वर्षाको क्षति भोगेका व्यवसायीलाई सहयोग

दाङ, २८ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले वर्षाका कारण क्षति भोगेका व्यवसायीलाई सहयोग गरेको छ । गत जेठ १४ गते भारी वर्षाकोे कारण नालाको उचित निकास नहँुदा पानी उद्योग तथा व्यवसायमा पसेर लाखौँको क्षति भएको थियो । संघले सोमवार एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गरेको हो ।

संघले युनिक स्टेशनरी एण्ड फोटोकपी, खनाल इलेक्टोनिक्स, बागेश्वरी किराना पसल, स्वर्गद्वारी डेकोरेशन सेन्टर, इत्सा तेल मिल, बुढाथोकी स्टोर्स र निधि ग्रिल उद्योगलाई सहयोग रकम प्रदान गरेको हो । संघले ७ जनालाई क्षतिको आधारमा सहयोग रकम प्रदान गरेको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । उनका अनुसार क्षति पुगेको व्यवसायीको मूल्यांकन गरेर ५ हजारदेखि २० हजारसम्म सहयोग गरिएको छ । क्षति पुगेका उद्योगी तथा व्यवसायीहरुलाई सानो भए पनि सहयोग पुगोस् भनेर यस प्रकारको सहयोग प्रदान गरिएको उनले बताए ।

‘हामीले उद्योगी तथा व्यवसायीहरुलाई घाउमा मलम लगाउने काम मात्र गरेका हाँ’, उनले भने । संघले उद्योगी तथा व्यवसायीहरुलाई अप्ठ्यारो पर्दा सहयोग गर्नका लागि सुरक्षा कोष स्थापना गरिएको उनले बताए । सुरक्षा कोषमार्फत नै सहयोग गर्ने गरेको अध्यक्ष बुढाथोकीले बताए । ‘उद्योग वाणिज्य संघ उद्योगी तथा व्यवसायीहरुको सुख–दुःखमा सधै सँगसँगै रहेको छ’, अध्यक्ष बुढाथोकीले भने । पानी परेपछि डुबान हुने समस्याको समाधानका लागि संघले सम्बन्धित निकायमा पहल गरिराखेको अध्यक्ष बुढाथोकीले बताए । ‘दीर्घकालीन समस्या समाधानका लागि हामी हाम्रो तर्फबाट पहल गरिराखेका छौँ’, उनले भने ।

क्षति पुगेका उद्योगी तथा व्यवसायीहरुको पुगेको क्षतिको आधारमा वर्गीकरण गरेर विवरण लिएको क्षति संकलन समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीले जानकारी दिए । क्षति अन्य उद्योगी तथा व्यवसायीहरुको भए पनि संघका सदस्य तथा संघमा नवीकरण भएका लाई मात्र सहयोग रकम प्रदान गरिएको उनको भनाइ रहेको छ । ‘हामीले संस्थाको नियमअनुसार नै सहयोग प्रदान गरेका हौँ’, उनले भने ।

पीडित व्यवसायी टीकाराम खनालले बर्षनी आफूहरु डुबानमा पर्ने गरेको बताए । हरेक वर्ष हुने डुवानको दीर्घकालीन समस्या समाधान गरिदिन संघलाई उनले आग्रह गरे । पटक–पटक समस्याको समाधान गर्न आग्रह गरे पनि समस्याको समाधान हुन नसकेको उनले बताए । भारी वर्षाबाट उद्योग तथा व्यवसायमा क्षति पुगेपछि दाङ जिल्ला उद्योग वाणिज्य संघले क्षति संकलनका लागि संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको नेतृत्वमा संकलनको काम गरेको थियो ।

समितिका सदस्यहरुमा विकास वली, जगतप्रसाद आचार्य, जुद्धबहादुर घर्ती र लिलाराम खड्का थिए । समितिले स्थलगत रुपमा संकलन गरेको विवरण अनुसार सहयोग गरिएको हो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, सदस्य विकास वली, बसन्त पोख्रेललगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।