देशले बलियो शक्ति खोजेको छ : महासचिव पोख्रेल

  •   
  •  

दाङ, २७ भदौ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशलाई अहिले गठबन्धन भन्दा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । देशको विकास, समृद्धि, सुशासनसँगै स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक रहेको बताए ।

प्रेस चौतारी दाङ शाखाले आइतवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले देशको विकास र समृद्धिको लागि एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गराउनका लागि आगामी निर्वाचन महत्वपूर्ण हुने बताए । ‘देशको विकासका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ । त्यसका लागि हामी तयारीमा जुटेका छौँ’, महासचिव पोख्रेलले भने– ‘आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले एमालेलाई बलियो शक्तिका रुपमा स्थापित गराउनेछ ।’

महासचिव पोख्रेलले कुनै पनि दलसँग राष्ट्रको विकास र समृद्धिका लागि दलहरुको आफ्नो नीति, विचार, सिद्धान्त र कार्यक्रम हुने गरेको भए पनि गठबन्धनका नाममा नेपाली कांग्रेसले आफ्नो नीतिगत सामथ्र्य गुमाइसकेको आरोप लगाए । ‘नेपालको पुरानो पार्टी नेपाली कांग्रेस भए पनि गठन्धनका नाममा आफ्नो नीति, विचार र सिद्धान्त गुमाइसकेको छ’, महासचिव पोख्रेलले भने– ‘अहिले कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको छ ।’

महासचिव पोख्रेलले आगामी निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्ति एमालेबीचमा हुन थालेको समेत बताए । ‘आउने निर्वाचनको विशेष महत्व छ । यो पार्टीहरुको हारजितको मात्र निर्वाचन होइन । परमादेश भर्सेज जनादेश पक्षमा लाग्ने शक्तिको निर्वाचन हो’, उनले भने– ‘निर्वाचनबाट जनताले परमादेश ठिक थियो कि थिएनन् भनेर छुट्याउने छन् ।’ उनले पाँच दलीय सत्ता गठबन्धन निर्वाचनमा एक्ला–एक्लै एमालेसँग प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेकाले जसरी भए पनि गठबन्धन गर्ने पक्षमा रहेको बताएका थिए ।

त्यसैगरी लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोख्रेलले प्रदेशका संरचनाहरु स्थायी राजधानीमा ल्याउने नल्याउने वर्तमान सरकारमा निर्भर रहने बताए । ‘प्रादेशिक राजधानीका संरचनाहरु स्थायी राजधानीमा ल्याउने कि नल्याउने भन्ने सवाल वर्तमान सरकारमा निर्भर रहने कुरा हो’, महासचिव पोख्रेलले भने– ‘पहिलो सरकार रहिरहेको भए, यो विषय अहिले उठ्ने थिएन । अहिलेसम्म टुंगिसकेको हुन्थ्यो ।’ पत्रकार सम्मेलन प्रेस चौतारी दाङ शाखा अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष प्रेमबहादुर राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।

यसैबीच फरक कार्यक्रममा नेकपा एमालेका महासचिव पोखरेलले निर्वाचनपछि बन्ने बलियो राजनीतिक शक्तिले नै देश विकासको नेतृत्व गर्ने बताए । पेशागत महासंघ दाङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबाट राजनीतिक शक्ति निर्माण नहुने, बलियो राजनीतिक शक्तिको नेतृत्व एमालेले गर्ने दाबी समेत गरे । देश विकासको नेतृत्व गठबन्धनबाट हुन नसक्ने जिकिर गर्दै गठबन्धन विकासको बाधक भएको टिप्पणी गरे ।

उनले भने– ‘गठबन्धन पराजयको स्वीकारोक्ति हो । एमालेको विजययात्रा रोक्नको लागि मात्रै गठबन्धन गरिएको छ । एमालेको विजययात्रा कुनै पनि गठबन्धनले रोक्न सक्दैन ।’ राजनीतिक विचारका आधारमा हुने भन्दै उनले गठबन्धमा रहेका दलहरूको कुनै विचार नरहेको, जनतामाझ जाने कुनै नीति नभएको दावी गरे ।

‘राजनीति भनेको विचारको आधारमा हुने गर्छ, उद्देश्यको आधारमा हुने गर्छ । दलहरूले आफ्ना नीति कत्तिको प्रभावकारी छन् भनेर परीक्षण गर्ने माध्यम भनेको चुनाव हो’, उनले भने, ‘तर, नीतिविहीनताको आधारमा चुनावमा जाने प्रयास सत्ताधारी राजनीतिक दलहरूले गरिसकेका छन् ।’ नैतिक रूपमा गठबन्धनमा रहेका दलहरूले पराजय स्वीकारेको उनको भनाइ छ । ‘न गठबन्धनसँग लक्ष्य, न संकल्प, न नीति छ । तर, गठबन्धनसँग एउटै कुरा छ– हामी मिलेनौँ भने एमालेले चुनाव जित्छ’, उनले भने ।

एमालेको विजययात्रा रोक्नको लागि मात्रै गठबन्धन गरिएको उनले बताए । ‘देशको लागि होइन, जनताको लागि होइन । गठबन्धनको उद्देश्य देश हुन सक्दैन, जनता हुन सक्दैन । एउटा दललाई रोक्नको लागि मात्रै गठबन्धन गरिन्छ त्यो पराजयको स्वीकारोक्ति हो’, महासचिव पोखरेलले भने । पेशागत महासंघ दाङका अध्यक्ष खिमबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमलाई एमाले पोलिटव्यूरो सदस्य नरुलाल चौधरीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण पेशागत महासंघका जिल्ला सचिव ठाकुर खनालले गरेका थिए ।