छैठौ जिल्ला सभा : औद्योगिक ग्रामदेखि विमानस्थल निर्माण तथा विस्तार

  •   
  •  

दाङ, २७ भदौ । तीनै तहका सरकारसँग समन्वय गर्ने गरी दाङ जिल्ला समन्वय समितिको छैठौँ जिल्लासभाले समग्र जिल्लाको विकासको लागि १९ बुँदे नीति कार्यक्रम ल्याएको छ । ती नीति कार्यक्रम सभाले पास समेत गरेको छ ।

सभामा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले आर्थिक वर्ष २०७९÷०८० का लागि १९ बँुदे नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति कार्यक्रममा ‘सम्पन्न जनता, समृद्ध दाङ’ को दूरदृष्टि साकार पार्न जिल्लाका पालिकाहरुलाई सामाथ्र्य र पहिचानको खोज निर्धारणसँगै प्राथमिकताका आधारमा योजना निर्माण तथा कार्यान्वयन गरेर समृद्ध हासिल गर्न सहकार्य गरिने उल्लेख छ ।

जिल्लामा पछिल्लो समय सुख्खा मरुभूमिकरण हुन नदिनका लागि उत्तरी क्षेत्र हराभरा बनाएर पानीका मुहान संरक्षण गर्न ३ वटै सरकारसँग सहकार्य गरिने भएको छ । दाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन बबई सरयु सभ्यताको व्यापक अध्ययन अनुसन्धान दाङ उपत्यका र देउखुरी उपत्यकालाई जोडका लागि सुरुङ मार्ग निर्माण गर्न संघ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरिने, नाका विशेष कार्यक्रम सञ्चालन गर्न समन्वय गरिने, नारायणपुर क्षेत्रमा विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउन र टरिगाउँको विमानस्थलको स्तरोन्नतिका लागि समन्वय गरिने, सबै पालिकामा औद्योगिक ग्राम स्थापनाका लागि समन्वय गरिने नीति कार्यक्रममा उल्लेख छ ।

त्यसैगरेर जिल्लावासीहरुलाई सबै विषयको सूचना उपलब्ध गराउन सूचना केन्द्र स्थापना, लुम्बिनी प्रदेश सरकारको काम स्थायी मुकामबाट सञ्चालनका लागि समन्वय गरिने, तीनवटै सरकारबाट विनियोजन हुने वार्षिक बजेट दोहोरोपन हटाउन समन्वय गरिने, विकास निर्माणका कामहरु समयमा नै निर्माण सम्पन्नका लागि समन्वय गरिने नीति कार्यक्रममा उल्लेख छ ।

सभाको उद्घाटन लुम्विनी प्रदेशका ऊर्जा सिँचाइृ तथा जलस्रोत राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले गरेका थिए । सभाका उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जिल्ला समन्वय समितिलाई धेरै अधिकार रहेको बताए । दिएको अधिकार प्रयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । जिल्लालाई मरभूमिकरण हुनबाट बचाउनका लागि वन–जंगलको संरक्षण गर्नुपर्ने बताए । ‘वन–जंगलको संरक्षण गरेमा मात्र पानीको मुहान संरक्षण हुन्छ’, उनले भने– ‘त्यसका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ ।’ प्रदेश सभा सदस्य शंकर गिरीले जिल्ला समन्वय समितिले हरे क्षेत्रमा समन्वयको भूमिका खेल्नुपर्ने बताए ।

पालिका–पालिकाहरुबीच हुने विवाद समन्वयको माध्यमबाट समाधान गर्न लाग्नुपर्ने उनले बताए । सबैसँग सहकार्य गरेर जिल्ला समन्वय समिति अगाडि बढ्नुपर्ने उनले बताए । ‘जिल्लामा जलाधारको विकास गरेर र जिल्लालाई सुख्खा हुनबाट बचाउनुपर्दछ’, उनले भने । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्ला समन्वय समितिले अनुगमनमार्फत पनि धेरै काम गर्न सक्ने बताए ।

अनुगमन गरेर पनि धेरै प्रभावकारी काम गर्न सकिने उनले बताए । ‘अनुगमन गरेर भए गरेका कामहरु बाहिर ल्याउन सकेमा धेरै सुधार हुन सक्छ’, उनले भने । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जिल्लाका कृषि उत्पादन बढाउने योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । उनले एकीकृत वस्ती विकास गर्न आवश्यक भएको भन्दै जिल्ला समन्वयले यसमा समन्वयको भूमिका खेल्नुपर्ने उनको सुझाव थियो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इञ्जार्च निर्मल आचार्यले जिल्लामा हुने विकास निर्माणका कामहरु समयमा सम्पन्न गराउनतर्फ भूमिका खेल्नुपर्ने बताए । जिल्लामा पानीको समस्या हुन नदिनका माडी ड्राइभर्सन तथा जिल्लामा खहरे खोलामा ड्याम बाँध्नु आवश्यक भएकाले योजनाहरु अगाडि बढाउन सुझाव समेत दिए । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि बेलवासे र राष्ट्रिय जनमार्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले समन्वय समितिले समन्वयको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको थियो । उपप्रमुख चेतना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समन्वय समितिका खरिदार गोविन्द बस्यालले गरेका थिए ।