चामलमा अचाक्ली महंगी बढ्यो

  •   
  •  

बालाराम खड्का
तुलसीपुर, ३० भदौ । खाद्यान्नमा अचाक्ली मूल्यवृद्धि भएको छ । चाडपर्व नजिकिएसँगै खाद्यान्नमा मूल्य अत्यधिक बढेको सर्वसाधारणको गुनासो छ । त्यसमा पनि चामलमा अप्रत्यासीरुपमा मूल्यवृद्धि भएको छ । जसले गर्दा दैनिक ज्याला मजदुरी तथा किनेर खानेहरु मर्काका परेका छन् ।

एक महिनायता मसिनो तथा मोटो चामलमा प्रति २५ किलोको बोरामा ४ सयदेखि ५ सयसम्मले मूल्य बढेको छ । त्यसमा पनि मसिनो चामलमा बढी मूल्यवृद्धि भएको खाद्यान्न व्यवसायी खुशलराम शर्माले बताए । उनका अनुसार एक महिनादेखि चामलमा मूल्यवृद्धि भएको हो । उनले ठूला व्यापारीहरुले मूल्य बढाएकाले आफूहरुले पनि सोहीअनुरुप मूल्यवृद्धि गरेको बताए । १५ सय प्रति २५ किलो बोरा बिक्री हुँदै आएको स्ट्रीम जिरा चामल १९ सयसम्म पुगेको छ । त्यस्तै मोटा चामलमा पनि २ सयदेखि ३ सयसम्म मूल्यवृद्धि भएको उनले बताए ।

प्रतिकिलो चामलमा १६ देखि २० रुपैयाँ बढेको छ । भारतले चामलमा २० प्रतिशत कर वृद्धि गरेकाले नेपालमा पनि चामलको मूल्य बढेको व्यवसायीहरु बताउँछन् । नेपाल त्यसमा पनि दाङमा भारतबाट ७० प्रतिशत चाम भारतबाट आयात हुने गर्छ । ‘दाङको चामलले ३ महिना पनि धान्दैन भारतको चामलमै भरपर्ने अवस्था छ’, व्यवसायीहरु भन्छन् । त्यस्तै मैदा आटालगायत अन्य वस्तुमा पनि मूल्य केही मात्रामा वृद्धि भएको छ ।

‘अहिले अन्य खाद्यान्नभन्दा पनि चामलमै मूल्यवृद्धि भएको हो’, उद्योग वाणिज्य संघका सचिवसमेत रहेका शर्माले भने । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान÷चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय यसअघि नै गरेको हो । करिब एक साताअघि नै यस्तो निर्णय गरेको नेपाल दाल चामल उद्योग संघले पनि जनाएको छ । भारतले धान चामलामा कर वृद्धि गरेको छ, कनिका निर्यातमा रोक समेत लगाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । २९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र १ अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको थियो । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको मूल्य महंगो भएको र कनिका निर्यातमा लगाइएको रोकले मदिरा उत्पादक उद्योग र दाना उत्पादनमा असर पर्नेछ ।

त्यस्तै दानामा पनि यसअघि नै प्रतिबोरा ८ सय पर्ने दानालाई ९ सय हजार भएको थियो । आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले धान चामल निर्यातमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताउँदै आएका थिए । भारतका केही राज्यमा कम वर्षाका कारण हालसम्म चलिरहेको सिजनमा धानबालीको क्षेत्रफल ५.६२ प्रतिशतले घटेर ३८३.९९ लाख हेक्टरमा पुगेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ ।

भारतले आर्थिक वर्ष २०२१÷२२ मा २१.२ मिलियन टन चामल निकासी गरेको थियो, जसमा ३.९४ मिलियन टन बासमती चामल थियो । सोही अवधिमा ६ अर्ब ११ करोड अमेरिकी डलर बराबरको गैर–बासमती चामल निकासी गरेको आधिकारिक तथ्यांक छ । मुलुकले २०२१÷२२ मा गैर–बासमती चामल १५० भन्दा बढी देशमा निर्यात गरेको थियो । ‘भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाइरहेको छ । यसले गर्दा सर्वसाधरण जनताको ढाड सेकिएको छ, यसतर्फ नेपाल सरकारले पनि पहल गर्न जरुरी छ’ व्यवसायीहरु भन्छन् ।