‘बसपार्क व्यवस्थित नभएर भाडा रोक्ने’

  •   
  •  

बालाराम खड्का
तुलसीपुर, २४ भदौ । जिल्ला तथा शहरको मुख्य चोक र बसपार्क भनेको ऐनाजस्तै हो । ऐनाले जसरी अनुहार देखाउँछ त्यस्तै जिल्ला तथा शहरबाट आउनेहरुले शहरको अवस्था र मुख्य चोक र बसपार्क हेरेरै थाहाँ पाउँछन् शहर र जिल्लाको विकास । तर तुलसीपुरको मुख्य भाग तुलसीपुरको बीरेन्द्र चोक र बसापार्क भने व्यवस्थित छैन ।

अस्तव्यस्त अवस्थामा छ । मुख्य चोक पानी परेको बेला हिलाम्मे हुन्छ भने घाम लाग्दा धुलाम्मे हुन्छ । यसले गर्दा भित्र शहर जति राम्रो भए पनि त्यसको असर भने नकारात्मक पर्ने गरेको छ । बीरेन्द्र चोकमा रहेका ठूला–ठूला खाडल पुर्न माटो हाले पनि त्यसले झनै सडक कुरुप देखाएको छ । बसपार्कको अवस्था पनि त्यस्तै छ । दिनप्रतिदिन अव्यवस्थित र असुरक्षित बन्दै गएको नमुना बसपार्क व्यवस्थित बनाउन माग गरिएको छ ।

तुलसीपुरको नमुना आधुनिक बसपार्कलाई व्यवस्थित र सुरक्षित बनाउन सराकोरवालाहरुले मागसमेत गरेका छन् । यातायात व्यवसायीहरुले तुलसीपुर उपमहानगरपालिकालाई असोज १ गतेदेखि बसपार्क व्यवस्थित नभए भाडा समेत नदिने चेतावनी दिएका थिए । सहभागीहरुले तुलसीपुरको नयाँ बसपार्कलाई नमुना बसपार्क भने पनि सोचेअनुरुप व्यवस्थित र सुरक्षित हुन नसकेको उनीहरुले गुनासो गरेका छन् ।

विहीवार बसपार्कमा आयोजित छलफल कार्यक्रममा सरोकारलावाहरुले यस्तो माग गरेका छन् । बसपार्कमा यात्रुमैत्री व्यवहार नभएको, असुरक्षित तथा कुरुप बन्दै गएको भन्दै उनीहरुले साँच्चिकै नमुना बसपार्क बनाउनुपर्नेमा जोड दिएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी पुष्पराज मल्लले बसपार्कलाई सरसफाईदेखि यात्रुमैत्री व्यवहार गर्नु यातायात व्यवसायी र मजदुरहरुको पनि दायित्व भएको बताए । उनले सामान्य कुराहरुलाई सुधार गर्न सके बसपार्क आफै नमुना बन्ने भन्दै उनले राज्यको मात्रै मुख ताक्नु भन्दा स्वयं आफूहरु पनि जिम्मेवार हुनुपर्ने बताए । उनले बसपार्कमा यात्रु तानातान गर्ने कार्यलाई तत्काल रोकिनुपर्छ’, उनले भने– ‘यसले गलत सन्देश दिने र स्वतन्त्ररुपमा यात्रुहरुले यातायात सेवा लिन पाउनुपर्ने अधिकार हनन भएकाले यस्तो कार्य सुधार नभए कानुनी कारबाही अघि बढाउने काम हुन्छ ।’

तुलसीपुर ट्राफिक प्रहरी प्रमुख उत्तमकुमार जिसी र तुलसीपुर कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले बसपार्कलाई व्यवस्थित बनाउन स्थानीय सरकार मात्रै नभएर सबै सरोकारवालाको दायित्व भएको बताए । सो अवसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव खगेन्द्र वलीले बसपार्कलाई व्यवस्थित बनाउन विधि र पद्धतिलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।

स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाले आधुनिक बसपार्क निर्माण गरे पनि सञ्चालन र व्यवस्थापन गर्ने विषय फितलो हुँदा समस्या भएको उनले बताए । यस्तै संगठनका जिल्ला अध्यक्ष केशवबहादुर भण्डारीले यातायात व्यवसायी एकजुट नहुँदा अस्वस्थ्य प्रतिस्पर्धाका कारण यात्रुहरुले सहजरुपमा सेवा लिन नपाएको बताएका थिए । विगतदेखि नै आफूहरुले यातायात मजदुरहरुको आनीबानी सुधार गर्न, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना, सरसफाई अभियानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । तर पनि खासै परिवर्तन हुन नसकेको उनले गुनासो गरे ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, अखिल क्रान्तिकारी यातायात मजदुरका घनश्याम डाँगी, राज यातायात प्रालिका अध्यक्ष गणेश आश्री, सरसफाई अभियानकर्मी निमबहादुर बुढाथोकी र बसपार्क व्यवस्थापनको जिम्मा पाएका भीम बुढाथोकीलगायतले बसपार्कलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा जोड दिएका थिए । त्रिशिद्धेश्वरी यातायात सेवा प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।