कर्मठलाई स्वर्णीम पुरस्कार

  •   
  •  

दाङ,३० भदौ । २०६८ साल मंसीर २२ मा लमही नगरपालिका–९ रिहारमा स्थापना भएको कर्मठ सामाजिक उद्यमी महिला सहकारी सस्थाले ३ लाख रुपैयाको राष्ट्रिय स्वर्णीम प्रतिभा पुरस्कार प्राप्त गरेको छ । साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तर्गत समुह बनाएर काम सुरु गरिएको थियो ।

बि.स.२०७० कार्तिक १४ गते यो सस्था सहकारीमा दर्ता भएको थियो । हेफर इन्टरनेशनल नेपालले नगद ३ लाख राशीसहित उत्कृष्ट सहकारीका रुपमा विहीवार रुपन्देहीको लुम्विनीमा राष्ट्रिय स्वर्णीम प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । पुरस्कार हेफर इनटरनेशनल नेपालले सहकारी संस्थाका अध्यक्ष देवीमाया थापालाई प्रदान गरेको हो ।

हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा २०६८ सालदेखि सुरु भएको साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तर्गत समुह गठन गरेर सहकारी बनेको थियो । यो संस्थाले महिलाहरुलाई उद्यमशिलतामा जोड्ने काम गर्दै आएको छ । समुह हुँदै सहकारी स्थापनादेखि हालसम्म सहकारीमा एक हजार ३ सय ३५ बढी महिलाहरु आवद्ध भएका छन् ।

सहकारी दर्ता भएपछि पनि हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङले पशु बस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानहरुको संस्था सबलिकरण परियोजना अन्तर्गत काम गर्दै सहकारीलाई सबल गराउने काम गर्दै आइरहेको थियोे । सहकारीले गर्दै आएको कामको उच्च मुल्यांकन गरेरै हेफर प्रोजेक्ट नेपालले प्रदान गर्ने राष्ट्रिय स्वर्णीम प्रतिभा पुरस्कार अन्तर्गत उत्कृष्ट सहकारीको रुपमा देशभरबाट कर्मठ सहकारी संस्थालाई ३ लाख राशीले पुरस्कृत तथा सम्मानित गरेको हो ।

२५ जना सदस्यबाट दर्ता गरिएको सहकारीमा अहिले १३ सय ३५ जना शेयर सदस्यहरु आबद्ध छन् । सहकारीको कुल पुजी ४ करोड र सहकारीले ५ जना कर्मचारी राखेको छ । सहकारीले बर्सेनि २ हजार बढी खसी तथा बाख्रा बिक्री गर्दै आएको छ । सहकारीबाटै पशुको स्वास्थ उपचार, बिमा सेवा,घाँस को बिउबिजन उपलब्धता र रासायनिक मलको बिक्री बितरण गर्दै आएको छ भने सहकारीमा आबद्ध शेयर सदस्यहरुले वैदेशिक रोजगारमा गएका आफ्नो श्रीमानलाई नेपाल झिकाएर ब्याबसायिक बाख्रापालनमा सहभागी गराएर स्वरोजगार बनाउदै आएका छ्न ।

सेवा नेपालका अध्यक्ष पार्बती न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्य र पूर्वमन्त्री गोकर्ण बिस्टको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा हेफर इन्टरनेसनल अमेरिकाका बरिस्ठ उपाध्यक्ष डा महेन्द्रनाथ लोहनी र लेखा अधिकृत मार्सिया रेस्फुसेनलगायतले कार्यक्रमलाई सम्वोधन गरेका थिए ।