निर्वाचनका लागि जिल्ला केन्द्रित नेताहरु

  •   
  •  

इन्द्र डिसी \लिलाधर वली

दाङ, २६ भदौ । आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाबाट उम्मेदवार सिफारिस भएसँगै मुख्य दलका नेता जिल्ला केन्द्रित भएका छन् । अधिकांश समय संघीय राजधानीमा बस्ने नेता निर्वाचनको मिति घोषणासँगै मतदाता रिझाउन जिल्ला झरेका हुन् ।
टिकटको अन्तिम टुङ्गो नलागे पनि सम्भावित नेताहरू जिल्ला र राजधानी बराबर रहने गरेका छन् ।

जिल्ला झरेका नेताकार्यकर्ता रिझाउनका लागि विभिन्न कार्यक्रममा सहभागी हुने र टिकट ल्याउनका लागि दबाब सिर्जन गर्न राजधानी धाउने गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी केही दिन अघिसम्म जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर राजधानी गएका छन् । गिरी दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको टिकटका लागि लविङमा छन् । गिरीसँगै नेपाली कांग्रेसले ६ जना नेताहरूको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

यसैगरी नेपाली कांग्रेसका केन्द्री सदस्य द्वोय कृष्णकिशोर घिमिरे र योगेन्द्र चौधरी जिल्लामै कार्यक्रममा व्यस्त छन् । दुवै नेताहरू प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ सिफारिस भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गेहन्द्र गिरी पनि जिल्लाका कार्यक्रममा व्यस्त छन् । गिरी २०७९ साल बैशाख ३० मा भएको स्थानीय तहको चुनावमा तुलसीपुरको मेयरमा पराजित भएका थिए । कांग्रेसले गिरीलाई यो पटक प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ ।

नेपाली कांग्रेसका नेता तथा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी पनि पछिल्लो समय जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त छन् । शनिवार उनी जिल्लाका दुईवटा कार्यक्रममा सहभागी भएका थिए । आइतवार मन्त्री चौधरीले जिल्ला समन्वय समितिले आयोजना गरेको जिल्ला सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । मन्त्री चौधरी क्षेत्र नं. ३ (क)बाट प्रदेशसभाको प्रत्यक्षमा सिफारिस भएका छन् । कांग्रेसका प्रदेश उपसभापति राजु खनालसँगै जिल्लाबाट सिफारिस भएका कांग्रेसका नेताहरू जिल्लाका कार्यक्रमहरूमा व्यस्त छन् ।

एमाले महासचिव शंकर पोख्रेल शनिवार राती नै जिल्ला आएका छन् । दुई दिनसम्म जिल्लामा बस्ने महासचिव पोख्रेलले विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । पोख्रेलले आइतवार बिहान पेसागत महासंघको विशेष प्रशिक्षण, युवा संघको जिल्ला भेला तथा प्रशिक्षण, अनेमसंघको जिल्ला भेला, थारू र उद्योगीहरूको भेला र जनवर्गीय संगठनका भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने गरेर जिल्ला आएको एमाले दाङले जनाएको छ । महासचिव पोख्रेल सोमवार साँझ दाङबाट काठमाडौं फर्कने छन् । महासचिव पोख्रेल दाङ क्षेत्र नं. २ बाट एकल सिफारिस भएका छन् । उनी २०७४ सालको निर्वाचनमा क्षेत्र नं. २ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रदेशमा निर्वाचित भएका पोख्रेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत भएका थिए । यसैगरी नेकपा एमालेका पोलिटव्युरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू गंगा चौधरी, घनश्याम पाण्डेय, कोमल वली र अनुशासन आयोगका केन्द्रीय सदस्य रेवतीरमण शर्मा पनि जिल्लाका विभिन्न चुनावी कार्यक्रमहरूमा सहभागी हुने गरेका छन् । चौधरी द्वोयसँगै शर्मा क्षेत्र नं. १ बाट र पाण्डेय र वली क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् । चौधरी द्वोय प्रतिनिधिसभा सदस्य हुन् भने शर्मा प्रदेशसभा सदस्य हुन् । वली निवर्तमान राष्ट्रियसभा सदस्य हुन् भने पाण्डेय तुलसीपुर उपमहानगरपालिका निवर्तमान नगर प्रमुख हुन् ।

क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षका लागि एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री युवराज ज्ञवालीलाई पनि एमालेले सिफारिस गरेको छ । साउनको अन्तिममा एमाले दाङले गरेको जिल्ला स्तरीय प्रशिक्षणमा सहभागी भएर राजधानी गएका उपाध्यक्ष ज्ञवाली त्यसपछि भने जिल्लामा आएका छैनन् । यसैगरी एमालेबाट प्रदेशसभामा सिफारिस भएका नेताहरू पनि चुनावी कार्यक्रममा व्यस्त छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् सभामुख कृष्णबहादुर महरा पनि जिल्लाका विभिन्न निर्वाचन केन्द्रित कार्यक्रमहरूमा व्यस्त छन् । केही दिनयता दाङसहित छिमेकी जिल्ला रोल्पाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने गरेका महराले शनिवार दाङको देउखुरीमा जनता समाजवादीको नेतृत्वलाई पार्टीमा समाहित गराएका छन् । महराले केही दिन अघि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लक्ष्मी चौधरीलाई समेत पार्टी प्रवेश गराएका थिए ।

२०७४ सालको निर्वाचनमा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महरा यस पटक पनि यही क्षेत्रमा उठ्ने सम्भावना छ तर उनी क्षेत्र नं. १ का कार्यक्रमहरूमा बढी केन्द्रित हुने गरेका छन् । क्षेत्र नं. १ मा केन्द्रित भए पनि यो पटक उनी क्षेत्र नं. १ बाट उम्मेदवार बन्ने पनि त्यत्तिकै सम्भावना भएको माओवादीका नेताहरूले बताउने गरेका छन् । जसपाका जिल्ला नेताहरूलाई पार्टी प्रवेश गराउँदै उपाध्यक्ष महराले पाँच दलीय गठबन्धनबीचमा सिट बाँडफाँडको विषय अन्तिम चरणमा पुगेको बताएका थिए ।

माओवादी केन्द्र दाङ क्षेत्र नं. १ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालसम्म गठबन्धनभित्र एक सय सिटको बाँडफाँड टुङ्गिसकेको भन्दै बाँकी सिटहरूमा छिट्टै सहमति हुने बताए । दाङको तीनवटै क्षेत्रमा नेपाली कांग्रेस र माओवादीबीचमा सहमति भएको भए पनि नेकपा एकीकृत समाजवादीलाई पनि मिलाउन खोज्दा समय लागेको उनले भने । ‘एकीकृत समाजवादी पनि सत्ताको सहयात्री भएका कारण उसलाई पनि चित्त बुझाउनु छ’, उपाध्यक्ष महराले भने, ‘उसले मागेको जति सिट नपाउला तर सम्मानजनक सिट दिएर सहमति गराउने प्रयास भइरहेको छ ।’ उनले कार्यकर्ताहरूलाई निर्वाचन नजिक आइसकेको भन्दै चुनाव चारप्रसारमा लाग्न निर्देशन दिएका थिए ।

यसैगरेर नेकपा एकीकृत समाजवादीका नेताहरू पनि चुनावी कार्यक्रममा व्यस्त छन् । पार्टीका पोलिटव्यूरो सदस्य तथा सहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी र केन्द्रीय सचिव भागवत विश्वासी समेत जिल्लामा विभिन्न चुनावी कार्यक्रम गर्दै आएका छन् । मन्त्री चौधरी र केसी केही समय अघि जिल्लाका कार्यक्रम सकेर राजधानी फर्केका छन् । चौधरी, केसी र विश्वासी प्रतिनिधिसभाको प्रत्यक्षमा सिफारिस भएका छन् । यसैगरेर अन्य पार्टीका नेताहरूले पनि चुनाव लक्षित गर्दै कार्यक्रम गर्दै आएका छन् ।