कोरोनाबाट नतङ्ग्रिँदै डेंगुको त्रास

  •   
  •  

के.पी. सुवेदी

हिन्दीमा एउटो उखान छ, गरिबीमा आटागिला, अर्को नेपालीमा त्यस्तै अर्को उखान पनि छ । जहाँ पातलो त्यसैमा प्वाल । यसको सोझो अर्थ के हो भने जो समस्या झेलिरहेको छ, त्यसैलाई थप समस्याले घेर्छ । धेरै बिरामीहरु विशेष गरी महामारीका रुपमा फलिएर एकैपटक सयौँ, हजारौँ बिरामी पर्छन् र समयमा उपचार नपाएर मर्छन् । त्यस्ता संक्रामक रोगहरु पनि हाम्रो जस्तै गरिब तथा विपन्नको संख्या धेरै भएका मुलुकमा देखापर्छ ।

कारण के हो भने जहाँ पेटभरि खान पाउने उत्पादन गर्न असमर्थताले हाम्रो शरीरको अत्यावश्यक तत्वको परिपूर्ति हुन सक्तैन । त्यसैले कुपोषणबाट ग्रस्त व्यक्ति महामारीबाट सबैभन्दा पहिले थलिन्छ । कारण उसँग रोग प्रतिरोधक शक्ति कम हुने गर्छ । सन् २०१९ को अन्त्यतिर चीनबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरस मात्र ठूला–साना सबैलाई लपेट्यो र धेरैको ज्यानै लियो ।

कोरोना भाइरसको संक्रमण विश्वका विकसित मुलुकका नागरिकको ज्यान लिएर त्रासदी फैलाएको कारणले पनि यसको विरुद्धको भ्याक्सिन आविष्कार भइ विश्वका सबै नागरिकलाई लगाउन सम्भव भयो । अरु प्रकारका महामारी जस्तै गरिब तथा विकट बस्तीहरु मात्र ग्रस्त हुन्थ्यो भने खोप यति छिट्टै हाम्रो पहुँचमा आउने सम्भावना थिएन ।

कोरोनाले गरिब र धनी सबैलाई उस्तै संक्रमण देखियो तथापि साधन स्रोतले सम्पन्न र विपन्नहरु संक्रमित भइसकेपछि फरक अवस्था देखियो । त्यसको मुख्य कारण राज्यको जिम्मेवारी कमजोर देखियो । सरकारमा बस्नेले राज्यको कोषबाट खरिद गरिने औषधीमा कमिशन खाने र भ्रष्टाचार गर्ने गरे । सरकारी बेवास्ताका कारण सरकारी स्तरबाट उपचारमा भरपर्दो व्यवस्था गर्न नसकेपछि पैसा हुने धनीहरुले निजी अस्पतालमा राम्रो उपचार गर्न सके, नसक्नेहरु हेरचाह नपुगेर मर्नु प¥यो ।

तीन वर्षको अवधिमा कोरोनाले काया बदलेर झुक्याइरह्यो । मानिसहरु कोरोना भाइरसको विभिन्न अवतारसँग जुध्दै र जित्दै पछिल्लो चरणमा आइपुग्दा खोपको कारण रोग प्रतिरोधक क्षमतामा प्रचुर वृद्धि हुनुका साथै सचेतनामा आवश्यकताअनुसारका सबै उपाय अवलम्बन गर्न थालियो । फलस्वरुप संक्रमण दर घट्यो र संक्रमितहरुको मृत्यु दर पनि घटेको छ । एकप्रकारले कोरोना जित्दै गरेको मानिसलाई अहिले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु भाइरसको संक्रमण बढेर महामारीको रुप लिन थालेको छ ।

पहिले–पहिले उष्ण प्रदेशमा मात्र वर्सातको अन्त्यतिर छिटफुटरुपमा देखिने डेंगु अहिले हाम्रो यहाँ गर्मी ईलाकाहरुमा मात्र नभएर शीतल तापमान हुने क्षेत्रमा समेत महामारी बनेर त्रसित गराइरहेको छ । हाल हाम्रो देशको अधिकांश भागमा त्रासदी मच्चाइरहेको छ । एउटा छुट्टै प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भाइरसको संक्रमणबाट हुने भाइरल ज्वरोलाई डेंगु भनिन्छ । यही लामखुट्टेले सार्ने भाइरसबाट अन्य भाइरस ज्वरोको संक्रमण देखिन्छ ।

भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो र व्यापक रुपमा फैलिने जातको विषाणु भएकोले छिट्टै सर्ने भए पनि यो रोग अरु भाइरल संक्रमणभन्दा अलि भिन्न र बिरामीको उपचार गर्ने, हेरविचार गर्नेमा जोखिम विल्कुलै हुँदैन । किनभने यो भाइरस बिरामीको सिधासम्पर्कबाट नसरी लामखुट्टेको टोकाइबाट मात्र सर्न सक्छ ।

लामखुट्टेको एक प्रजाति जसलाई अल्वोपिक्टस् लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा भाइरस प्रवेश गरेर देखापर्ने लक्षणलाई डेंगु ज्वरो भनिन्छ । यो किटाणु हाम्रो शरीरमा प्रवेश गरिसकेपछि उच्च ज्वरो, शरीर काप्ने, हातखुट्टा र अनुहार फुलेकोजस्तो देखिने, जटिल संक्रमण भएमा बान्ता हुने, चक्कर लाग्ने, भोक खानामा रुचि एकदम कम हुने हुनसक्छ । यसका साथै पिडौलाहरु धेरै दुख्ने, आँखाको माथिको भित्र दुख्ने, टाउकोको पछाडिपट्टि दुख्ने, जिउ दुख्ने, वाकवाकी अथवा वान्ता हुने र हातगोडाहरु चिसो हुने आदि लक्षणहरु देखिन्छन् ।

डेंगुको संक्रमण प्राणघातक हुनसक्ने कुरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले सामान्य डेंगु र असामान्य वा गम्भीर प्रकारको डेंगु भनेर दुई भागमा राखेर त्यसको गाम्भिर्यता अनुसन्धान गरेको छ । त्यसैअनुसार सावधानी अपनाउन सबैलाई सचेत गराएको पनि छ । डेंगु पत्ता लगाउन आरडिटी वा पिसिआर दुवै विधिबाट परीक्षण गरिने भए पनि भर पर्दो परीक्षण पिसिआर विधिले रगत जाँच गरेर पत्ता लगाउनुलाई मानिन्छ ।

डेंगु रोगको विषाणु मानिसमा सार्ने लाम्खुट्टे भएकोले त्यसको टोकाइबाट बच्नु नै यसको संक्रमणबाट बच्ने एक मात्र उपाय हो । यो अरु प्रजातिको लाम्खुट्टेभन्दा फरक हुन्छ । कसरी भने अरु लाम्खुट्टे फोहर पानीका नाली वा ढल तथा झाडीहरुमा बस्छ । तर डेंगुको भाइरस सार्ने लामखुट्टे सफा पानी जम्ने ठाउँमा बस्छ र त्यहीँ फुल पार्छ, बच्चा पार्छ । त्यसैले लाम्खुट्टेबाट टाढा रहन त्यस्ता ठाउँहरु पुरेर सम्याउनु पर्छ । यो भाइरसबाट लाग्ने बिरामी भएकोले यसको औषधी छैन । अन्या भाइरसबाट लाग्ने रोगहरुमा काम गर्ने औषध जस्तो यसको विरुद्ध औषधी छैन ।

यसको उपचार सामान्य अवस्थामा घरमै गर्न सकिन्छ तर जटिल भयो, ज्वरो लगातार आइरह्यो भने संक्रमण जटिल भयो भन्ने बुझेर अस्पताल जानुपर्छ । अन्यथा घरैमा ज्वरो कम गर्ने औषधी खाने, झोल र पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ । गम्भीर भएमा भने रक्तकोशिका नष्ट हुने हुँदा शरीरमा डाबर आउने, नीलडामहरु देखिने हुनथालेमा रगतको कोशिका गणना गर्न रक्तपरीक्षण गरी नशाबाट औषधी दिने अवस्था हुनसक्छ । यो रोग ३ देखि १४ दिन लक्षण देखिन लाग्छ भनिएको छ । धेरै मानिसहरु केही अघि सामान्य ज्वरो आएर सिद्धिएकोमा भ्रममा पर्नसक्ने सम्भावना हुन्छ तर यसको जटिलता अलि पछि पनि देखिन सक्ने हुँदा रगतमा प्लाज्माको परीक्षण गरेर हेर्दा पछि हुने जटिलता कम गर्न सकिन्छ ।