पितृश्राद्ध र यसको औचित्य

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ
चेतनशक्तिले अनुभूति गरिने आत्मसन्तृष्टि नै तृप्ति हुनु हो । जब मानवीय चेतनाले आनन्दको अनुभूति गर्दै तृप्तिको महसुस गर्दछ, तब उसको चैतन्य शक्तिले ऊ जहाँबाट र जसबाट सन्तुष्टिको अनुभूति गर्न पुगेको हुन्छ, उसैप्रति ऊ अनुगृद भएको हुन्छ । उसैलाई उन्नति र प्रगतिका लागि आशीर्वाद दिन लालायित पनि हुन्छन् । त्यसैले भन्ने गरिन्छ– जहाँ दिइन्छ त्यहाँ उपलब्धि हुन्छ । दिनु नै लिनु हो । कसैलाई खुसी दिनु भनेको आफैले प्राप्त गर्नु हो । जीवनमा अरुको सहयोग र सद्भाव बढाउनु भनेको सन्तुष्टिको अनुभूति गर्नु हो । जहाँ जसलाई जुन किसिमले सहयोग र सद्भाव बृद्धि गरिन्छ सोही मुताविक उसले आत्मसन्तुष्टिको अनुभूति गरेको हुन्छ ।

सत्कारमा तृप्ति, सेवाभावमा तृप्ति, भक्तिमा तृप्ति, प्रेमभावमा तृप्ति यी सबै आनन्दी मनको भोजन हो । बुद्धिविनोदको खुराक हो । यही सत्यलाई मनन् गरी प्रत्येकले आफूलाई प्रस्तुत गर्नुपर्दछ । जहाँ प्रेम हुन्छ त्यहाँ आनन्द हुन्छ । जहाँ आनन्द हुन्छ त्यहाँ सेवा, भक्ति, प्रेम र शान्तिलगायत सबैमा सकारात्मक भाव जागृत हुन पुग्दछ । तसर्थ जान्ने र जान्न खोज्ने मनको भावलाई प्रीतिपूर्वक श्रवण गर्ने, गराउने परिस्थितिको विकास गर्नु जीवनको उद्देश्य हुनुपर्छ भनिएको हो ।

अहिले सोह्र श्राद्धको पितृपक्ष सुरु भइरहेको छ । यस अवसरमा आफ्ना पूर्खाले सन्ततिप्रति विश्वास राखेका हुन्छन् भनी शास्त्रीय मान्यता पनि देखिन्छ । यस अवसरमा श्रद्धा दिने र आशीर्वाद लिने दुबैले प्रीतिपूर्वक कर्तव्यपालन गर्नु, गराउनुपर्ने जिम्मेवारी महसुस गर्नुपर्दछ । हामी सच्चिदानन्द रुपमा भगवान्, ईश्वरको निराकार स्वरुपलाई मान्दछौं । निराकार जसले श्रृष्टिको संरक्षण र सम्भार गरिरहेका हुन्छन्, विभिन्न रुप भएर पनि एक भइरहेका हुन्छन् त्यसको महिमा र पूजा गर्छौं ।

कुनै पनि कार्य गर्दा आफ्नो परम्पराअनुसार ईश्वरलाई पुकारी भौतिक युगको विज्ञानलाई आत्मसात् गर्छौं । यो सत्य हो र सत्य कहिल्यै झुटा हुन सक्दैन भनी स्वीकार्छौं पनि । कारण हामी र हाम्रो मानसपटलमा ईश्वर छ र यसले हामीलाई उद्धार गरेको छ भन्ने लुकेको छ । त्यसरी नै यही सत्यताभित्र लुकेको युगको गतिशीलतालाई हेर्ने हो भने श्रृष्टिको इतिहासमा हाम्रा पूर्खाहरु एकपछि अर्को गर्दै यो पिढीसम्म आइपुगेको देखिन्छ । यसपछि पनि जबसम्म पृथ्वी रहिरहन्छ तबसम्म यो आत्मा नमरी जीवितै रहेको छ भन्ने सत्यसमेत हामीले स्वीकारेका छौं ।

त्यसैले मनभित्र जति पनि भ्रान्ति हुनसक्छ तिनलाई हटाई आनन्दको अनुभूतिसँगै प्रेमभावमा तृप्ति जगाउन आफ्ना पूर्खाको आदर गर्न कहिल्यै पछि पर्नु हुँदैन । यो आत्मतृप्तिको उत्तम विकल्प हो । हुन त कतिपय यस्ता कार्यलाई ढोङ हो भनी भन्ने गरिन्छ । त्यसको गहिराईलाई नबुझी अनावश्यक टिका–टिप्पणी पनि हामीले गर्दै आएका छौं । तथापि यसको महत्वलाई बुझ्न जरुरी छ । समय दिनप्रतिदिन परिवर्तनको संघारनजिक पुगिरहेको छ । श्रृष्टिको इतिहासमा जन्मपछिको मरण अवश्य हुन्छ, यो सत्य जसरी मानव चेतनाले बोध गरेको छ, त्यसरी नै श्रृष्टिपछि सम्हार हुँदै युग परिवर्तन भइरहेको हुन्छ ।

सत्य त्रेता, द्वापर, कलियुगपछि पुनः सत्य युग आउने कुरामा हामी जसरी विश्वास राख्छौं, परिवर्तन सत्य छ यो विज्ञानले पनि प्रमाणित गर्दै आएको छ भनेर हामी स्वीकार्छौं त्यसरी नै परिवर्तित युगको यही सत्यलाई आत्मबोध गरी आफूले निभाउनुपर्ने जिम्मेवारीलाई यो मेरो कर्म र दायित्व हो भन्ने बोध गरी पूर्खाको चैतन्य आत्मालाई तृप्ति हुने कार्यतर्फ हाम्रो ध्यान जान जरुरी छ । पितृको उद्धारस्वरुप गरिने श्राद्ध र तर्पण गर्नु भनेको उनीहरुको आत्मालाई तृप्ति गराउनु हो र आफूलाई आनन्दित बनाउनु हो ।

हुन त भौतिकवादी चिन्तकले युगको परिवर्तनलाई विभिन्न दृष्टिकोणले सकारात्मक र नकारात्मक दुबै किसिमले व्याख्या गरेका छन् । श्राद्ध, तर्पण गर्ने कुरालाई यो देखावटी र बनावटी हुन् भनी भन्छन् र सांसारिक गतिविधिप्रति कटाक्ष पनि गर्दछन् तर यथार्थ त्यस्तो होइन । वर्तमान र विगतलाई हेर्ने हो भने मानवीय चेतनामा कति परिवर्तन भइसक्यो यो बुझ्न जरुरी छ । हिजो जे थियो, आज त्यो छैन र आज जे छ, त्यो भोलि नहुन सक्छ ।

विचारमा क्षय, चरित्रमा क्षय, चिन्तन र नैतिकतामा क्षय मानवीय चरित्रले निर्वाह गर्नुपर्ने गुण र ज्ञानमा क्षय यी सबै मानवीय चेतनाले सिर्जेका अवस्था हुन् । एकले अर्कालाई उछिन्ने, अविश्वास गर्ने तथा व्यवहारमा क्रूरता प्रदर्शन गरी अहंकार र घमण्डले मात्तिनु वास्तवमा यी सबै हामीसँग रहेको दैविकशक्ति क्षय हुनाको कारणले हुने हो । प्राकृतिक विपत्ति निम्त्याउने जति पनि कार्य भएका छन्, त्यसको कारण भू–क्षय, बाढीपहिरो, वनजंगल नाश जे–जति भइरहेका छन् वास्तवमा यी सबै मानवीय विचारमा क्षय हुनाको कारण हुन् ।

तसर्थ परिवर्तित समयको धारलाई बुझ्दै जन्मपछि मृत्यु अवश्य छ भन्ने सत्यलाई अंगीकार गरेर आफ्नो पूर्खालाई सम्झनु अनुचित हुँदैन । श्रृष्टिको इतिहासमा मानव अस्तित्वले स्वीकारेको सर्वोच्चतालाई नबुझी प्राकृतिक सत्य र जीवन पद्धतिमा रहेको विचारलाई टाढा बनाउन खोज्नु यो मानवीय चेतना होइन । पौराणिक ग्रन्थमा उल्लेखित शास्त्रीय मान्यतालाई मनोगत हिसाबले व्याख्या गर्नु पनि उपयुक्त होइन । उत्पत्ति र विनाशको सत्यलाई मनन् गरेर प्रकृतिमा उत्पन्न भएका वस्तुको नष्ट हुने यथार्थ सत्यलाई बुझ्ने हो भने आध्यात्मिक सत्यले परिकल्पना गरेको श्राद्ध र तर्पण अनिवार्य आवश्यकता हुन्छ ।

सुख र दुःख एउटै सिक्काका दुई पाटा हुन् । जसरी दुईमा दुई जोडे चार हुन्छ, चाहे जोडेर हेरौँ, चाहे गुणा गरेर हेरौँ उत्पत्तिपछि नष्ट हुने यो प्राकृतिक सत्य हो । मानिस जन्मेपछि मर्नुपर्छ । तर मर्नु छ भनी केही नगरी बस्नु आफ्नो पूर्खाको अस्तित्व बिर्सनु यो कति उपयुक्त होला ? किनकि श्रृष्टि रचनाकारले हामीलाई जसरी परिचालन गर्छ, त्यो कला त मनुष्यले निर्वाह गर्नैपर्छ । यसरी जीवन निर्वाह गर्ने क्रममा मानव जीवनले स्वीकारेको आफ्नो पूर्खाको सम्झनामा वर्षमा एकपटक शान्ति प्रदान गर्न हामी किन हिच्किचाउनुपर्ने ?

तसर्थ यो सत्यलाई बुझेर पूर्खाले सिकाएको शास्त्रीय मान्यताभित्र परिचालन हुँदै आएको श्राद्ध र तर्पणको परम्परा हाम्रो पूर्खाको सम्झनाको लागि गरिने हो भन्ने ठानेर आफूलाई प्रस्तुत गर्नुपर्दछ । हाम्रो जन्म, प्रकृतिको नियमलाई श्रृष्टिको इतिहाससँग जोड्दै निरन्तरता दिन निमित्त भएर आएको हो । तसर्थ आध्यात्मिक र भौतिकवादी सत्यभित्र रहेको समयको गतिशीलतासँगै पितृ उद्धारका लागि हामीले हाम्रो परम्परालाई तोड्नु हुँदैन । पितृ उद्धारमा हाम्रो मानसिकता बृद्धि हुनु भनेको उनीहरुबाट आशीर्वाद प्राप्त गर्नु हो ।

हामीले जुन संस्कारको विकास गर्छौं, त्यही संस्कार आजको बाल मनोविज्ञानमा समेत पर्ने भएकाले समय र परिस्थितिले जतिसुकै परिवर्तनको संकेत गरे पनि आफ्नो पूर्खाको अस्तित्वलाई वर्तमान र भविष्यसँग गाँसेर पितृ उद्धारका लागि श्राद्ध, तर्पणजस्ता परम्परागत मान्यतालाई छोड्नु हुँदैन ।
हुन त जिउँदो हुँदासम्म वास्ता नपर्ने, मरेपछि पिण्डदान गर्ने भनी श्राद्ध संस्कारप्रति हिलो छ्याप्ने कार्य नभएका होइनन् । हिन्दू संस्कृतिमाथि दोषारोपण गरेर धार्मिक शीतयुद्ध निम्त्याउन नखोजिएको पनि होइन, जे गर्न सक्छौं जीवित हुँदैमा गरौँ भन्ने विचार पनि नआएको होइन ।

पितृ उद्धारका लागि गरिने एकदिने कर्मलाई यो आफ्नो पूर्खाको सम्झना र स्मरणका लागि स्थापित सत्य हो भन्ने विचार कदापि भुल्नु हुँदैन । विगतको इतिहासले वर्तमान र वर्तमानले भविष्य निर्धारण गर्न सक्छ भन्ने कटुसत्यलाई कहिल्यै बिर्सनु हुँदैन । त्यसैले पौराणिक ग्रन्थले जे–जस्ता कुरा भविष्यवाणी गरेका थिए, जुन कुरा वर्तमानमा प्रमाणित हुँदै आएका छन्, त्यस कुरालाई जिम्मेवार भएर मनन् गर्नुपरेको छ । हिजो जुन सत्यवादी चरित्र थियो, त्यो आज नभइरहेको अवस्था र मानवीय स्वार्थले जसरी आचरण र व्यवहारमा स्वार्थ टकराउने कार्य भइरहेको छ, त्यसलाई सर्सर्ती हेर्ने हो भने हामीले हाम्रै विचारमा क्षय गरेको पाउँछौं ।

तसर्थ चेतनशक्तिले अनुभूति गरिने आनन्द नै तृप्ति भएको र हाम्रा पूर्खालाई वर्षमा एकदिन तर्पण, दान, पुण्य गरी उनीहरुको सम्झना गर्नु (पितृ उद्धार गर्नु) यो निकै महत्वपूर्ण मानिन्छ । पूर्खाको आशीर्वाद प्राप्त गर्ने यो सुनौलो अवसर पनि हो । श्राद्ध भनेको श्रद्धा हो । श्रद्धाबाट नै श्राद्धको औचित्य पुष्टि हुनसक्छ । दिनु नै लिनु हो भन्ने युक्तिलाई आधार मान्ने हो भने हामीले हाम्रो पूर्खाको सम्झनामा जे–जति दान, पुण्य गर्छौं वास्तवमा यो आफ्नो जीवनलाई सफल र वंशको इतिहासलाई जीवन्त दिने शुभकार्यहरु हुन् । तसर्थ श्रृष्टिको इतिहासमा मानव अस्तित्वले स्वीकारेको सर्वोच्चतालाई बुझी परचिन्तनमा होइन, आत्मचिन्तन केन्द्रित भएर यसतर्फ गम्भीर हुन जरुरी छ । श्राद्ध पितृको उद्धारका लागि हो, यो गर्दा कुनै खराबी हुँदैन । यो समय सान्दर्भिक छ । चेतना भया ।