‘अर्थपूर्ण सहभागिताका लागि सहकार्य’

दाङ, २७ भदौ । निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिताका लागि एकले अर्कालाई सहयोगको बातावरण गराउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

क्रियाशील पत्रकार महिला (डव्लुडव्लुजे) दाङको आयोजना तथा संकल्पको सहकार्यमा निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता विषयमा आइतवार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले त्यसका लागि महिलाहरु एकताबद्ध भएर अधिकारका लागि अघि बढ्नुपर्ने समेत बताएका थिए । क्रियाशील पत्रकार महिला (डव्लुडव्लुजे) दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचनमा सहमतिका नाममा महिलाहरुलाई पन्छ्याउने काम नगर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले स्वयं महिलाहरु नै एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएका थिए । एकले अर्कोलाई सहयोग र सहकार्यको परिपाटी नबन्दासम्म अर्थपूर्ण सहभागिता नहुने जिल्ला सभपाति डाँगीको भनाइ थियो । कार्यक्रममा नेपाल महिला संघका संस्थापक अध्यक्ष विमला योगीले समानुपातिक समाबेशितालाई समान बनाउनुपर्नेमा जोड दिएकी थिइन् । निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिता, लोकतन्त्र र निर्वाचन परिपूरक भएको हुँदा राजनीतिक पहुँचमा महिला सहभागी आवश्यक रहेको संस्थापक अध्यक्ष योगीको भनाइ थियो ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य माया शर्माले लोकतान्त्रिक गणतन्त्र ल्याउनका निम्ति जति महिलाले समय खर्चेका भए पनि महिलाका हकअधिकार अझै पनि पूर्ण नभएको बताइन् । संविधानमा लेखिए पनि उनले महिलाहरुलाई कार्यकारी अधिकार दिन दलहरु हिच्किच्याउने अवस्था रहेको बताएकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द«ीय सदस्य एवं नेपाल महिला तथा दलित अधिकारकर्मी मिना स्वर्णकारले पावर र भनसुनको भरमा राजनीतिमा अगाडि ल्याउने प्रवृत्ति कायम भएकोले महिलामाथि हुने भेदभावको अन्त्य गर्न आवश्यक रहेको बताइन् ।

यसैगरी केन्द्रीय सदस्य स्वर्णकारले महिलाले अवसर पाएमा निर्णाष्क तहमा पुगेर काम गर्न सक्ने भन्दै त्यसका लागि राजनीतिक दलका नेतृत्वले सोच्नुपर्ने बताइन् । उनले आफूहरुको पार्टीले महिलाहरुको अर्थपूर्ण सहभागितालाई सधै अगाडि बढाएर अवसर दिँदै आएको बताइन् । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले महिलालाई समान अधिकार र पुरुषबादी चिन्तनलाई त्याग्न जरुरी रहेको बताए । महिला नेतृत्वलाई अगाडि बढाउन आफूहरु संवेदनशील रहेको भन्दै महिलाहरुलाई राजनीतिमा अघि बढ्न समेत आग्रह गरेका थिए ।

महिला सञ्जालका जिल्ला अध्यक्ष गोमा रावतले महिलालाई आरक्षण र समानुपातिकमा मात्र नभई हरेक क्षेत्रमा समान सहभागिता हुनुपर्ने बताइन् । कांग्रेस नेतृ देवा डाँगीले अझै पनि महिलाले नै महिलाको नेतृत्व स्वीकार्न नसक्नु दुखद् विषय भएको बताउँदै सक्षम र क्षमता भएको महिलाहरुलाई अघि बढ्न सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी थिइन् ।

अपांग मानवअधिकार सरोकार मञ्चका देबका खनालले जुनसुकै स्थानमा पनि अपांगता भएका व्यक्तिहरुले अवसर नपाउने गरेको गुनासो रहेको बताइन् । नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार लक्ष्मी आचार्यले राजनीतिक उपलब्धि प्राप्त गर्न सामाजिक न्यायको समान सहभागिता रहनुपर्नेमा जोड दिइन् । दाङ महिला जेसीजका कार्यबहाक अध्यक्ष लक्ष्मी घमालले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता अझै पनि न्यून रहेको बताइन् । उनले सक्षम व्यक्तिले भन्दा पनि पहुँचको भरमा निर्वाचनमा अवसर दिने गरेको बताइन् ।

क्रियाशील पत्रकार महिला (डव्लुडव्लुजे) दाङका संस्थापक अध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन लुम्बिनी प्रदेश सयोजक लिला शाहले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सचिव सर्मिला डिसीले गरेकी थिइन् ।