चुनावदेखि सरकारसम्मै गठबन्धन : मन्त्री चौधरी

गोरक्ष समाचारदाता
तुलसीपुर, २५ भदौ । पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले आगामी निर्वाचनदेखि सरकारसम्म गठबन्धन हुने बताएका छन् । नेपाल प्रेस युनियनले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेसका नेता समेत रहेका चौधरीले गठबन्धन आजको आवश्यकता भएको भन्दै कहीँकतै गठबन्धन हुन्न कि भन्ने शंका समेत नगर्न आग्रह गरे । उनले लोकतन्त्रबाट प्राप्त उपलब्धिहरू गुम्न नदिन गठबन्धन गर्नुपरेको बताए ।

‘जब–जब देशमा संकट आउन लाग्छ कांग्रेसले नेतृत्व गर्छ, अहिले पनि विभिन्न संकटलाई पार लगाउन कांग्रेसले नेतृत्व गरी गठबन्धन सरकार छ, यो गठबन्धन चुनावदेखि सरकारसम्मै रहन्छ’, उनले भने । उनले केही व्यक्तिहरूले हरूवा, चरुवा भनेर कांग्रेसलाई भने पनि प्रजातन्त्र र प्रेस स्वतन्त्रता तथा लोकतन्त्रका लागि कांग्रेसले ७ सालदेखि नेतृत्व गरेको भन्दै कांग्रेसले नै देशको विकास र निकास दिने बताए ।

मन्त्री चौधरीले केही व्यक्तिहरूले आफूलाई प्रदेश राजधानीको लागि बाधक भनेर अब चुनावी प्रपोगाण्डा सुरु गरेको बताए । मन्त्री चौधरीले आफूले आफ्नो पद नै धरापमा पारेर राजधानीका पक्षमा भोटा हालेको भन्दै यथार्थ नबुझेर झुटको खेतीमा नलाग्न आग्रह गरे । ‘हिजो यही माटोको लागि मैले पद धरापमा पारेर पार्टीको ह्वीप नमानेर दाङ राजधानी ल्याउन मतदान गरको हो तर केही मित्रहरूले डिल्ली चौधरी राजधानीका लागि बाधक भनेर लेख्दै हुनुहुन्छ’, उनले भने । उनले राजधानीका लागि भौतिक निर्माणको काम भइरहेको भन्दै सबै कार्यालय भौतिक निर्माणपछि आउने बताए । उनले करिब ६ अर्बको टेण्डर समेत भएको बताए ।

मन्त्री चौधरीले समग्र लुम्बिनी प्रदेश त्यसमा पनि विशेष गरी जिल्लाको विकासका लागि आफू लाग्ने बताए । मन्त्री चौधरीले घोराही–तुलसीपुर सडकखण्डको फोरलेन सडक निर्माणको काम ढिलाइ भएकाले अब मेन ठेकेदारसँग छलफल गरेर काम अगाडि बढाउने विषयमा कुरा भइरहेको बताए । ‘अहिले ठेक्का रद्द गर्ने हो भने फेरि थप समय लाग्छ, त्यसैले मेन ठेकेदारसँग कुरा गरेर अब पेटीमा काम गर्नेलाई भन्दा उसलाई कामका लागि ताकेता गर्नुपर्छ’, चौधरीले भने ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ प्रदेशसभा ‘क’ बाट प्रदेशसभा प्रत्यक्षबाट निर्वाचनका लागि नाम सिफारिस भएका चौधरीले आफूले टिकट पाए र पार्टीले टिकट दिए लड्ने र नदिए पार्टीका लागि जुनसुकै त्याग गर्ने पनि बताए । ‘यदि टिकट दिनुभयो भने फेरि निर्वाचन लड्छु र दिनुभएन भने पनि म पार्टीले जे भन्छ त्यही गर्छु’, उनले भने । नेपाल प्रेस युनियनका उपाध्यक्ष नारायण खड्काको अध्यक्षतमा भएको पत्रकार भेटघाट कार्यक्रममा स्वागत सदस्य यमकला भुसाल र सञ्चालन सदस्य सन्तोष केसीले गरेका थिए ।