ज्योतिष परिषद्को चिनारी विमोचन

गोरक्ष समाचारदाता
दाङ, २असोज । नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको चिनारी पुस्तकको विमोचन गरिएको छ । नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेश कार्यसमितिले शनिवार घोराहीमा आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो ।

ज्योतिषीसम्बन्धी ज्ञान, ज्योतिष परिषद्सँगै लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेको विभिन्न धार्मिक ज्ञानसम्बन्धी जानकारी दिने उद्देश्यले लेखिएको पुस्तकको विमोचन गरिएको थियो । उक्त पुस्तकको घोराही उपमहानगरपालिका नगर उपप्रमुख हुमा डिसी, नेपाल ज्योतिष परिषद्का डा अर्जुनप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।

कार्यत्रममा बोल्ने वक्ताहरूले ज्योतिषीसम्बन्धी ज्ञान लिनका लागि नयाँ पुस्तालाई आकर्षण गर्ने गरी अघि बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नगर उपप्रमुख हुमा डिसीले ज्योतिषीसम्बन्धी ज्ञान सबैका लागि आवश्यक रहेको बताइन् । हिन्दु धर्मालम्बीहरूका लागि हरेक कार्यमा सहयोग पुग्ने बताएकी थिइन् ।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचिव अर्जुनप्रसाद भट्टराईले ज्योतिष शास्त्र भाग्यमा विश्वास गर्नेहरूको भन्दा कर्ममा विश्वास गर्नेहरूको भएको बताए । उनले ज्योतिष शास्त्रले सम्भावनासँगै कर्म गर्न सिकाउने भएकाले कर्मशील शास्त्र भएको समेत बताए । तर केही मानिसले ज्योतिषी शास्त्रसम्बन्धी ज्ञानको अभावमा गलत अर्थ लगाएर बदनाम गर्न खोजेको बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ज्योतिषसम्बन्धी ज्ञान नयाँ पुस्तालाई दिन आवश्यक रहेको बताए । पुराना लाग्ने तर नयाँ पुस्ताले जानकारी पनि नपाउने अवस्था भएकाले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा ज्योतिष मदन सुवेदी, घोराही उपमहानगरपालिकाका सल्लाहकार अरुण आचार्यलगायतले बोलेका थिए ।

नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष ज्योतिष मेघराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकको समीक्षा कपिलदेव सुवेदीले गरेका थिए । परिषद्का सल्लाहकार कमल भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव ज्योतिष ढुण्डीराज ज्ञवालीले गरेका थिए ।