै आएको जस्तो अभिव्यक्ति सार्वजनिक भइरहेको छ । अन्यथा नदीजन्य पदार्थ क्रसर उद्योगहरूबाट लिएर पनि खाडलहरू पुरिन सक्थे ।

निर्माण सामग्री खरिदको मूल्य पनि छ, ठेक्कामा जोडिएको हुँदैन र ? यही प्रश्न घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उठाइरहेका छन् तर कम्पनीले खोलाकै आशमा समय कुरि रहेको छ । काम होला असोजपछि …। सडक ओधारे पनि करिब डेढ वर्षको अवधिमा २४ जनाको यही धरापमय बनेको सडकमा दुर्घटना हुँदा ज्यान गयो तर निर्माण कम्पनी यो विषयमा कत्ति पनि संवेदनशील बन्न सकेको छैन । लापरबाहीको सीमा नाघिसकेको छ ।

सडक किन कतै चारलेन कतै दुइलेनमा खुम्च्याइयो ? कसरी प्राविधिक सर्वेक्षण भयो ? यहीँकै राजनेता एवम् नागरिकहरूलाई जानकारी छैन । लेन फेरबदल किन भयो ? यहाँका संघीय सांसदहरू समेत वेखबर छन् । कुहिरोमा हराएको कागजस्तै कुहिरोमै रुमल्लिएका छन्,यहाँबाट संघमा जितेका सांसदहरू । चौबीस जनाको ज्यान जाने अवस्थामा पनि सांसदहरू संसदमा एक पटक पनि आवाज उठाएनन् । काम गराइको शैली यस्तै भयो भने यो आयोजनाको काम सम्पन्न हुन कम्तिमा ९० महिनासम्म लाग्न सक्नेछ ।

चारलेन सडक निर्माणको सम्झौता वि.सं २०७५ साल माघ २८ गते भएको थियो । सम्झौताअनुसार सडक स्तरोन्नतिको काम वि.सं २०७८ साल माघ २६ गते सम्पन्न गर्नुपर्ने थियो । पहिलो वर्ष कामले गति नै लिएन । दोस्रो वर्ष कोरोना संक्रमण सुरु भयो । संक्रमणलाई वहाना बनाएर सरकारले सो परियोजनाको म्याद थप गरी वि.सं २०७९ पुस १२ गतेसम्म लम्ब्याइयो ।

कार्यप्रगति सन्तोषजनक हुन नसकेको र पेटी ठेक्कामा भएको विवादका कारण पुनः म्याद थपेर वि.सं २०८० असार ३१ गतेसम्म छ । अहिले कार्य प्रगति जम्मा ९ दशमलव ६९ प्रतिसत मात्र छ । यो शैलीको काम गराइले आयोजनाको काम आगामी असार मसान्तसम्म पनि सकिने अवस्था छैन ।